Monday, January 4, 2021

मेरी सुबह

 

याद है तुम्हे वह शादिकी रात?
बरसों कि तमन्ना जब पूरी हुई थी,
तुम और मैं - लिपट के एकदूजेमे
ऐसे खो गए कि पता ना चला
सुबह कब होगया ।
मैं आज भी, हर रोज - जब
अपने आंखे खोलता हूं -
तुम्हे उसी दुल्हन के रूपमें पाता हूं ।

जब रातकी बातें सब याद करके,
तुम शरमाने लगती हो -
मेरे सूरज तुम्हारे चेहरे से निकल आता है -
मेरे सुबह हो जाता है ।

- भाष्कर ढकाल


Sunday, March 29, 2020

मेरो रातो गाई

सायद म दुई-तीन  कक्षामा पढ्दाको कुरा हुँदो हो, नेपाली किताबमा निबन्ध लेख भनेर 'मेरो गाई ' शीर्षक  थियो । आफ्नो गृहकार्य गर्ने कापीमा मैले त्यो निबन्ध लेखेँ या लेखिन, मलाई कुनै सम्झना छैन । तर मैले त्यो शीर्षकमा निबन्ध चाहिँ एउटा डायरीमा लेखेको थिएँ । एउटा पुरानो  डायरी थियो हाम्रो घरमा । त्यसमा बुवाका लेखहरु हुन्थे, कविता हुन्थे । त्यहि डायरीमा बुवा पछि आमाले कविता कोर्नु भएको थियो । आमा पछि जेठी दिदी, माहिली दिदी, कान्छी दिदी अनि दादा सबैले क्रमश आ-आफ्ना लेख कोरेका थिए । सबैको केहि न केहि रचना देखेर मलाई पनि केहि लेख्न मन लाग्यो । तर लेख्ने चाहिँ के? मलाई कविता आउँदैन थियो । के लेख्ने के भनेर सोचेरै दिक्क भएँ। मन खिन्न भयो । तर मलाई केहि न केहि त लेख्नै  थियो । म एक्लोले त्यो डायरीमा नलेखी छोड्न त मनै थिएन । केहि छिन सोचेपछि दिमागमा आयो 'मेरो गाई ' । मैले गाई बारे लेखेको पहिलो निबन्ध मलाई अझै पनि याद छ । सम्झनामा गहिरो छाप लगाई बसेका छन् त्यो बेलाका मेरा बडा-बडा अक्षर। निबन्ध यस प्रकार छ।

'मेरो गाई '

"मेरो गाई । मेरो रातो गाई । मेरो प्यारो गाई ।"

मेरो जीवनको पहिलो गाईबारे निबन्ध थियो त्यो । त्यसपछि कति निबन्ध लेखियो गाइबारे लेखाजोखा छैन तर त्यो निबन्ध मेरो मानसपटलमा यति मज्जाले बसेको छ कि सायद मद्वारा लिखित निबन्धमध्येको उत्कृष्ट निबन्ध त्यहि हो । किनभने गाई प्रतिको मेरो भावना त्यसबेला शब्दहरुमा बहन नसके पनि, आज ती तीन वाक्यका निबन्धले फेरि त्यो रातो गाईको सम्झना यसरी गराईदियो कि म मेरो त्यो रातो गाईबारे नलेखी बस्न सकिन ।

हाम्रो घरमा मैले थाहा पाउँदा दुईवटा गाई थिए। एउटा कालो अनि अर्को रातो । कालो गाईलाई हजुरआमाले काली गाई भन्नुहुन्थ्यो। काली गाईले रातो गाई भन्दा बढी दुध दिन्थी । पछी काली गाईलाई कुन्नी के रोग लाग्यो, बसेपछि उठ्नै नसकी, बसीबसी त्यो गाई स्वर्गे भई । त्यो गाईबारे मलाई भन्दा बढी मेरो दादालाई थाहा छ । म निकै सानो थिएँ त्यो गाई परलोक जाँदा । गाई मरेपछि मान्छे मरेपछि जस्तै नून बारिन्छ । शोक मनाइन्छ । किनभने गाईलाई परिवारको सदस्य नै मानिन्छ । काली गाई मरेपछि हाम्रो घरमा रातो गाई मात्र बाँकी भयो। त्यो बेला देखी त्यही गाई हाम्रो घरको आमा भई । उसैको दुध पिएर हामी हुर्कियौं बढ्यौँ ।

रातो गाईसँग म हुर्किंदै गएँ । गाई चराउन म गोठालो जान्थेँ । गोठालो जानु मात्रै मेरो रमाईलोको विषय त होइन तर गोठालाहरुसँग खेल्न पाउने भएकाले जाउँजाउँ लाग्थ्यो । डन्डीबियो, गुच्चा, फुटबल, ग्याम्बल, होक्र्याङ्ग अनि दशैँताका चङ्गा उडाउँदै गोठालो बन्न असाध्यै रमाईलो  लाग्थ्यो । अहिलेपो एयरपोर्ट विस्तार गर्नेक्रममा कोटेश्वर चोक अगाडिको पूर्वपट्टिको जग्गा सबै सरकारले थुनिदियो, नत्र मेरो बाल्यकाल सबै त्यहिँ कुद्दै, खेल्दै, गोठालो बन्दै बितेको थियो । हामी खेल्दै गर्दा हवाईजहाज हाम्रै टाउको छुन खोजेझैं गरी अवतरण गर्थ्यो । मैले उडाएका चङ्गाका धागा कति चोटी हवाईजहाजले चुँडाइदियो त्यो गनेर साध्य थिएन । अवतरण गर्न लागेको जहाजले ठ्याक्क पाँग्रा झिकेको मलाई औधी मनपर्थ्यो । पाँग्रा उफ्रेर समाउन खोज्दै हामी जहाजको मुनिमुनि दौडन्थ्यौँ । मलाई लाग्थ्यो म अग्लो भएपछी त्यो पाँग्रा समाउन सक्नेछु । समयसँगै म अग्लो पनि भएँ अनि बुझेँ  त्यो मेरो बालापनको निर्दोष सपना थियो । यस्ता धेरै कुरा रहेछन् जुन बालापन वा वयश्क उमेर दुवैमा उत्तिकै असम्भव छन् । 

म र गाई घरबाट सँगै त निस्किन्थ्यौं तर धेरै जसो छुट्टाछुट्टै घर पुग्थौँ । कारण, म खेलमै मस्त हुन्थेँ, गाई चरेर अघाई सकेर घर पुगिसक्थी  । कहिलेकाहिँ  त अर्काको बारी भित्र पसेर मकै, तोरी अनि अरु बालीनाली सखाप पार्दिन्थी । बदमासी रातो गाईले गर्थी, गाली मैले खानुपर्थ्यो । त्यसरी अरुको बारी भित्र पसेर चोरी गरेको मैले आफैंले देखेँ  भने म लौरोले कुट्दै घर लान्थे । दुखेर होला गाई उफ्रिंदै दगुर्थी। राती ओच्छ्यानमा पल्टेर सोच्दा मलाई गाईको माया लागेर आउँथ्यो, बेकारमा किन कुटें होला भनेर आफैँलाइ धिक्कारथेँ । हाम्रो रातो गाई ज्ञानी थिई, अरुको गाई जस्तो डरलाग्दो थिईन; सिङ पनि डरलाग्ने थिएन अनि जसलाई पनि सिङले हान्न जाँदैन थिई। त्यस्तो ज्ञानी गाईलाई कुटेकोमा मन अमिलो बनाई निदाउँदथेँ । गाईको पिडा बुझेपछि चाहिँ मैले कहिलेपनि गाईलाई लौरोले हानिन । अरुको चोरेर खाए पनि, बाटो बिराए पनि मैले गाली मात्र गर्न थालेँ । उसले पनि खुरुखुरु मैले भने बमोजिम नै गर्न थाली । सायद, गाईले मैले भनेको राम्रोसँग बुझ्थी, म मात्र गाईले भनेको बुझ्दिनथिएँ । 

यति बुझ्ने गाईले पनि कहिलेकाहिँ दुख दिन्थी। कहाँ-कहाँ जान्थी, हराउँथी । हामी सबै मिलेर चारै दिशा खोज्न जान्थ्यौँ । जाँदाजाँदै ऊ कहिले कहाँ पुग्थी सायद उसैलाई थाहा हुन्थेन होला । खोज्दै जाँदा हाम्रो आवाज सुनेर लुरुलुरु हामी भएतिर आउँथी अनि घरतिर आफैँ बाटो लाग्थी । सायद हामी जस्तै ऊ अनि अत्तालिएकी  हुन्थी या आफ्नो गल्ति बोध भएर ज्ञानी बनेकी हुनसक्थी। एकदिन भने रातो गाईले हामीलाई निकै तर्साई । चर्दै जाँदा कता-कता पुगीछ कुन्नी आफैँ नराम्रोसँग फस्न गई । पहिले घर-घर अहिलेको जस्तो ढल आएको थिएन । चर्पीको फोहोर सेप्टिक ट्यांकीमा जम्मा गर्ने चलन थियो अनि त्यो ट्यांकी भरिएपछि ठूलो खाडल खनेर त्यहाँ जम्मा गरिन्थ्यो र केहि दिनपछि त्यसलाई पुरिन्थ्यो । चर्दै जाँदा रातो गाई  त्यस्तै एउटा खाडलमा फस्न पुगिछ। पछाडिको भाग पूरै खाल्डोमा परेछ । अनि बिस्तारै भासिँदै भासिँदै गइछ । जति निक्लिन खोज्थी उति दलदलमा जस्तो फस्दै जान्थी । गाईलाई खोज्दै गएका हामी गाईलाई त्यो अवस्थामा पाउँदा निकै डरायौं । पछी धेरै जनाको मद्धत लिएर गाईलाई त्यो नर्कबाट सकुशल निकाल्यौं । रातो गाई कालो गाई भएकी थिई । जाडोको मौसम अनि साँझको समयमा नुहाइदिँदा पनि एकदम चुप लागेर सहेर बसी त्यो गाई । त्यसपछी एकदुई दिन बुवाले दुध दोएर मिल्काई दिनुभयो । त्यसरी फोहोरमा डुबेको गाईको दुध खान कसैलाई मन लागेन ।

रातो गाई म सँगै हुर्केपनि म भन्दा चाडै ठुली भई । हरेक वर्षझैँ बाछा वा बाछी पाउँथी । बाछालाइ बहर पनि भनिन्छ । बहरलाई चाहिं अलि ठूलो भएपछी अन्तै पठाउने चलन थियो । किन भने बहरले दुध दिंदैन । बाछीलाई चाहिँ पालिन्थ्यो तर एउटा भन्दा बढी गाई नपाल्नेहरुले चाहिँ जसले पाल्ने हो उसैलाई दिएर पठाइन्थ्यो । त्यो बाछी पनि अरु कसैको घरको आमा बन्न जान्थी । तर बहर चाहिं कसले कहाँ लान्थ्यो थाहा थिएन मलाई । म हजुर-आमालाई र बुवालाई यो प्रश्न गर्थें । उहाँहरुले बहरहरु पहाडतिर हलो जोत्नका निम्ति प्रयोग हुन्छन् र तिनीहरुलाई त्यतैका मान्छेहरुले लान्छन् भनेर भन्नुहुन्थ्यो । मलाई नराम्रो लाग्थ्यो । दुध दिनेलाई राख्ने र नदिनेलाई धपाउने हामी कति स्वार्थी । गाई र मान्छेमा कति फरक है? गाई निस्वार्थी प्राणी हो । हामी स्वार्थ नै स्वार्थले भरिपूर्ण छौँ  । गाईको छोरोलाई चाहिँ पाखा अनि छोरीलाई काखा गर्ने मानिस आफ्नोमा ठीक उल्टो गर्छ। किन दुवैलाई समान गर्न नसक्या होला है? 

रातो गाई ब्याउँदा म निकै खुसी हुन्थेँ । गाईको बिगाउती दुध मलाई औधी मन पर्थ्यो । पहिलो र दोस्रो दिनको दुध त तताउँदा ठोस बन्थ्यो, जम्मै चोक्टा बन्थ्यो । त्यसपछि भने झोल र चोक्टा हुन्थ्यो अनि मलाई त्यो गज्जब स्वादिलो लाग्थ्यो । गाईको दुध जम्मा गरेर दही बनाउने चलन थियो । दही पनि धेरै जम्मा भैसकेपछि मोही पार्ने चलन थियो। हाम्रो घरमा मोही पारेपछि छरछिमेक सबलाई मोही बाँड्ने चलन थियो । "मोही लिन आउनु रे" भन्दै म सबलाई बोलाउन जान्थेँ । भान्छा कोठाको बिचमा एउटा थाम थियो (जसलाई अचेलको भाषामा पिल्लर भन्छन्) जसमा काठको ठेकी बाधेर मोही पारिन्थ्यो । मदानी चलाएर मोही पारेपछि नौनी निस्किंदा मलाई खुब आनन्द लाग्थ्यो । मोही कहिले आमाले, कहिले हजुरआमाले त कहिले दिदीहरुले अथवा दादाले पालैपालो पार्नुहुन्थ्यो । म पनि जोडले घार्रघुर्र गर्दै मदानी चलाएर घिऊ निकाल्न अघि सर्थें । मैले गरेको भएन भन्दै हजुरआमाले मलाई गर्न दिनुहुन्थेन । मैले गर्दा थोरै मात्र नौनी निस्किन्थ्यो त्यहि भएर । निक्लेको नौनीलाई भाँडोमा हालेर तताएपछि घिऊ बनाइन्थ्यो । नौनी पग्लेर घिऊ बन्न निकै समय लाग्छ । मज्जाको पहेंलो झोल सङ्ग्लो हुदैँ गएपछि घिऊ तयार हुन्थ्यो । अलिअलि छोक्रा जस्तो भाँडाको पिँधमा बस्थ्यो । त्यो छोक्रालाई बिलौनी भनिन्छ । अमिलो-अमिलो हुने त्यो चिज मलाई अनि दादा दुवैलाई खुब मनपर्थ्यो । हामीले खान सकेको खान्थ्यौं नसकेको आमाले बिरालोलाई दिनुहुन्थ्यो  (हो, हामीकहाँ बिरालो पनि हुन्थ्यो) । त्यो छोक्रा खान हुन्न भन्नु हुन्थ्यो आमाले । तर हामी चाहिँ खान्थ्यौँ।

गाईको गोठालो मात्र होइन, म गाईलाई कुँडो पनि पकाउँथें । पानीमा पिठो, केलाएको तरकारी अनि अरु खानेकुराहरु हालेर भकभक अगेनामा पकाउन मलाई हजुरआमाले सिकाउनु भएको थियो । भुस्सा काट्ने, भकारो सोहोर्ने, दुध दुहुने, घाँस काट्ने जस्ता काम चाहिं धेरैजसो आमाले गर्नुहुन्थ्यो । भुस्सा भनेको पराललाई काटेर सानोसानो टुक्रा पारेको चिज हो । त्यसलाई पनि पानी, पिठो र केलाएको सब्जिहरुसँग मोलेर दिँदा गाई स्वादिलो मानेर खान्थ्यो । गाईलाई  घाँस, पराल, खोस्टा, भुस्सा, कुँडो आदि गरेर आमाले मिलाएर खुवाउनु हुन्थ्यो । यसो गर्दा आमाले भन्नु हुन्थ्यो कि गाईले उचित पोषण प्राप्त गर्छ र धेरै दुध दिन्छ । यसरी हामीले निकै वर्ष रातो गाई माताको अमृत खायौँ । 

तर समय कहाँ एकैनाशको हुन्छ र? सरकारले एयरपोर्ट बिस्तार गर्न गाई चर्ने ठाउँ, हाम्रो खेत र बारी भएको ठाउँ सबै तारको बारले घेरिदियो । अब गाई चर्ने ठाउँ पनि भएन अनि धान फाल्ने खेत पनि भएन । धान नफलेपछि गाईलाई न त पराल न त भुस्सा । घाँस खोज्न आमालाई टाढाटाढा जान पर्ने भयो । गाईलाई पेट भरि खुवाउन पनि धौधौ भयो । गाईलाई खुवाउनकै निमित्त आमा त्यत्रो काँडे तारले घेरेको बार पनि (धोती लगाएर, डोको बोकेर) चढेर घाँस काटेर डोकोभरी घाँस बोकी त्यहि ८ फिटे बार वारपार गर्न थाल्नु भयो । त्यो पनि कति साध्य होस्? हरेक कुराको अन्त्य एकदिन अवश्य हुन्छ । त्यसको पनि भयो अनि सबै मिलेर एउटा निष्कर्षमा पुग्यौँ । गाई  पाल्न नसक्ने भएको हुँदा अब गाईलाई बिदा गर्ने । चिनेकै मान्छेको आफन्तले हाम्रो गाई लाने निर्णय गरे । अरु मालसामान जस्तै गाईको पनि किनबेच हुने रहेछ, मैले त्यसबेला थाहा पाएको । जति उमेर कम अनि जति बढी दुध दिने त्यति बढी पैसामा बिक्ने रहेछन् । यतिका वर्ष आमा सरह हामीसँगै रहेकी गाईको मोल गर्न बुवा मान्नु भएन । दुध खाएको गाईको मोल गर्नु उचित न त हजुरआमा ले न त आमाले नै ठान्नु भयो । गाई दान गर्ने निर्णय भयो; भनिन्छ गौदान निकै पूण्यको काम हो । बर्षौं दुध खाएर बुढ्यौली तिर ढल्किँदै गएको गाई दान गरेर पाप कमायौं या पूण्य, त्यो पछि उही रातो गाईले निर्धारण गर्ली । तर उसबेला गाई लाने त्यो मानिस दङ्ग पर्यो अनि गाईलाई लिन छिट्टै आउने भयो । मलाई त्यो दिन कहिले पनि नआओस् जस्तै भयो । तर दुर्भाग्य, न दुखको समय टिक्छ न सुखको । गाईलाई एक बिहान त्यो मानिसले डोहोर्याउँदै लग्यो । गाईले के सोच्यो कुन्नि, बा..आँ... गर्दै कराएको त थियो तर उसको भाषा मैले त्यो बेला पनि बुझिन, बुझ्न कोशिश पनि गरिन । मनमस्तिष्क सबैले त्यो गाईको रोदन नै हो भनेर ठोकुवा गरिसकेको थियो । रातो गाई सदाको निम्ति घरको तघारो पार गर्दैगर्दा नरसाएको आँखा कसैको पनि थिएन । 

मेरो गाई । मेरो रातो गाई । मेरो प्यारो गाई ।



Farmhouse Cow Sketch' Wrapped Canvas Print on Canvas | Joss & Main
तस्वीर सौजन्य: https://www.jossandmain.com/decor-pillows/pdp/farmhouse-cow-sketch-wrapped-canvas-print-on-canvas-aggr7962.html?piid=22828531%2C22828526



Wednesday, June 19, 2019

स्मृति २

बाल्यकालको तस्वीर,
मेरो बा, उहाँको कलिलो छोरो
अनि पछाडी साइकलमा सवार कान्छो दाहाल,
त्यो पहेंलो तोरीबारीमा कति खुलेका ।

त्यो भन्दा नि खुलेको छ,
मेरा बाको सेता दन्त लहरा
सायद, ती फुलेका झुलेका पहेँला तोरी भन्दा पनि राम्रो लाग्यो बालाई
त्यो पहेंलो सर्ट लगाउने सानो मनुवा

फेरी लाग्छ,
मेरा बाको नजरमा
ती फुलेका फगत पहेँला फूल होइनन्
ती त उनकै पुत्र हो ।
मेरा बाले रोपेर फक्रेका पुत्र ।

मेरा बा,
सन्तान बीच घेरिएर दङ्ग छन्
आफैंले गोडमेल गरी फक्रेका सन्तान ।

आज यो तस्वीर नियाल्दा,
एउटा पुत्रको नजरबाट,
म ती तोरीका फूलमा
बुवाका हाँसो अनि खुसी देख्छु
मेरा बाले,
आफ्नो खुसी, उदाङ्गो आकाश ले
छोप्न नसक्ने गरी छर्दिनु भएछ ।

त्यसैले,
म आजपनि
हरेक तोरीबारीमा मेरा बाको
खुसी फक्री रहेको पाउँछु
र म प्रफुल्लित हुन्छु
त्यो तस्वीरको पहेंलो सर्ट लगाउने
सानो मनुवा जस्तै ।

मेरी प्रिया, श्रृष्टीलाई समर्पित



त्यो क्षितिजमा भेट मलाई
जहाँ साँझले रङ्ग पोत्दै छ
फाल्गुणको शीतल बतास बनि आऊ
अनि खेलौँला हामी प्रेमको होली
सातैवटा रङ्गहरू प्रकृतिसँग उधारो मागी

त्यो गगनमा भेट मलाई
जहाँ निशाले ताराहरु बिस्कुन लगाएकी छिन
पुर्णिमाको चन्द्रमा बनि उदाउँदै आऊ
अनि छर्नु कालो रातमा मधुर मुस्कान 
भाष्करसँग थोरै प्रकाश उधारो मागी

त्यो बिहानमा भेट मलाई
जहाँ कर्कलाले शीतलाई मोती बनाएको छ
चरी बनि भुर्र उडेर आऊ
अनि गाउनु  तिमीले प्रेमगीत
कोइलीसँग मीठो धुन उधारो मागी

त्यो सपनीमा भेट मलाई
जहाँ तिमी र म एकसाथ रमेका छौं
ब्रह्माकै सुन्दर सृष्टि बनि तिमी आऊ
अनि छर्क हाम्रो जीवनमा सुगन्ध
कोटी-कोटी फूलहरुसँग सुवाष उधारो मागी

बा





आज साँझ पशुपतिनाथ पुग्दा
मलाई बाको झल्झली सम्झना आयो
सायद बाले पनि सम्झनु होला
मलाई अनि पशुपतिनाथलाई
र पशुपतिनाथले पनि बालाई |
सधैँ बेलुकी जो जानु हुन्थ्यो
भगवानको दर्शन गर्न |
एउटा भक्तको सम्झना भगवानलाई किन नआउँदो हो?
एउटा भक्तलाई भगवानको सम्झना किन नहुँदो हो?

आज,
पशुपतिनाथलाई एकटक हेरिरहँदा
मलाई, बासँग परस्पर भेट भए जस्तै भयो
न्यानो अनुभूति भयो
सायद, बाले पनि पशुपतिनाथलाई छातीमै टाँसेर
अमेरिका जानु भएको छ,
नत्र पशुपतिनाथको समीप पुग्दा
मलाई पिताको जस्तो न्यानोपना कदापि मिल्ने थिएन 
मैले मेरा बालाई अङ्कमाल गरे जस्तै |

असीम प्रेमभावमा डुबी रहँदा
पशुपतिनाथमा मैले बाको मुहार देखें
बाको मुहारमा पशुपतिनाथ देखें ।
हुन पनि,
एउटा भोला अर्को भोलासँग फरक
कसरी हुन सक्थ्यो र?
मेरा बा भोला, मेरा बा पशुपतिनाथ ||

स्मृति

स्मृति:

म सानो हुँदा जब म ढिला सम्म सुत्ने गर्थें, मेरो बुवा Bhola मलाई कहिलेकाहिँ उठाउन आउनु हुन्थ्यो | उहाँ मलाई उठाउन मेरो समीप पनि नआई अथवा भनौँ मलाई छुदै-नछोई पर बाट नै एउटा संस्कृतको श्लोक गाउनु हुन्थ्यो |

"शुद्धोसि बुद्धोसि निरँजनोऽसि
सँसारमाया परिवर्जितोऽसि
सँसारस्वप्नँ त्यज मोहनिद्राँ
मँदालसोल्लपमुवाच पुत्रम्।"

यो पुरै गाउँदा सम्म पनि म उठिन भने 'बाबु उठ' भनेर कोठाबाट निस्किनु हुन्थ्यो | नउठे पनि म बुवाले गाउनु भएको सुनेर निदाएझैँ नाटक गरी पल्टी रहन्थें |  बुवा मलाई उठाउन आइरहनु भयो, म निदाएझैँ श्लोकमा मस्त हुँदै गएँ | अनायसै, यो मेरो मानसपटलमा बस्न सफल भयो | यो श्लोकको प्रथम अनुच्छेद मलाई कण्ठस्त हुन पुग्यो |

बिस्तारै म ठूलो हुँदै गएँ | चाँडो उठ्न पनि थालेँ र नउठे पनि बुवाले मलाई उठाउन छोड्नु भयो | हुर्केको छोरोलाई उठ भन्न कति जानु? कुरा सहि पनि हो | अचेल, भान्जा-भान्जीहरु ढिला सम्म सुतिरहंदा अनि मैले उठाउन पर्दा मेरो दिमागमा पनि यहि श्लोक आउन थालेको छ | म पनि उनीहरुलाई उठाउन यहि श्लोक गाउँदो रहेछु |

गाउँदै/बजाउंदै गर्दा पो झसङ्ग भएँ कि मलाई त यसको मतलब नै थाहा छैन | यो श्लोक कहाँ कुन किताबमा छ पनि हेक्का छैन | कौतुहल हुँदै खोज्ने क्रममा थाहा भयो कि मार्कण्य पुराणमा मदलासा उपदेश छ जहाँ मदलासा भन्ने रानीले आफ्नो सन्तान रुँदा खेलौना जस्ता भौतिकवादी चिजहरुले सन्तान भुलाउनुको सट्टा यो गीत/लोहोरी गाउँदै सत्यको ज्ञान दिई फुल्याउनु हुन्थ्यो | त्यो जीवनको सत्यलाई गीतको रूपमा प्रस्तुत गरी उपदेश दिनुभएकाले त्यसलाई मदलासा उपदेश अथवा मदलासा पुत्र उपदेश भनेर पनि चिनियो |

पहिलो अनुच्छेदको मतलब यस्तो छ:

"शुद्धोसि बुद्धोसि निरँजनोऽसि
सँसारमाया परिवर्जितोऽसि
सँसारस्वप्नँ त्यज मोहनिद्राँ
मँदालसोल्लपमुवाच पुत्रम्।"

Madalasa says to her crying son:
“You are pure, Enlightened, and spotless.
Leave the illusion of the world
and wake up from this deep slumber of delusion”

यो अनुच्छेदबाट प्रष्ट हुन्छ कि मेरो बुवाले पनि मलाई, "तिमी पवित्र छौ, निश्चल, निष्पाप छौ | संसारको मायामा नपर, उठ! संसारिक माया र भ्रमलाई त्याग, यो निद्रालाई त्याग |" भन्दै उपदेश दिनु भएको रहेछ |

अस्तु|

Saturday, December 8, 2018

Forgiveness!!

How long can a thing bug you even after the umpteen attempts to let it go? Mahatma Gandhi said,"The weak can never forgive. Forgiveness is the attribute of the strong." Perhaps I am not that strong enough to forgive. Forgetting and forgiving gives you the peace. And when you can't do that, you alone are left with the suffering regardless of what the actual pain giver is in whatever state. It's been 15 months since this incident happened (let the incident be a secret here) and what bugs me is not that this happened but how it still feels like a fresh wound and I can't let it go. The saddest part is that the date of this incident is imprinted on my mind. As long as this continues, I won't find a moment's peace. September 23, 2017, I need to forget you.

I have no hard feelings with the concerned person anymore. But, the incident, as a whole, brings moment of conflict within me. I need to be strong. Lot more strong and not make myself suffer anymore. 

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...