Wednesday, March 18, 2015

मिटिंग विथ कुमार नगरकोटी

मैले पढाई रहेको कक्षा भित्र टुप्लुक्क देखा परे नगरकोटी जी | चिल्लो तालु टलक्क टल्काउँदै कक्षा भित्र यसरी छिरे कि मानौं  उनी त्यो कक्षालाई राम्ररी चिन्दछन् | चारै तिर उनले नियाँले र लागे सिधै अन्तिम बेन्च तिर अनि थचक्क बसे | कक्षामा गणित पढाई रहेको म, उनलाई देखेर छक्क परें | खाइलाग्दो ज्यानका उनी, केटाकेटीको सानो बेन्चमा बस्न गाह्रो परेझैं मैले अनुमान लगाएँ | दाहिने हातमा ३ वटा औंठी, गलामा रुद्राक्ष र अर्को गरी २ वटा माला झुन्ड्याएका उनी, आँखा चिम्लेर मस्त भावमा ध्यान गरेझैं बसे | सर्टको जस्तो कलर भएको झट्ट हेर्दा कुर्ता जस्तो देखिने सेतो  पोशाक (जुन उनले उनको कथा संग्रह 'फोसिल'को विमोचनमा लगाएका थिए) मा थिए उनी | ४ वटा कलमहरु, त्यो पोशाकको गोजीमा शान संग विराजमान थिए | ती बाहेक नगरकोटी जी संग अरु केहि थिएन साथमा |

विद्ध्यार्थीहरुले उनलाई देखेनन् कि वास्ता गरेनन् त्यो म भन्न सक्दिन, तर कसैले पनि उनको उपस्तिथिमा आपत्ती जनाएन न त कसैले आश्चर्य नै प्रकट गरे | त्यो म बाट हुन सकेन किनभने म कुमार नगरकोटीको फ्यान थिएँ | म उनको समीप गएँ र दुई हात जोडेर भने, 'नगरकोटीजी, नमस्कार |'

उनले आँखा पनि नखोली भने, 'हु आर यु?'

'आई एम दी ड्याम टिचर अफ दिस भेरी क्लास', मैले जवाफ दिएँ |

'त्यो त यो कक्षामा  पछी आउने अर्को टिचरले नि त्यही भन्ला | तपाईंहरुको भिन्नता के त त्यसो भए? ह्वाट मेक्स यु युनिक? तपाईं वास्तवमा को?' उनले मलाई प्रहार गरे |

त्यो प्रहारको प्रतिउत्तर मसंग केही थिएन | वास्तवमा म को? धेरै बेर सोचे पछी पनि केही फाइदा भएन | 'आइ वज जस्ट वान अफ दी बिलियनस् अफ कन्फ्युज्ड ह्युमनस् |'

कुरालाई अन्तै मोड्दै भने, 'म तपाईंको लेख्ने शैलीको ठूलो फ्यान | क्या लेख्नु हुन्छ, त्यो पनि फरक स्टाइलमा | तपाईंको लेखको स्वाद नै फरक छ, पात्रहरुको संवाद झन् गजब छ, चाखी रहुँ जस्तो | दिमाग रन्थनिन्छ एकछिन त तपाईंका किताब पढ्दा | कसरी सोच्नु हुन्छ? के छ तपाईं को दिमागमा?'

'Mind is an absurd institution, माई फ्रेन्ड |' यति भनेर चुप लागे उनी |

मैले नै निरन्तरता दिएँ कुरालाई, 'तपाईंको किताब 'फोसिल', 'मोक्षन्त: काठमाडौँ फिवर' र  'अक्षरगन्ज' पढेको छु मैले, अरु किताब नि पढ़नेछु |'

'त्यसो भए लगभग ७-८ सय खेर फाल्नु भयो?' यति भनेर उनी जोडसंग हासे, मलाई पुलुक्क हेरे अनि लागे विद्ध्यालय भवन बाहिर |

म उनलाई पच्छाउँदै हिडें |

"तपाईंको लेखमा यार्रोगेन्स (arrogance) झल्किन्छ, र त्यो नै तपाईंको सुन्दर पक्ष हो | तपाईं लेखनको कुनै रुल्स फलो गर्नु हुन्न र पाठकलाई च्यालेन्ज गर्नु हुन्छ, 'लभ मी अर हेट मी, मलाई बाल | दिस इज मी |'"

मैले उनको किताब पढेर उनलाई कति बुझेको छु भनेर प्रस्तुत गरें |

'टेक अ सिगरेट एंड सट योर ब्लडी मौथ' भन्दै उनले एक खिल्ली खुक्स म तिर तेर्साए | मैले 'नाइँ' को संकेत गरेपछी उनले एउटा सल्काए र पर क्षितिज सम्मको क्यानभासमा धुँवाको रङ्ग पोते |

'लिसन, आफ्नो ड्रिम चेज गर्दा अरुको सुन्नु नै हुन्न | कि त अत्याउंछन् कि त मत्याउंछन् | आत्तिनु र मात्तिनु दुवै हानिकारक छ', भन्दै अझ बाक्लो धुवाँले गाढा पेन्ट गर्न थाले |

'आफ्नो ड्रिम चेज गर्न तपाईले टिचिंग पेशा नै छोड्नु भयो रे होइन?' मैले सोधें |

'एस, यु हर्ड इट राइट' भन्दै पेंटिंगमै तल्लिन भए उनी, अझ गम्भीर हुँदै |

'मेरो प्रिय लेखकसंग भेट हुँदा एउटा सेल्फी त पक्कै हान्न पर्यो नि|' भन्दै मैले आइफोन ४ एस झिकें र हाम्रो दुई टाउकामा क्यामेरा फोकस गरें |

रेडी १..२.. ३..

*फुऊऊउ*

*क्लिक*

ठ्याक्क क्लिक हुने बेलामा उनले चुरोटको धुवां फोनतिर फ्याँके | सेल्फीमा अब स्मोक बढी भयो | तस्बिर चिनिन गाह्रो पर्यो |

'ह्वाट अ पिक्चर, स्मोकिंग हट सेल्फी' भन्दै जोडले हाँसे उनी |

म पनि खिस्स हाँसें | तर किन? मैले चाहेको सेल्फी त खराब भएको थियो |

'ल त बडी, आइ निड टु गो', भन्दै उनी फेरी विद्ध्यालय भवनमा पसे र अर्को कक्षाको ढोका खोली भित्र पस्न लागे |

मैले उनलाई रोकें, 'नगरकोटीजी, तर तपाईं त पढाउन छोडी सक्नु भएको होइन?'

'हो |' मेरो आँखा बाट गायब हुनु अघि उनले भने | 'म त यो कक्षामा मैले बिर्सेको पुरानो 'उखान' खोज्दै छु | नाउ, डु नट डीस्टर्ब मी'

म सोचमग्न भएँ | त्यो 'उखान' उनको कथाको पात्र उखान विक्रम मल्ल थियो कि साँचैको उखान? मल्ल उखान त भेटिएको थियो अन्त्यमा | आखिर कुन उखान खोज्दै छन् उनी?

एक पटक फेरी कुमार नगरकोटीले मेरो दिमाग रन्थन्याइ दिएर गएको कुरा मैले पछी मात्र बुझें |

------------ समाप्त-----------
( यो सब कुरा सपनाको हो | दिस लेजेन्डेरी स्टोरी टेलर केम टु मिट मी इन माई ब्लडी ड्रिम | )
Met fiction designer Mr. Kumar Nagarkoti at Shilpee Theatre while me along with my friends were there to watch 'Laato Pahad' (superb drama) . One of my favourite writers, Mr. Nagarkoti, was just there and here it is, the picture. 




ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...