सायद म दुई-तीन कक्षामा पढ्दाको कुरा हुँदो हो, नेपाली किताबमा निबन्ध लेख भनेर 'मेरो गाई ' शीर्षक थियो । आफ्नो गृहकार्य गर्ने कापीमा मैले त्यो निबन्ध लेखेँ या लेखिन, मलाई कुनै सम्झना छैन । तर मैले त्यो शीर्षकमा निबन्ध चाहिँ एउटा डायरीमा लेखेको थिएँ । एउटा पुरानो डायरी थियो हाम्रो घरमा । त्यसमा बुवाका लेखहरु हुन्थे, कविता हुन्थे । त्यहि डायरीमा बुवा पछि आमाले कविता कोर्नु भएको थियो । आमा पछि जेठी दिदी, माहिली दिदी, कान्छी दिदी अनि दादा सबैले क्रमश आ-आफ्ना लेख कोरेका थिए । सबैको केहि न केहि रचना देखेर मलाई पनि केहि लेख्न मन लाग्यो । तर लेख्ने चाहिँ के? मलाई कविता आउँदैन थियो । के लेख्ने के भनेर सोचेरै दिक्क भएँ। मन खिन्न भयो । तर मलाई केहि न केहि त लेख्नै थियो । म एक्लोले त्यो डायरीमा नलेखी छोड्न त मनै थिएन । केहि छिन सोचेपछि दिमागमा आयो 'मेरो गाई ' । मैले गाई बारे लेखेको पहिलो निबन्ध मलाई अझै पनि याद छ । सम्झनामा गहिरो छाप लगाई बसेका छन् त्यो बेलाका मेरा बडा-बडा अक्षर। निबन्ध यस प्रकार छ।
'मेरो गाई '
"मेरो गाई । मेरो रातो गाई । मेरो प्यारो गाई ।"
मेरो जीवनको पहिलो गाईबारे निबन्ध थियो त्यो । त्यसपछि कति निबन्ध लेखियो गाइबारे लेखाजोखा छैन तर त्यो निबन्ध मेरो मानसपटलमा यति मज्जाले बसेको छ कि सायद मद्वारा लिखित निबन्धमध्येको उत्कृष्ट निबन्ध त्यहि हो । किनभने गाई प्रतिको मेरो भावना त्यसबेला शब्दहरुमा बहन नसके पनि, आज ती तीन वाक्यका निबन्धले फेरि त्यो रातो गाईको सम्झना यसरी गराईदियो कि म मेरो त्यो रातो गाईबारे नलेखी बस्न सकिन ।
हाम्रो घरमा मैले थाहा पाउँदा दुईवटा गाई थिए। एउटा कालो अनि अर्को रातो । कालो गाईलाई हजुरआमाले काली गाई भन्नुहुन्थ्यो। काली गाईले रातो गाई भन्दा बढी दुध दिन्थी । पछी काली गाईलाई कुन्नी के रोग लाग्यो, बसेपछि उठ्नै नसकी, बसीबसी त्यो गाई स्वर्गे भई । त्यो गाईबारे मलाई भन्दा बढी मेरो दादालाई थाहा छ । म निकै सानो थिएँ त्यो गाई परलोक जाँदा । गाई मरेपछि मान्छे मरेपछि जस्तै नून बारिन्छ । शोक मनाइन्छ । किनभने गाईलाई परिवारको सदस्य नै मानिन्छ । काली गाई मरेपछि हाम्रो घरमा रातो गाई मात्र बाँकी भयो। त्यो बेला देखी त्यही गाई हाम्रो घरको आमा भई । उसैको दुध पिएर हामी हुर्कियौं बढ्यौँ ।
रातो गाईसँग म हुर्किंदै गएँ । गाई चराउन म गोठालो जान्थेँ । गोठालो जानु मात्रै मेरो रमाईलोको विषय त होइन तर गोठालाहरुसँग खेल्न पाउने भएकाले जाउँजाउँ लाग्थ्यो । डन्डीबियो, गुच्चा, फुटबल, ग्याम्बल, होक्र्याङ्ग अनि दशैँताका चङ्गा उडाउँदै गोठालो बन्न असाध्यै रमाईलो लाग्थ्यो । अहिलेपो एयरपोर्ट विस्तार गर्नेक्रममा कोटेश्वर चोक अगाडिको पूर्वपट्टिको जग्गा सबै सरकारले थुनिदियो, नत्र मेरो बाल्यकाल सबै त्यहिँ कुद्दै, खेल्दै, गोठालो बन्दै बितेको थियो । हामी खेल्दै गर्दा हवाईजहाज हाम्रै टाउको छुन खोजेझैं गरी अवतरण गर्थ्यो । मैले उडाएका चङ्गाका धागा कति चोटी हवाईजहाजले चुँडाइदियो त्यो गनेर साध्य थिएन । अवतरण गर्न लागेको जहाजले ठ्याक्क पाँग्रा झिकेको मलाई औधी मनपर्थ्यो । पाँग्रा उफ्रेर समाउन खोज्दै हामी जहाजको मुनिमुनि दौडन्थ्यौँ । मलाई लाग्थ्यो म अग्लो भएपछी त्यो पाँग्रा समाउन सक्नेछु । समयसँगै म अग्लो पनि भएँ अनि बुझेँ त्यो मेरो बालापनको निर्दोष सपना थियो । यस्ता धेरै कुरा रहेछन् जुन बालापन वा वयश्क उमेर दुवैमा उत्तिकै असम्भव छन् ।
म र गाई घरबाट सँगै त निस्किन्थ्यौं तर धेरै जसो छुट्टाछुट्टै घर पुग्थौँ । कारण, म खेलमै मस्त हुन्थेँ, गाई चरेर अघाई सकेर घर पुगिसक्थी । कहिलेकाहिँ त अर्काको बारी भित्र पसेर मकै, तोरी अनि अरु बालीनाली सखाप पार्दिन्थी । बदमासी रातो गाईले गर्थी, गाली मैले खानुपर्थ्यो । त्यसरी अरुको बारी भित्र पसेर चोरी गरेको मैले आफैंले देखेँ भने म लौरोले कुट्दै घर लान्थे । दुखेर होला गाई उफ्रिंदै दगुर्थी। राती ओच्छ्यानमा पल्टेर सोच्दा मलाई गाईको माया लागेर आउँथ्यो, बेकारमा किन कुटें होला भनेर आफैँलाइ धिक्कारथेँ । हाम्रो रातो गाई ज्ञानी थिई, अरुको गाई जस्तो डरलाग्दो थिईन; सिङ पनि डरलाग्ने थिएन अनि जसलाई पनि सिङले हान्न जाँदैन थिई। त्यस्तो ज्ञानी गाईलाई कुटेकोमा मन अमिलो बनाई निदाउँदथेँ । गाईको पिडा बुझेपछि चाहिँ मैले कहिलेपनि गाईलाई लौरोले हानिन । अरुको चोरेर खाए पनि, बाटो बिराए पनि मैले गाली मात्र गर्न थालेँ । उसले पनि खुरुखुरु मैले भने बमोजिम नै गर्न थाली । सायद, गाईले मैले भनेको राम्रोसँग बुझ्थी, म मात्र गाईले भनेको बुझ्दिनथिएँ ।
यति बुझ्ने गाईले पनि कहिलेकाहिँ दुख दिन्थी। कहाँ-कहाँ जान्थी, हराउँथी । हामी सबै मिलेर चारै दिशा खोज्न जान्थ्यौँ । जाँदाजाँदै ऊ कहिले कहाँ पुग्थी सायद उसैलाई थाहा हुन्थेन होला । खोज्दै जाँदा हाम्रो आवाज सुनेर लुरुलुरु हामी भएतिर आउँथी अनि घरतिर आफैँ बाटो लाग्थी । सायद हामी जस्तै ऊ अनि अत्तालिएकी हुन्थी या आफ्नो गल्ति बोध भएर ज्ञानी बनेकी हुनसक्थी। एकदिन भने रातो गाईले हामीलाई निकै तर्साई । चर्दै जाँदा कता-कता पुगीछ कुन्नी आफैँ नराम्रोसँग फस्न गई । पहिले घर-घर अहिलेको जस्तो ढल आएको थिएन । चर्पीको फोहोर सेप्टिक ट्यांकीमा जम्मा गर्ने चलन थियो अनि त्यो ट्यांकी भरिएपछि ठूलो खाडल खनेर त्यहाँ जम्मा गरिन्थ्यो र केहि दिनपछि त्यसलाई पुरिन्थ्यो । चर्दै जाँदा रातो गाई त्यस्तै एउटा खाडलमा फस्न पुगिछ। पछाडिको भाग पूरै खाल्डोमा परेछ । अनि बिस्तारै भासिँदै भासिँदै गइछ । जति निक्लिन खोज्थी उति दलदलमा जस्तो फस्दै जान्थी । गाईलाई खोज्दै गएका हामी गाईलाई त्यो अवस्थामा पाउँदा निकै डरायौं । पछी धेरै जनाको मद्धत लिएर गाईलाई त्यो नर्कबाट सकुशल निकाल्यौं । रातो गाई कालो गाई भएकी थिई । जाडोको मौसम अनि साँझको समयमा नुहाइदिँदा पनि एकदम चुप लागेर सहेर बसी त्यो गाई । त्यसपछी एकदुई दिन बुवाले दुध दोएर मिल्काई दिनुभयो । त्यसरी फोहोरमा डुबेको गाईको दुध खान कसैलाई मन लागेन ।
रातो गाई म सँगै हुर्केपनि म भन्दा चाडै ठुली भई । हरेक वर्षझैँ बाछा वा बाछी पाउँथी । बाछालाइ बहर पनि भनिन्छ । बहरलाई चाहिं अलि ठूलो भएपछी अन्तै पठाउने चलन थियो । किन भने बहरले दुध दिंदैन । बाछीलाई चाहिँ पालिन्थ्यो तर एउटा भन्दा बढी गाई नपाल्नेहरुले चाहिँ जसले पाल्ने हो उसैलाई दिएर पठाइन्थ्यो । त्यो बाछी पनि अरु कसैको घरको आमा बन्न जान्थी । तर बहर चाहिं कसले कहाँ लान्थ्यो थाहा थिएन मलाई । म हजुर-आमालाई र बुवालाई यो प्रश्न गर्थें । उहाँहरुले बहरहरु पहाडतिर हलो जोत्नका निम्ति प्रयोग हुन्छन् र तिनीहरुलाई त्यतैका मान्छेहरुले लान्छन् भनेर भन्नुहुन्थ्यो । मलाई नराम्रो लाग्थ्यो । दुध दिनेलाई राख्ने र नदिनेलाई धपाउने हामी कति स्वार्थी । गाई र मान्छेमा कति फरक है? गाई निस्वार्थी प्राणी हो । हामी स्वार्थ नै स्वार्थले भरिपूर्ण छौँ । गाईको छोरोलाई चाहिँ पाखा अनि छोरीलाई काखा गर्ने मानिस आफ्नोमा ठीक उल्टो गर्छ। किन दुवैलाई समान गर्न नसक्या होला है?
रातो गाई ब्याउँदा म निकै खुसी हुन्थेँ । गाईको बिगाउती दुध मलाई औधी मन पर्थ्यो । पहिलो र दोस्रो दिनको दुध त तताउँदा ठोस बन्थ्यो, जम्मै चोक्टा बन्थ्यो । त्यसपछि भने झोल र चोक्टा हुन्थ्यो अनि मलाई त्यो गज्जब स्वादिलो लाग्थ्यो । गाईको दुध जम्मा गरेर दही बनाउने चलन थियो । दही पनि धेरै जम्मा भैसकेपछि मोही पार्ने चलन थियो। हाम्रो घरमा मोही पारेपछि छरछिमेक सबलाई मोही बाँड्ने चलन थियो । "मोही लिन आउनु रे" भन्दै म सबलाई बोलाउन जान्थेँ । भान्छा कोठाको बिचमा एउटा थाम थियो (जसलाई अचेलको भाषामा पिल्लर भन्छन्) जसमा काठको ठेकी बाधेर मोही पारिन्थ्यो । मदानी चलाएर मोही पारेपछि नौनी निस्किंदा मलाई खुब आनन्द लाग्थ्यो । मोही कहिले आमाले, कहिले हजुरआमाले त कहिले दिदीहरुले अथवा दादाले पालैपालो पार्नुहुन्थ्यो । म पनि जोडले घार्रघुर्र गर्दै मदानी चलाएर घिऊ निकाल्न अघि सर्थें । मैले गरेको भएन भन्दै हजुरआमाले मलाई गर्न दिनुहुन्थेन । मैले गर्दा थोरै मात्र नौनी निस्किन्थ्यो त्यहि भएर । निक्लेको नौनीलाई भाँडोमा हालेर तताएपछि घिऊ बनाइन्थ्यो । नौनी पग्लेर घिऊ बन्न निकै समय लाग्छ । मज्जाको पहेंलो झोल सङ्ग्लो हुदैँ गएपछि घिऊ तयार हुन्थ्यो । अलिअलि छोक्रा जस्तो भाँडाको पिँधमा बस्थ्यो । त्यो छोक्रालाई बिलौनी भनिन्छ । अमिलो-अमिलो हुने त्यो चिज मलाई अनि दादा दुवैलाई खुब मनपर्थ्यो । हामीले खान सकेको खान्थ्यौं नसकेको आमाले बिरालोलाई दिनुहुन्थ्यो (हो, हामीकहाँ बिरालो पनि हुन्थ्यो) । त्यो छोक्रा खान हुन्न भन्नु हुन्थ्यो आमाले । तर हामी चाहिँ खान्थ्यौँ।
गाईको गोठालो मात्र होइन, म गाईलाई कुँडो पनि पकाउँथें । पानीमा पिठो, केलाएको तरकारी अनि अरु खानेकुराहरु हालेर भकभक अगेनामा पकाउन मलाई हजुरआमाले सिकाउनु भएको थियो । भुस्सा काट्ने, भकारो सोहोर्ने, दुध दुहुने, घाँस काट्ने जस्ता काम चाहिं धेरैजसो आमाले गर्नुहुन्थ्यो । भुस्सा भनेको पराललाई काटेर सानोसानो टुक्रा पारेको चिज हो । त्यसलाई पनि पानी, पिठो र केलाएको सब्जिहरुसँग मोलेर दिँदा गाई स्वादिलो मानेर खान्थ्यो । गाईलाई घाँस, पराल, खोस्टा, भुस्सा, कुँडो आदि गरेर आमाले मिलाएर खुवाउनु हुन्थ्यो । यसो गर्दा आमाले भन्नु हुन्थ्यो कि गाईले उचित पोषण प्राप्त गर्छ र धेरै दुध दिन्छ । यसरी हामीले निकै वर्ष रातो गाई माताको अमृत खायौँ ।
तर समय कहाँ एकैनाशको हुन्छ र? सरकारले एयरपोर्ट बिस्तार गर्न गाई चर्ने ठाउँ, हाम्रो खेत र बारी भएको ठाउँ सबै तारको बारले घेरिदियो । अब गाई चर्ने ठाउँ पनि भएन अनि धान फाल्ने खेत पनि भएन । धान नफलेपछि गाईलाई न त पराल न त भुस्सा । घाँस खोज्न आमालाई टाढाटाढा जान पर्ने भयो । गाईलाई पेट भरि खुवाउन पनि धौधौ भयो । गाईलाई खुवाउनकै निमित्त आमा त्यत्रो काँडे तारले घेरेको बार पनि (धोती लगाएर, डोको बोकेर) चढेर घाँस काटेर डोकोभरी घाँस बोकी त्यहि ८ फिटे बार वारपार गर्न थाल्नु भयो । त्यो पनि कति साध्य होस्? हरेक कुराको अन्त्य एकदिन अवश्य हुन्छ । त्यसको पनि भयो अनि सबै मिलेर एउटा निष्कर्षमा पुग्यौँ । गाई पाल्न नसक्ने भएको हुँदा अब गाईलाई बिदा गर्ने । चिनेकै मान्छेको आफन्तले हाम्रो गाई लाने निर्णय गरे । अरु मालसामान जस्तै गाईको पनि किनबेच हुने रहेछ, मैले त्यसबेला थाहा पाएको । जति उमेर कम अनि जति बढी दुध दिने त्यति बढी पैसामा बिक्ने रहेछन् । यतिका वर्ष आमा सरह हामीसँगै रहेकी गाईको मोल गर्न बुवा मान्नु भएन । दुध खाएको गाईको मोल गर्नु उचित न त हजुरआमा ले न त आमाले नै ठान्नु भयो । गाई दान गर्ने निर्णय भयो; भनिन्छ गौदान निकै पूण्यको काम हो । बर्षौं दुध खाएर बुढ्यौली तिर ढल्किँदै गएको गाई दान गरेर पाप कमायौं या पूण्य, त्यो पछि उही रातो गाईले निर्धारण गर्ली । तर उसबेला गाई लाने त्यो मानिस दङ्ग पर्यो अनि गाईलाई लिन छिट्टै आउने भयो । मलाई त्यो दिन कहिले पनि नआओस् जस्तै भयो । तर दुर्भाग्य, न दुखको समय टिक्छ न सुखको । गाईलाई एक बिहान त्यो मानिसले डोहोर्याउँदै लग्यो । गाईले के सोच्यो कुन्नि, बा..आँ... गर्दै कराएको त थियो तर उसको भाषा मैले त्यो बेला पनि बुझिन, बुझ्न कोशिश पनि गरिन । मनमस्तिष्क सबैले त्यो गाईको रोदन नै हो भनेर ठोकुवा गरिसकेको थियो । रातो गाई सदाको निम्ति घरको तघारो पार गर्दैगर्दा नरसाएको आँखा कसैको पनि थिएन ।
मेरो गाई । मेरो रातो गाई । मेरो प्यारो गाई ।
तस्वीर सौजन्य: https://www.jossandmain.com/decor-pillows/pdp/farmhouse-cow-sketch-wrapped-canvas-print-on-canvas-aggr7962.html?piid=22828531%2C22828526 |
पढ्न पटक्कै पुगेन! त्यो बिरालोको बारेमा नि लेख्नुपर्यो है अब छिट्टै!
ReplyDelete