Showing posts with label नेपाली कथा. Show all posts
Showing posts with label नेपाली कथा. Show all posts

Thursday, March 17, 2016

आलु

घरमा ठुलै हाँसो थियो | बिहान म हिंड्दा सम्म त कोहि आउने कुरा थिएन | दिउसो त घरमा रमाइलो माहोल भैसकेछ | भित्र छिरें | मामाघरबाट हजुरआमा र माइजु आउनु भएको रहेछ | नमस्ते गरें, सन्चो बिसन्चो के कस्तो छ भनेर जानी सकेर म फ्रेस हुन बाथरूम छिरें |
फ्रेस भएर निस्केपछि, हजुरआमाले मेरो बिहेको कुरा झिक्नु भयो | ‘बाबु, अब नातिनीबुहारी भित्र्याउने इच्छा छ |’ आलु ताछ्दै गर्नु भएको आमा मलाई हेरेर मुसुक्क हास्नु भयो | ‘हामी यसरी आएको बेला, नातिनीबुहारीले बनाएको खाजा खान पाए कति आनन्द आउँथ्यो | ‘ हजुरआमा भन्दै हुनुन्थ्यो |
‘हो, अब त हाम्रो नानीलाई नि साथी चाहियो नि |’ माइजुले कुरा थप्नु भयो |
नलजाउँ भन्दा भन्दै पनि हल्का तातो भयो मेरो गाला | लजालु मुस्कानले ओठ फराकिलो भयो |
‘भर्खर त २५ वर्षको भएँ | राम्रो जागिर अनि पढाई पूरा गरेपछी त हरेक इच्छा पूरा भैहाल्छ नि हजुरआमा |’ मैले भने | ‘अब २-३ बर्ष पर्खिनु न |’
‘आफ्नो खुट्टामा राम्ररी नउभिई त के कर गर्नु र आमै? अहिले पढोस्, माथिल्लो तहमा पुगोस् अनि चाहिँ सोच्नु पर्छ |’ आमाले हजुरआमालाई भन्नु भयो | मलाई आमाको त्यो बानी सार्है मन पर्थ्यो | अरुबेला पनि यस्तो अवस्थाबाट मलाई निकै पटक पार गराईसक्नु भएको थियो उहाँले | मैले आमालाई आँखाबाट नै धन्यवाद दिएँ |
उहाँले बुझ्नु भयो; मुस्काउनु भयो |
‘अचेल त केटीको खडेरी नै छ बाबै | झन् बाहुनी केटी त भेट्नै गाह्रो | अन्तरजातीय बिहे हुन थाले धेरै, त्यसमाथि लभ नगर्ने केटा-केटी भेट्नै गाह्रो | अहिले देखि नै खोजीरहे बरु बिहे गर्ने बेला सम्म ठिक्क भेटिन्छ नत्र ढिला हुन्छ |’ हजुरआमाले देखेको कुरा व्यक्त गर्नु भयो |
मैले केहि भन्नु अघि नै माइजुले थप्नु भयो ‘हो, मेरो भाईको बिहे गर्न त्यस्तै भयो | केटी खोजेको १.५ बर्ष पछी बल्ल बल्ल बिहे भयो | ख्याल गाह्रो भो!! कि त चाँडै खोज्नु पर्छ कि त भान्जा आफैले खोजे राम्रो |’
‘कि तिमीले नि लभ गर्या छौ बाबु?’ हजुरआमाले फ्याट्टै सोध्नु भयो |
आमा मलाई हेरेर हास्नु भयो | बेला-बेला लुकी लुकी कुरा गरेको अनि राती खास-खुस फोन गरेको ४-५ पटक भेटी सक्नु भएको थियो उहाँले | को हो भनेर एक चोटि सोध्नु भएकै पनि हो | साथी भनेर टारी दिएको थिएँ | आमा त पर्नु भयो, के लुक्थ्यो उहाँ बाट कुरा? ढाँटे पनि, हाउभाउले पत्तो लाइसक्नु भएको थियो | त्यसैले
अहिले मलाई हेरेर के जवाफ दिन्छ भनेर केहि नबोली हाँसी मात्र रहनु भयो |
‘त्यस्तो केहि छैन हजुरआमा’ मैले आँखा नजुधाई भनें | आमा तिर यसो आँखा सन्काएँ | आलु ताछी, काटी सकेर आलु पखाल्दै उहाँले भन्नु भयो ‘अहिले सम्म त त्यस्तो केहि छैन भन्छ | रहेछ भने नि जातकै रोज्या भए झन् बेस हुन्थ्यो |’ आमाले मेरो कुरा बुझेर आफ्नो कुरा अघि सार्नु भयो | म मुस्काए; एक त उहाँले हजुरआमाको
प्रश्न बाट मलाई बचाउनु भयो | अर्को, उहाँले रोजेको केटी स्वीकार्ने जस्तो कुरा गर्नु भयो | आखिर ऊ पनि त बाहुनी नै थिई | अर्कै जात भएको भए फसाद हुने रहेछ |
‘जात भनेर नि नहुने रहेछ, तल्लो घरे कृष्णको जेठी बुहारी कुजातकि थिई | पहिले हेप्नु हेपे त्यसलाई, कान्छी बुहारी जातकै ल्याए | अहिले कान्छीले देखी नसहेर त्यहि जेठीसंग बस्या छन् | उसैले मान-सम्मान, माया गर्छे रे | आखिर सबै भन्दा ठूलो कुरो माया नै रहेछ |’ माइजुले भन्दै जानु भयो | ‘मर्ने बेलामा दुई छाक खान र हसिंलो
मनले पानी दिने मान्छे भए त्यहि लाख हुने रहेछ | सम्पति अनि आफ्नै जातको बुहारी भएर नि आखिर के पाए त तिनले? आखिरीमा त्यहि ‘कुजात’ भगवान भई |’ आमाले माइजुको कुरा सुनेर च्व:च्व गर्नु भयो |
‘के जमाना आयो यस्तो खै’ भन्दै हजुरआमाले खुईइय: सुस्केरा हाल्नु भयो | ‘तिम्रो राम्रो होस् बाबै, हाम्री छोरीले सुख पाओस् |’
त्यो कुरालाई मोड्दै मैले भने, ‘हजुरआमाले नातिनीबुहारीले पकाएको खाने इच्छा गर्नु भएको होइन? त्यो त पछी पूरा होला, अहिले नातीले पकाएको चाख्नु है त |’ यति भनेर चुलोमा कर्हाई बसालें | आमाले पखाल्नु भएको आलु पकाउन ठिक्क भएँ |
‘हामी छदाँ-छदैं कहाँ तिमीले पकाउने बाबु? छोरो मान्छे भएर |’ हजुरआमा कड्किनु भयो | माइजुले पनि हो मा हो मिलाउनु भयो | ‘माइजु आएको बेला कहाँ भान्जाले पकाउने कुरा गर्नु भएको बाबु ? अरुले के भन्लान्? छोड्नुस् म पकाउँछु |
‘पकाओस् न त भाउजु, कति काम गर्नु हुन्छ? आज भानिजले पकाएको चाख्नुस | उसलाई बेला-बेला पकाउने जाँगर चल्छ |’ आमाले यसो भन्दा मैले तेल तताउन हाली सकेको थिएँ | मैले आमाको कुरालाई साथ दिएँ | माइजु अफ्ठ्यारो मानेर बस्नु भयो |
तेल तातेर मेथी र खुर्सानी फुराएँ मैले | अनि आलु झ्वाईंय बनाएँ | यो सब हजुरआमाले बडो चाख मानेर हेरी रहनु भएको थियो | भन्नुभयो ‘केटा मान्छेले पकाएको कस्तो नसुहाउने | के जाँगर चलेको हो यो नातीलाई |’ म फिस्स हाँसे |
‘नसुहाएर भयो त आमा? कहिले काहिँ गाह्रो साह्रो पर्दा, केटाले यस्तो जानी रहे घरमा कत्ति सजिलो हुन्छ | हजुरको छोरालाई त पानी तताउन पनि आउंदैन | म बिरामी भएको बेला कति गाह्रो हुन्छ |’ माइजुले अमिलो मन लगाएर भन्नु भयो |
‘ हो त, मलाई नि छोरोले पकाई हाल्छ भनेर ढुक्क छ | त्यसैले त एक-दुई दिन माइत बस्दा, कतै जाँदा, ढिलो हुँदा अनि बिरामी पर्दा पनि घरको चिन्ता लिनु पर्दैन | उसले पकाउन नजानुन्जेल मलाई कस्तो गाह्रो थियो |’ आमाले सन्तोकको श्वास फेर्दै भन्नु भयो | ‘अहिले आनन्द छ |’
‘त्यसो भनेर हुन्छ? आफ्ना सजिलाको लागी छोरा मान्छे लाई दुख दिन हुन्छ? उनीहरु त पढ्ने, जागिर खाने पो हो त | घरको काम त छोरी मान्छेले गर्ने हो |’ हजुरआमाले अलि कडा श्वर गर्नुभयो |
यतिन्जेल मैले नून बेसार हालेर आलु बिस्तारै चलाउँदै थिएँ | माइजु चुप रहनु भयो | आमा केहि बोल्न खोज्दै हुनुहुन्थ्यो मैले बीचमै काटें, ‘त्यसो होइन नि हजुरआमा, पहिले पो छोरी मान्छेलाई पढाउँदैन थिए | त्यहि भएर छोरी मान्छे कुटो-कुच्चो गर्न बाध्य थिए |’ मैले आलुमा जीराको धूलो छर्दै भने | ‘अहिले त छोरा-छोरी बराबरी
छन् | पढ्ने लेख्ने, जागिर खान जाने, सबै संगै गर्छन् | दुवै थाकेर घर आउँदा अब त छोराले पनि बुझेर छोरीमान्छेलाई घर-धन्दामा सघाउनु जरुरी छ |’
एकफेर आलु मजाले चलाएर माथि बाट मैले प्लेटले छोपिदिएं अनि आगो अलि सानो पारें |
माइजु अनि आमाले मेरो कुरा सुनेर मनमनै स्याबास भने जस्तै भान भयो मलाई | म गमक्क परें | उता हजुरआमाले केहि सोचे जस्तो गर्नु भयो र भन्नु भयो ‘नातिनीबुहारीले सुख पाउने भई उसो भए |’
सबै जना हास्यौं |
एकछिन पछी आलु पाकेको सरर बास्ना आयो | मैले पुन: एक चोटी आलुलाई ओल्टाई पल्टाई पारें र ग्यास चुलो बन्द गरिदिएँ |
आमाले सबैलाई भाग हाल्नु भयो अनि सबै भन्दा पहिले हजुरआमालाई दिनु भयो | हजुरआमाले तात्तातो आलु फु: गरेर खानु भयो | मैले उहाँलाई ठुला आँखाले हेरी-रहें |
‘भोली घर फर्कने बेलामा पनि यस्तै मिठो आलु पकाउँछौ नाती?’ उहाँले हासेर सोध्नु भयो |
‘फेरी छोरा मान्छेलाई नै पकाउन लगाउने हजुरआमा?’ मैले हाँसेर सोधें |
सबै जना खुलेर हास्नु भयो |
‘लाटा!’ हजुरआमाको नजरमा थोरै ग्लानी छल्की रहेको थियो |

Wednesday, December 2, 2015

आमा


आज तेश्रो दिन भो ऊ बाउ बनेको | खुसीको त मानौं कुनै सिमाना नै छैन | छर-छिमेक, इस्ट-मित्र, आदि सबको बधाई पाउँदा त झन् उसको छाती ढक्क फुलेको छ | मन चंगा छ | कति ठाउँमा त उसले लड्डु बाँडी सक्यो पनि | तल्ला घरे काकाले 'छोरो कि छोरी?' भनेर सोध्दा, उसले चौडा मुस्कानमा साथ 'छोरा' भन्दा काकाले दुख्ने गरी धाप मारे दिवेशलाई | लड्डु पनि दुइटा मागेरै खाए | 'छोरी भन्दा छोरा नै ठिक' भनेर काकाले भन्दा दिवेशलाई काकाको सोचाई प्रति दया लाग्यो तर प्रतिउत्तर केहि दिएन | मुस्कायो मात्रै | आज उसलाई कसैसँग बहस गर्नु छैन | नत्र भनी दिन्थ्यो कि उसलाई पहिलो सन्तानको रूपमा छोरीको इच्छा थियो | त्यो त, उसकी पत्नीले छोरा पाउने रहर गरेपछी, ऊ पनि राजी भएको थियो |
दिवेश  सम्झन्छ उसकी पत्नीसंगको कुरा |
'पहिलो सन्तान छोरा कि छोरी?' मैनाले लजाएर सोधेकी थिई |
'पहिलो सन्तान त छोरी नै हुन पर्छ,'  उसले भनेको थियो |
'नाइँ, छोरा नै हुन पर्छ | हाम्रो एक छोरा एक छोरीको सपना छ | पहिले छोरा नै भए ढुक्क हुन्छ | चाडै हुर्कन्छ, जिम्मेवार नि चाडै बन्छ |' मैना भन्दै गई|
'अनि पछी उसकी बहिनी आउँछे | अहिले काल-बेला यस्तो छ, दाजुको माया, आड अनि सुरक्षा पाउँछे छोरीले पनि | म घरकी जेठी छोरी भएर मलाई अहिले सम्म नि मेरो दाजु भए हुने जस्तो लाग्छ |' केही गम्भीर हुँदै उसले तर्क गर्छे |
'अर्काको दाजुले बहिनीलाई गरेको मायाँ देखेर नि मन कटक्क हुन्छ | नाइँ बा, म त मेरो छोरीलाई त्यस्तो हुन दिन्न |' उसको मन अमिलो हुन्छ |
'तिम्रो भाई छ, त्यो देखेर नि त अरुले तिम्रो इर्स्या गर्दा हुन् नि त्यो त', दिवेश ले मुस्काएर भनेको थियो |
'नगरेर भो त? त्यत्ति प्यारो भाई छ मेरो | आफ्नै छोरोझैं लाग्छ मलाई ऊ | ठूलो भैसक्यो, त्यै पनि काखैमा लिएर म्वाई खाइ रहुँ जस्तो छ |' ऊ भावनामा डुब्दै थिई | 'काले मोरो! अहिले छि:छि गर्छ, पहिला मैले माया नगरी हुन्नथ्यो | छोरीको जात नि कस्तो, त्यस्तो प्यारो भाईलाई छोडेर पराईको घर आउन पर्ने |' उसको हँसिलो मुहारमा साँझ पर्दै गयो |
'म पनि त तिमीलाई कत्ति माया... ' ऊ आफ्नी प्यारीलाई फकाउन खोज्दै थियो, मैनाले बिचैमा काटी | 'मलाई त्यहि भएर छोरी होइन छोरा चाहिन्छ पहिले | छोरी पहिला जन्मी भने बिहे पनि चाँडै हुन्छ उसको | घर शून्य हुन्छ | छोरा पहिला भयो भने छोराको बिहे हुन्छ, परिवार बढ्छ अनि त्यसपछी छोरीको बिहे गर्न पो स्वाद | बुहारीलाई हेरेर भए नि चित्त बुझाउन त हुन्छ |'
मैनाको कुरा नि उसलाई सहि लाग्यो | आफुलाई छोरी चाहिए पनि, उसकी प्रियसीको छोरो पाउने रहरमा कुनै लैंगिक भेदभाव थिएन | ऊ त छोरीकै हितमा बोल्दै थिई | छोरीसँग लामो समय बिताउने कुरा गर्दै थिई | यो कुरा दिवेशलाई पनि मन परेको थियो |
'तर तिमीलाई लाग्दैन छोरी पहिले जन्मी भने ऊ आत्मनिर्भर हुन सिक्छे, आफैँ लड्न र आफ्नो सुरक्षा गर्न सिक्छे | ऊ कसैमा भर नपर्ने हुन्छे, होइन?' दिवेश ले जानी-जानी मैनाको कुरामा अहिले नै हो मा हो मिलाउन खोजेन |
'त्यो त ऊ जसरि नि हुन्छे | हो दाजुको आड पाउछे तर ऊ कमजोर हुन्छे भनेको होइन |' मैना हाँसी | 'दाजु भए दाजुसँग लाडिन्छे, जिस्किन्छे, अझ बढी माया पाउँछे पो भनेको त |'
'त्यो त हो, मलाई नि लाग्छ मेरी बहिनी भएकी भए म कत्ति माया गर्थें होला उसलाई भनेर |' अब दिवेश  घोरियो |
'ल त्यसो भए पहिला छोरा अनि छोरी है त?' मैनाको मुहारमा फेरी घाम उदायो |
'हुन्छ हाम्रो इच्छा त्यहि भो | अब भगवानको मर्जी  |' दिवेश  नि मख्ख पर्दै मैनालाई अँगालोमा बेर्यो | मैना लाजले भुतुक्क हुँदै मनमनै इश्वरलाई ढोग्दी भई |
साह्रै प्रसन्न मुद्रामा दिवेश  घर पुग्यो | मैना छोरोलाई स्तनपान गराउंदै थिई, एकोहोरो त्यो बालकको मुहार हेर्दै | त्यो बालकले उसको छाती चुस्दा, त्यो दुखाई अब दुखाई होइन, उसलाई त्यो प्रिय भएको थियो अनि आनन्दमा परिणत भएको थियो| छोराका  कोमल अंगहरु मैनालाई फूलका पत्र भन्दा नि नरम अनि सुन्दर लाग्न थाले  | काखमा टुपुक्क भएको त्यो शरीर उसलाई शरीर नभई आफ्नै मुटु सम्झन्थी | त्यो बालकले लामो श्वास लिँदा, शान्तसँग छाती उठ्दा र बस्दा मैनालाई यति आनन्द आउँथ्यो कि उसले त्यो स्वर्गीय सागरमा कति डुबुल्की मारी उसैलाई हेक्का छैन | ठीक त्यसै बखत दिवेश  घर पुग्यो | अनि त्यो सबै ऊ नियाली रह्यो | आज उसका हरेक सपना पूरा भएका छन्, ठीक उसकै अगाडि | ऊ पनि मग्न भएर त्यो आनन्दको सागरमा डुबी रह्यो |
'के हेरेको त्यसरी?', मैनाले लाजको पोको बिस्तारै फुकाउँदै सोधी | त्यस बखत उसले किन सरमको ओढ्ने ओढी, उसैलाई थाहा भएन |
'थाहा छ मैना, जब मैले तिमीलाई पहिलो चोटि देखेँ तब तिमी जस्तो सुन्दर कोहि लागेन | तिमीमा बालापन थियो, हँसिली थियौ, चुलबुले थियौ | तिमीसंग प्रित बस्नु कुनै आश्चर्यको कुरा थिएन | बिस्तारै तिमी फक्रदै गयौ, अझ सुन्दर हुँदै |' दिवेश  गम्भीर हुँदै गयो | 'समयको चक्र घुम्दै जाँदा तिमी परिपक्क भएको हेरें, तिमी चन्चले केटीबाट एउटा जिम्मेवार युवती भएको पनि मैले देखेँ | तिमी जति बद्लिन्थ्यौ उति सुन्दर हुन्थ्यौ |'
दिवेशले यसो भनि रहंदा मैनाको मुटु ढुकढुक गर्दैथ्यो | आज ऊ किन यो सब भन्दैछ ऊ अनभिज्ञ छे | तर ऊ दिवेश लाई रोक्न नि चाहन्न किनभने उसका वाणी आकाशबाट पुष्पवर्षा भएझैं रोमान्चित गराउने खालको छ | उसलाई सुनी रहुँ लागेको छ | दिवेश  आज उसलाई बिशेष आकर्षक लागेको पनि छ किनभने दिवेशको आँखाको गहिराईमा उसले अविरल माया नै माया देखेकी छ | केवल उसको लागी |
'हाम्रो बिहेको दिन जब मैले तिमीलाई दुलही भएर मेरो नजिक आउँदै गर्दा नियाँले, लाग्यो यो संसारमा तिमी जति राम्री न कोहि थियो न कोहि हुनेछ | त्यसपछीका दिनमा मैले तिमीलाई हरेक दिन अनेक रूप, रंग अनि अवतारमा देखेँ | हरेक चोटी तिमीले मलाई चोर्यौ | कयौं चोटि म तिमीमा लीन भएँ र तिमीमा हराएँ | तर तिम्रो सुन्दरता कहिले नि हराएन |' दिवेश ले यति भन्दा मैनाको गह भरिएर आयो | आज उसका खुसीका लहर उर्लिएर आएको छ, कुनै बाँधले छेक्न नसक्ने गरी | मनको कुना देखि खुसी सोहोरिएर मैनाको दुई आँखामा आएर ढिल्पिल-ढिल्पिल गर्न लागे |
'तर मैना..', दिवेश  बोल्दै गयो | 'त्यो सबै खुसीका पलहरु केहि होइन रहेछन् | संसारको सबै भन्दा खुसीको क्षण ती कुनै होइन रहेछन् |'  मैना थोरै झस्की |
'प्रिय मैना, संसारको सबै भन्दा खुसीको क्षण र सबै भन्दा राम्रो दृश्य - 'आमा'', यति भनेर दिवेश  मुस्कुरायो |
खुसीले हरेक बाँध तोड्यो | मैनाको आँखामा बाट खुसी बडा-बडा ढिका बनेर उर्लिदै बग्न थाले |

 
Pic courtesy: www.stjosephschoolaquem.net





Wednesday, March 18, 2015

मिटिंग विथ कुमार नगरकोटी

मैले पढाई रहेको कक्षा भित्र टुप्लुक्क देखा परे नगरकोटी जी | चिल्लो तालु टलक्क टल्काउँदै कक्षा भित्र यसरी छिरे कि मानौं  उनी त्यो कक्षालाई राम्ररी चिन्दछन् | चारै तिर उनले नियाँले र लागे सिधै अन्तिम बेन्च तिर अनि थचक्क बसे | कक्षामा गणित पढाई रहेको म, उनलाई देखेर छक्क परें | खाइलाग्दो ज्यानका उनी, केटाकेटीको सानो बेन्चमा बस्न गाह्रो परेझैं मैले अनुमान लगाएँ | दाहिने हातमा ३ वटा औंठी, गलामा रुद्राक्ष र अर्को गरी २ वटा माला झुन्ड्याएका उनी, आँखा चिम्लेर मस्त भावमा ध्यान गरेझैं बसे | सर्टको जस्तो कलर भएको झट्ट हेर्दा कुर्ता जस्तो देखिने सेतो  पोशाक (जुन उनले उनको कथा संग्रह 'फोसिल'को विमोचनमा लगाएका थिए) मा थिए उनी | ४ वटा कलमहरु, त्यो पोशाकको गोजीमा शान संग विराजमान थिए | ती बाहेक नगरकोटी जी संग अरु केहि थिएन साथमा |

विद्ध्यार्थीहरुले उनलाई देखेनन् कि वास्ता गरेनन् त्यो म भन्न सक्दिन, तर कसैले पनि उनको उपस्तिथिमा आपत्ती जनाएन न त कसैले आश्चर्य नै प्रकट गरे | त्यो म बाट हुन सकेन किनभने म कुमार नगरकोटीको फ्यान थिएँ | म उनको समीप गएँ र दुई हात जोडेर भने, 'नगरकोटीजी, नमस्कार |'

उनले आँखा पनि नखोली भने, 'हु आर यु?'

'आई एम दी ड्याम टिचर अफ दिस भेरी क्लास', मैले जवाफ दिएँ |

'त्यो त यो कक्षामा  पछी आउने अर्को टिचरले नि त्यही भन्ला | तपाईंहरुको भिन्नता के त त्यसो भए? ह्वाट मेक्स यु युनिक? तपाईं वास्तवमा को?' उनले मलाई प्रहार गरे |

त्यो प्रहारको प्रतिउत्तर मसंग केही थिएन | वास्तवमा म को? धेरै बेर सोचे पछी पनि केही फाइदा भएन | 'आइ वज जस्ट वान अफ दी बिलियनस् अफ कन्फ्युज्ड ह्युमनस् |'

कुरालाई अन्तै मोड्दै भने, 'म तपाईंको लेख्ने शैलीको ठूलो फ्यान | क्या लेख्नु हुन्छ, त्यो पनि फरक स्टाइलमा | तपाईंको लेखको स्वाद नै फरक छ, पात्रहरुको संवाद झन् गजब छ, चाखी रहुँ जस्तो | दिमाग रन्थनिन्छ एकछिन त तपाईंका किताब पढ्दा | कसरी सोच्नु हुन्छ? के छ तपाईं को दिमागमा?'

'Mind is an absurd institution, माई फ्रेन्ड |' यति भनेर चुप लागे उनी |

मैले नै निरन्तरता दिएँ कुरालाई, 'तपाईंको किताब 'फोसिल', 'मोक्षन्त: काठमाडौँ फिवर' र  'अक्षरगन्ज' पढेको छु मैले, अरु किताब नि पढ़नेछु |'

'त्यसो भए लगभग ७-८ सय खेर फाल्नु भयो?' यति भनेर उनी जोडसंग हासे, मलाई पुलुक्क हेरे अनि लागे विद्ध्यालय भवन बाहिर |

म उनलाई पच्छाउँदै हिडें |

"तपाईंको लेखमा यार्रोगेन्स (arrogance) झल्किन्छ, र त्यो नै तपाईंको सुन्दर पक्ष हो | तपाईं लेखनको कुनै रुल्स फलो गर्नु हुन्न र पाठकलाई च्यालेन्ज गर्नु हुन्छ, 'लभ मी अर हेट मी, मलाई बाल | दिस इज मी |'"

मैले उनको किताब पढेर उनलाई कति बुझेको छु भनेर प्रस्तुत गरें |

'टेक अ सिगरेट एंड सट योर ब्लडी मौथ' भन्दै उनले एक खिल्ली खुक्स म तिर तेर्साए | मैले 'नाइँ' को संकेत गरेपछी उनले एउटा सल्काए र पर क्षितिज सम्मको क्यानभासमा धुँवाको रङ्ग पोते |

'लिसन, आफ्नो ड्रिम चेज गर्दा अरुको सुन्नु नै हुन्न | कि त अत्याउंछन् कि त मत्याउंछन् | आत्तिनु र मात्तिनु दुवै हानिकारक छ', भन्दै अझ बाक्लो धुवाँले गाढा पेन्ट गर्न थाले |

'आफ्नो ड्रिम चेज गर्न तपाईले टिचिंग पेशा नै छोड्नु भयो रे होइन?' मैले सोधें |

'एस, यु हर्ड इट राइट' भन्दै पेंटिंगमै तल्लिन भए उनी, अझ गम्भीर हुँदै |

'मेरो प्रिय लेखकसंग भेट हुँदा एउटा सेल्फी त पक्कै हान्न पर्यो नि|' भन्दै मैले आइफोन ४ एस झिकें र हाम्रो दुई टाउकामा क्यामेरा फोकस गरें |

रेडी १..२.. ३..

*फुऊऊउ*

*क्लिक*

ठ्याक्क क्लिक हुने बेलामा उनले चुरोटको धुवां फोनतिर फ्याँके | सेल्फीमा अब स्मोक बढी भयो | तस्बिर चिनिन गाह्रो पर्यो |

'ह्वाट अ पिक्चर, स्मोकिंग हट सेल्फी' भन्दै जोडले हाँसे उनी |

म पनि खिस्स हाँसें | तर किन? मैले चाहेको सेल्फी त खराब भएको थियो |

'ल त बडी, आइ निड टु गो', भन्दै उनी फेरी विद्ध्यालय भवनमा पसे र अर्को कक्षाको ढोका खोली भित्र पस्न लागे |

मैले उनलाई रोकें, 'नगरकोटीजी, तर तपाईं त पढाउन छोडी सक्नु भएको होइन?'

'हो |' मेरो आँखा बाट गायब हुनु अघि उनले भने | 'म त यो कक्षामा मैले बिर्सेको पुरानो 'उखान' खोज्दै छु | नाउ, डु नट डीस्टर्ब मी'

म सोचमग्न भएँ | त्यो 'उखान' उनको कथाको पात्र उखान विक्रम मल्ल थियो कि साँचैको उखान? मल्ल उखान त भेटिएको थियो अन्त्यमा | आखिर कुन उखान खोज्दै छन् उनी?

एक पटक फेरी कुमार नगरकोटीले मेरो दिमाग रन्थन्याइ दिएर गएको कुरा मैले पछी मात्र बुझें |

------------ समाप्त-----------
( यो सब कुरा सपनाको हो | दिस लेजेन्डेरी स्टोरी टेलर केम टु मिट मी इन माई ब्लडी ड्रिम | )
Met fiction designer Mr. Kumar Nagarkoti at Shilpee Theatre while me along with my friends were there to watch 'Laato Pahad' (superb drama) . One of my favourite writers, Mr. Nagarkoti, was just there and here it is, the picture. 




Sunday, March 31, 2013

बिहानी पछीको रात


काठमाडौँको स्वास्थमा कुनै सुधार थिएन | धुँवा धुलो र प्रदुषणले अझ खंग्रंगिएको थियो | काठमाडौँलाई पहिला ‘नेपाल’ भन्थे रे | अहिले नि नेपाल नै भने हुने हो, नेपाल भरिकै जनता यहाँ जो अटेसमटेस गरी बसेका छन् | यस्तोमा जवानीमै काठमाडौँले आफ्नो सुन्दरता गुमाएको थियो | रोगी भएको थियो | खैर, म पनि यही रोगी सहरमा रुमल्ली रहेको थिएँ, उसको ख्वांग- ख्वांग गर्ने छातीमा टेक्दै | बिचरो ऐया समेत भन्दैनथ्यो | कठैबरा!

अचानक मैले देखें उसलाई | आज करिब पांच बर्ष पछी दैवले उसलाई यसरी मेरो आँखा सामुन्ने ल्याइदियो कि मानौं ऊ मसंग खेल खेल्न चाहन्छ जसमा उसको जीत निश्चित छ | सायद जिस्काउँदै छ मेरो भाग्य मलाई | उपहास गर्दै छ | कति निठुर छ यो भगवान, पछिल्लो पाँच वर्ष सम्म पल पल पिल्सिएको मनमा एउटा नयाँ हलचल पैदा गरिदियो | उफ!

समयले नि कति छिट्टै कोल्टे फेर्छ | उसलाई नदेखेको पनि पाँच वसन्त भएछ | हुन त हरेक दिन ऊ मेरो भावना, सपनामा बारम्बार आफ्नो उपस्थिति जनाउथी तर आज एक्कासी उसलाई आफ्नो आँखा अगाडी देख्दा मुटुले ढ्यांग्रो ठोक्यो | सडक पारी ऊ कसैलाई कुर्दै थिई | करिब २० हातको दुरीमा थिई ऊ | म यति लज्जित र ग्लानिले भरिपुर्ण थिएँ कि त्यति दूरी पनि मेरो लागि पहाड भयो | धेरै साल अगाडी देखि उभिएको एउटा मर्न लागेको जीर्ण खम्बामा आफु छेकिई उसलाई नियाली राखें |

निकै सुन्दर देखिन्थी ऊ, भर्खर फक्रिएको फूलझैं | खुल्ला छोडेका परेली केशलाई उच्श्रीन्खल हावाले जिस्काईरहन्थ्यो | ऊ झिँजो मान्दै मिलाउंथी, बदमास हावाले फेरी बिथोलिदिन्थ्यो | अघि सम्म रोगी अशान्त लागेको काठमाडौँ एकाएक परिवर्तन भएर कति शान्त र सुन्दर लाग्यो | थोत्रा गाडीका लहरेखोकी, उत्ताउला हर्न र मानिसका खैलाबैलाले मलाई केहि असर पारेको थिएन | उसको सुन्दरतामा म यति लठ्ठ थिएँ कि लाग्यो म र ऊ बिना त्यहाँ कोहि छैन |

म जति ऊमा घोरिन्थें त्यति मेरो नजर उसको घाँटीमा झुन्डिएको पोतेमा जान्थ्यो | भित्र-भित्रै मर्थें | आफ्नो भाग्य सम्झेर फिस्स हाँसें र फेरी घोरिन लागें | गुलाबी रंगको साडीमा उसको निखार यति प्रष्ट थियो कि हरेकले उसलाई दोहोराएर हेर्थ्यो | कोहि दुष्टहरुको नजर यति सस्तो हुन्थ्यो कि तिनीहरुको हेराई बाटै उसको चरित्र हत्या हुन्थ्यो | मलाई दौडेर गएर ती पृथ्वी-भारहरुको खप्परमा बजाउन मन लाग्थ्यो तर सक्दिन थिएँ |

ऊ कसैको प्रतिक्षामा थिई | उसका ठुला ठुला गाजलु नयन यताउति भौंतारी रहेका थिए | कसैलाई खोजे जस्तो | सुन्दरताको प्रतिबिम्ब भए पनि ती आँखा केही निराश देखिन्थे | बिहान सेतो हिमालमा सूर्यका किरण ठोक्किदा जस्तो हसिलो मुहार र चम्किला आँखा हुन्थे उसका | तर त्यो कता हराएको थियो | म उसलाई राम्ररी चिन्थें | सायदै अरु कसैले उसको त्यो उदासी ठम्याउन सक्दो हो जुन मैले ठम्याएको थिएँ | त्यसैले म भन्न सक्थें कि ऊ निराश थिई किनकि उसको मिठो मुस्कान, चंचलेपन र सुन्दर बिहानी जस्तो मुहारमा आफु ऋणी भएझैं कुनै दिन मैले उसलाई आफ्नो मनमुटु सब सुम्पिदिएको थिएँ |

करिब आठ बर्ष अघि

प्लस टू सकेर, भर्खर कलेज भर्ना हुँदा अर्कै जोश थियो | एक प्रकारको घमण्ड र आफु पनि ठुलो भएको भावना | लाग्थ्यो संसार आफ्नै अधिनमा छ | ‘मै हुँ’ भन्ने धारणामा चुर्लुम्म डुबी हिंड्ने उमेर त्यो | तर मलाई के थाहा थियो र, कलेजको पहिले दिन नै मेरो तुजुक सब पानी पानी हुन्थ्यो भनेर? हो, मैले प्रथम दिन देखि नै कसैको अधिनमा आफुलाई पाएँ | ऊ थिई, सिल्विया |

उसको रुप, हाँसो, बोलाई, हिंडाईले मलाई यसरी आकर्षित गर्यो कि सुरुवाती दिनमै म उसको दाषी हुन राजी भएँ | मलाई प्रेमको छर्राले छोएको थियो | ऊ नजिक आउँदा मनमा अनौठो कम्पन महसुस हुन्थ्यो | तर पनि उसैको नगिच रहन मन हुन्थ्यो | ऊ कलेज आउन ढिला हुँदा उसैको बेन्चतिर आँखा लम्किरहेका हुन्थे | उसको आगमनसंगै मनमा हर्सौल्लास हुन्थ्यो | शायद त्यही थियो पहिलो प्रेमको पहिलो आभाष |

दिन बित्दै गए, अरु विद्ध्यार्थी हिसाबमा तल्लिन हुन्थे, म मायामा | अरु ‘डेबिट र क्रेडिट’ पढ्थे, म उसका आँखा | अरु बजार प्रतिस्पर्धा बारे जिज्ञासु हुन्थे, म उसको व्यक्तिगत जीवन बारे | यसरी केही दिन बितिसक्दा पनि हामी बीच प्रतक्ष बोलचाल हुने अवसर भने मिलेको थिएन |

एकदिन संयोगले क्यान्टिनमा खाजा खाँदै गर्दा अन्त खालि ठाउँ नभएर सिल्विया र उसका साथीहरु हाम्रै टेबलमा आएर बसे | म मनमनै फुरुङ्ग भएँ तर बोल्न वाक्कै फुटेन | उसको र मेरो आँखा जुधे र ऊ मुस्काई | मलाई त्यो बेला जस्तो अपार आनन्द सायदै पहिले आएको थियो |

उसले एकान्त तोडी, ‘आज भींड रहेछ है?’

‘खाने र खेल्ने ठाउँमा त सधैं भींड हुन्छ नि, पढ्ने ठाउँबाट पो कहिले उम्किउं जस्तो लाग्छ त’, शुभम जान्ने पल्ट्यो | तर सिल्विया मज्जैले हाँसी र सहमति जनाई | मलाई अलि रिस उठ्यो शुभम देखि | इर्षा लागेर आयो |

म सिल्वियामै हराएको थिएँ, अरु उसका साथीहरुको त होश नै भएको थिएन | शुभम नै अघि सरेर सबको परिचय गरायो, ‘म शुभम, ऊ (मलाई देखाउंदै) दिक्षान्त, अनि ऊ कस्तूप |’ म र कस्तूप फिस्स हाँसिदियौं | अनि उताबाट पनि सिल्वियाले नै सबलाई चिनाई, ‘म सिल्विया, ऊ सन्यमिता, अनि ऊ अपराजिता | ती दुई केटीहरुले नि ओठ तन्काए | कहाँ सिल्वियाको मिठो हाँसो कहाँ तिनीहरुको? आकाश जमिनको फरक |

त्यसरी हाम्रो मित्रताको सुरुवात भयो | छ जनाको ग्रुप भयो हाम्रो, संगै खान र संग-संगै बस्न थाल्यौं | अनौठो ग्रुप थियो हाम्रो, शुभमलाई जिस्की रहनु पर्ने, कस्तूप चाहिने भन्दा बढी कुरा नगर्ने, म अलि लजालु किसिमको (सिल्वियाको अगाडी त झन् बढी) र आफ्नो कुरा आफैंसँग राख्दथें, सन्यमिता मोबाइलमै झुण्डी रहने, अपराजिता किताबमै भुल्ने र सिल्विया? सिल्विया त एउटा सुन्दर किताब जस्ती थिई, मिस्ट्री नोवेल भने फरक पर्दैन | जति पढ्यो उति पढ्न मन लाग्ने, जति बुझ्यो उति रोमान्चक, हेरी रहूँ, पढी रहूँ, आँखा झिमिक्क नगरी हराइरहुँ जस्तो |

छुकछुकी थिई सिल्विया, कहिले के गर्नु पर्ने कहिले के | अरुलाई सताउन माहिर | कहिले हाम्रो पेन लुकाएर दिनभरी दिन्नथी त कहिले ब्याग लगेर क्यान्टिनमा लुकाईदिन्थी | बच्चा जस्तै चन्चले, उसलाई हेर्दा लाग्थ्यो कि ऊ केटाकेटी नै छे, बालापन अझै छ ऊ भित्र | बच्चाहरुले मोहनी लगाए जस्तै अरुलाई आफूतिर आकर्षित गर्थी ऊ | लाग्थ्यो उसलाई एकटक हेरीरहुँ, मुस्काईरहूँ, अरु सब भर्सेला परोस् |

दिनहरु पढ्नमा भन्दा कलेजबाट भाग्दै घुम्न, फिल्म हेर्न र यदि कलेजमै बसे पनि क्यान्टिनमा हल्ला गर्दै अनेकथरी गन्थन गर्नमै जान्थ्यो | अपराजिता बङ्क गर्न डराउँथी, त्यही भएर ऊ कक्षामै बस्थी र रमाइलो गर्नबाट चुक्थी | तर म, सिल्विया, कस्तुप, शुभम र सन्यमिता धेरैजसो कक्षा छोडी कहिले कता त कहिले कता घुम्न निक्लिन्थ्यौं | ब्याचुलर लाईफको भरपुर मजा लिईरहेका थियौं |

बी.बी.एस. फर्स्ट इयरको अन्त्य अन्त्य आउन लागेको थियो, हामी एकदिन नागदह घुम्न भनि गयौं | चैत्र महिना थियो, मिठो हावाले कुत्कुताई रहेको थियो | धापाखेलको नागदह जाने दोबाटोमा बसबाट ओर्लेपछि शुभम र सिल्विया अघि लागे, म र कस्तूप उनीहरुको पछी, र सन्यमिता सबै भन्दा पछाडी सदाझैं मोबाइलमै ब्यस्त थिई | शुभम जिस्की रहने र सिल्वियालाई जिस्किनु पर्ने भएर उनीहरु धेरै जसो संगै हुन्थे | मलाई डाहा हुन्थ्यो | त्यसै पनि सिल्वियाको अगाडी म त्यति खुल्न सक्दिन थिएं, कहिलेकाहीं आफैँ देखि थुक्क लागेर आउंथ्यो |

मलाई शुभम त्यति मन पर्न छोडेको थियो | कारण, ऊ मेरी सिल्वियासंग नजिकिदै थियो | यसबाहेक ऊ अलि ‘कूल’ थियो र सिल्वियालाई हँसाउने पनि ऊ नै हुन्थ्यो धेरैजसो | बस्, मलाई इर्ष्या लाग्थ्यो र ऊ सिल्वियासंग भएको देख्न सक्दिन थिएँ | तर के गर्नु, सिल्वियालाई म छोड्न पनि सक्दिन थिएँ र ऊ शुभमसंगको पलमा रमाउँथी | बाध्यता थियो मेरो | मलाई सिल्विया मन पर्छे भनेर मैले कसैलाई भनेको थिईन | डर लाग्थ्यो कता-कता | कहिलेकाहीं त सिल्विया कतै शुभमसंग त प्रेम गर्दिन भनेर म सोच्थें र मेरो डर अनि शुभमप्रतिको घृणा अझ तीव्र हुन्थ्यो | झन् शुभम र सिल्विया हामीभन्दा अघिअघि नागदहतिर लाग्दा म मनमनै मुर्मुरिएको थिएँ | शुभमलाई त्यहीं भकुर्न मन त कहाँ नलाग्या हो र? (साला शुभम...)

नागदह पुग्दा निकै रमणीय वातावरण थियो | वरपरका खेतमा लहलह गहुँ र जौ झुलिरहेका थिए | सरर हावामा ती पनि झुमी रहेका थिए | फूलहरुको मिठो सुगन्दले पुरै जीउलाई स्फूर्ति दिई रहेको थियो | ठाउँ-ठाउँमा जोडीहरु एकअर्कामा मस्त थिए | म हरेक जोडीमा आफु र सिल्वियालाई देख्थें | म चोरआँखाले यसो सिल्वियालाई हेर्थें, ऊ शुभमसंग हाँसी रहेकी हुन्थी | म निचोरिन्थें |

त्यतिकैमा सिल्वियाले क्यामेरा झिकी | सन्यमिताले क्यामेरा देख्न पाएकी छैन, झम्टिदै आई | उसलाई नागदह अगाडी बसेर सिंगल फोटो खिच्न खुब ईच्छा थियो | फेसबुकमा हालेर टन्न ‘लाइक्स’ आउँदा ऊ गमक्क पर्थी | अझ कसैले ‘वाउ, बिउटिफुल’ भन्दियो भने त उसलाई के चाहिन्थ्यो र? त्यसैले त अघि सम्म फोनमा गफ गरी रहेकी उसले, फोन राखेर पोज दिन आएकी थिई | घरी कम्मरमा त घरी गालामा हात लाउँदै उसले १०-१२ वोटा त सिंगल नै भ्याई होली | यता कस्तूप उसको हरेक पोजमा ओठ लेब्राउँदै थियो | सन्यमिता चड्किंदै थिई |

यसो-उसो फोटो खिची म अलि पर गएर दहमा हावाले बनाएको तरंग हेर्दै टोलाउँदै थिएँ | कति मनमोहक दृश्य थियो त्यो, लाग्थ्यो हावाकै लयमा पानी नाची रहेछ तालमा ताल मिलाउँदै | अलिकति कल्पना, अलिकति चाहना र अलिकति बहाना भयो भने मान्छे जता नि खुसी हुन सक्छ | आखिर यो जीवन एउटा कल्पना त हो | हामी जुन कुरालाई मलजल गर्छौं त्यही उम्रन्छ | म भित्र प्रेम थियो, सिल्वियाको लागि अथाह प्रेम, र त म देखी रहेंथे त्यो पवन र पानीको समागममा म र सिल्विया |

‘दिक्षान्त..’, कति खेर सिल्विया मेरै छेऊमा आइसकिछ मैले पत्तो पाइन | ‘कहाँ टोलाएर बसेको हो?’ उसले म भएको ठाउँमा बस्दै सोधी | मैले एकछिन एकटकले उसको चम्किलो मुहार हेरिरहें, उसको हावाले उडाएका केश हेरिरहें | कुन्नि के हलचल पैदा भयो म भित्र, र भन्न लागें:

‘हेर त सिल्विया, सरर बगेको बताससंगै यो दहको पानी नाच्न थालेकी छे | सधैं स्थिर रहने यस दहको पानीलाई ब्युँताउन यो पवन अनेक उमङ्ग, सुवास बोकी आउँछ र एकाएक तरंग पैदा गरी उसलाई जीवन दिन्छ | अनि ऊ चलायमान हुन्छे | उसमा प्राण आउँछ | यो हावा र पानीको प्रेम हेर, कति स्वच्छ छ, निर्मल र कोमल छ | अझ घोरिएर हेर्छौ भने तिमीले देख्नेछौ सिल्विया यिनीहरुको साँचो माया | बतासलाई थाहा छ कि ऊ यहाँ बाट यो दहको पानीलाई चोरेर लैजान सक्दैन, त्यैपनि ऊ हार मान्दैन | प्रयासरत छ | हरेकदिन आउँछ उसको मायालुलाई भेट्न, सकिन्छ कि आफैसंग लान भनी | यहाँको जल पनि कुरी बस्छे आफ्नो प्रेमीको प्रतिक्षामा | र जब पवनको आगमन हुन्छ तब ऊसंगै उड्न नसकेपनि उसको बेगमा नाचिदिन्छे, पलभरकै लागि किन नहोस आफुलाई उसको समर्पण गरेर उत्ताउली बनिदिन्छे | ऊ संगको एक एक पल रमाउँछे | भेटघाट सकिएपछि किनारसम्म उफ्रीउफ्री पुर्याउन पुग्छे र फेरी शान्त बनि भोलिको प्रतिक्षामा बस्छे | कति शान्त र शीतल छ यहाँ | कति मिठो र मनमोहक छ यिनीहरुको प्रेम, सिल्विया | जहाँ प्रेम हुन्छ त्यहाँ शितलता हुन्छ, त्यहाँ शान्ति हुन्छ, आफ्नो मन मस्तिष्क आनन्दिएको एउटा अद्भुत अनुभव हुन्छ | मलाई त्यही भई रहेछ सिल्विया |’

मैले त्यति भनुन्जेल उसले मलाई हेरी नै रहेकी थिई | अरु बेला भन्दा त्यो हेराई फरक थियो | सायद उसले मेरो अदृश्य रुप देखी, मेरा गहिरा भावहरु महसुस गरी | मेरा आँखा रसाएका थिए | ऊ थप मतिर बढी र मेरो कपाललाई लथालिङ्ग हुने गरी चलाई र भनी, ‘साहित्यकार महोदय, अब जाम खाजा खान, सब साथीहरु गैसके |’ अनि ऊ मुसुक्क हाँसी | त्यो बेला ऊ झन् बिछट्ट राम्री देखिई |

भन्न त अझै मन थियो, ‘म यो बतास हूँ सिल्विया र तिमी यो दहको पानी | तिमी मेरो गन्तब्य हौ | म स्वतन्त्र भए पनि, जता पुग्न सके पनि, तिमीमा लीन हुन नपाए सम्म म तृप्त हुन्न सिल्विया | तिमी बिना मेरो अस्तित्व छैन, म बग्न त बगी रहुँला तर मेरो गन्तब्य कतै हुने छैन | तिमीले मलाई पूरा गर्छ्यौ | म तिमीलाई धेरै प्रेम गर्छु सिल्विया |’ तर यी शब्दहरु मेरो कण्ठमा नै कैद भए | हामी दुबै अरु साथीहरु भए तिर लाग्यौं |

हामी सबै खाजा खाना भनेर बस्यौं | सन्यमिता मोबाइलमा औंला खेलाउँदै थिई, सायद मेसेज पठाउँदै थिई | शुभम र कस्तूप गए रातिको फूटबलको चर्चा गर्दै थिए, ‘बुझिस्, हिजो रुनीले हरिब गोल हान्यो नि’, कस्तूप भन्दै थियो | उसलाई रुनी खुब मन पर्थ्यो | अरु दिन हुँदो हो त म नि त्यसमा सामेल हुन्थें तर त्यो दिन म सिल्वियालाई नै हेरी रहन चाहन्थें | ऊ घरी टेबल बजाउँथी त कहिले गुनगुनाउँथी | त्यही कुरा शुभमले गरेको हुँदो हो त, मलाई दिक्क लाग्थ्यो होला तर सिल्वियाले त जे गरे पनि त्यसमा मिठास पाउथें म |

मैले उसलाई चोर आँखाले हेरी रहेको थिएँ, ठिक त्यही बेला ऊ एउटा पुरानो हिन्दी गीत गाउन लागी, ‘आपकी आँखोमें कुछ मेहेकी हुई सी राज है, आप से भी खुबसुरत आपका आन्दाज है |’ म त झसंग नै भएँ | उता शुभम दङ्ग थियो, उसले वान्स मोर भन्दै थियो, सिल्विया राती भई लाजले | फेरी सबले वान्स मोर भन्दै थिए, मैले चाहिं हत्तपत्त मोबाइल झिकी उसको स्वर रेकर्ड गरें |

म त्यो रात झिमिक्कै गरिंन | कैंयौ पटक त्यो प्ले गरें होला र उसले मेरो कपाल लथालिङ्ग बनाई दिएको पल सम्झी एक्लै मुस्काई रहें |

रमाइलोमै बित्यो प्रथम वर्ष | तर दोश्रो वर्षको सुरुवात भिन्न रह्यो | कारण थियो शुभम | परीक्षा सकेर पुन कलेज जाँदा शुभम हाम्रो ग्रुपबाट अल्लग रहन थाल्यो | जति खेर नि जिस्की रहने शुभम र सिल्विया बोल्न छोडेका थिए | कसैलाई केही थाहा थिएन | शुभम हामीसंग पनि टाढिएको थियो | किन त्यसो भनेर कस्तूपले एकदिन सोध्दा शुभामले टर्रो जवाफ दिएछ, त्यसदिन देखि हामी कोही पनि उसंग बोलेनौं | मलाई त के थियो र, एक मनले म खुसी नै थिएँ | शुभमको अप्रिय छायाँबाट मेरी सिल्विया जो टाढिएकी थिई | सिल्वियालाई त्यो बारे सोध्दा उसले नि आफुलाई केही थाहा नभएको भनेर टारिदिन्थी | हामीले नि कर गरेनौं |

जति नै मन नपरेपनि शुभम हाम्रो ग्रुपको रमाइलो पात्र थियो भन्न करै लाग्छ | हाँस्ने, हँसाउने, घुम्ने प्लान बनाउने, जस्ता यावत कुरामा ऊ नै अग्रस्थानमा हुन्थ्यो | ऊ टाढिनुको मतलब थियो कि हाम्रो ग्रुपमा त्यस्तो कार्य कम हुनु | तर पनि, म र सिल्विया अलि नजिकिएका थियौं | बङ्क नगरे पनि मलाई सिल्वियासंगका दिन झन् रमाइला लाग्थे किनभने त्यहाँ शुभम कतै थिएन |

नजिकिए पनि म सिल्वियाका कति कुरा बुझ्न सक्दिन थिएँ | कहिले मलाई एकदम प्यारो बनाउँथी त कहिले एक्कासी छाँगाबाट खसाली दिन्थी | कलेजमा हुँदा कहिले मेरै सीटमा आएर बस्थी र अनेक छुकछुक गर्थी | कहिले मलाई हेरी रहन्थी र मुसुक्क हासिदिन्थी | कति चोटी त लाग्थ्यो कतै सिल्विया मलाई प्रेम त गर्दिन? तर अर्को दिन ऊ मसंग फर्मल कुरा बाहेक अरु केही गर्दिन थिई | म बडो असमन्जसमा पर्थें |

उसको कहिले एक्कासी चाहिने भन्दा नजिकिने र कहिले पराई जस्तो गरिदिने बेहोराले मेरो मनमा आंधीबेहेरी चल्थ्यो | छटपटी हुन्थ्यो | उसलाई प्रेम प्रस्ताव राखिदिउं जस्तो नि लाग्थ्यो तर आँट आउदैन थियो | डर लाग्थ्यो उसले अस्विकार गर्ली भनेर | भएको मित्रता पनि तोडियोस, म यो चाहन्न थिएँ | फेरी उसको व्यवहारले म ढुक्क भएर प्रेमको पोको खोल्न नि सक्दिन थिएँ | मलाई गाह्रो थियो र म डराउनु पनि स्वाभाविक थियो | म चुप नै रहें, मनलाई गाँठो पारेर |

ऊ मलाई यति राम्री लाग्थी कि म उसको दाँजोमा हरेक क्षेत्रमा आफुलाई कम आँक्ने गर्थें | म उसको लायक छैन जस्तो नि लाग्थ्यो | मसंग त उसले दुख भोग्न पर्छ, उसले त सुखै सुखमा जीवन काट्नु पर्छ भन्ने भावनाले मलाई झन् खियाएको थियो | म आफैं पनि हार्दै गएको थिएँ | त्यसैले जब-जब आफ्नो मनको कुरा भन्दिन मन लाग्थ्यो, तबतब भित्रबाट आवाज आउँथ्यो, ‘सी डिजर्व्स् अ बेटर म्यान द्यान मी’ | यस्ता यावत् कुराले मेरो मन र मस्तिष्कको लडाई पर्थ्यो | यो मन मोरो सधैं हार्थ्यो |

तेस्रो वर्ष सुरु भैसकेको थियो | भविष्य बारे चर्चा चल्दै थियो | कस्तूप विदेश जाने कुरा गर्थ्यो, अपराजिता र सन्यमिता कतै काम खोज्ने योजनामा रहेछन् | मैले त केही सोचेकै थिइन | मलाई त ब्याचुलर्स नै नसक्कियोस् जस्तो लागिरहेको थियो | मैले त्यही सुनाएँ र सिल्वियाको प्लान सुन्न इच्छुक भएँ | ‘मलाई त ब्याचुलर्स सकिने बित्तिकै बिहा गरिदिने रे,’ ऊ बोली गम्भीर मुद्रामा | ‘अहिले नै कति कुराहरु आइरहेको छ रे घरमा,’ उसले मलाई हेरेर भनी |

मेरो सपनाको महल चकनाचुर हुन लागेको थियो | मलाई पुरै संसार घुमेझैं लाग्यो | भावन्न भएर आयो | भूकम्प आएझैं भयो | अलि-अलि भएको आशमा पनि ग्रहण लागेको थियो | म खिन्न भएँ | त्यस दिन बेलुका सिल्विया र म संगै घर जाँदै थियौं | ‘भविष्य बारे सोच्न थाल दिक्षान्त’, उसले कुरा निकाली | ‘सोचेको छैन भनेर हुन्न’ उसले माया ब्यक्त गरेर भनी, ‘सोच्ने बेला आयो अब |’

एक्कासी उसमा मेरो चिन्ता देखेर म छक्क परें | बिहेको कुरा पनि मलाई नै हेरेर भनेकी थिई उसले | के उसले मलाई घुमाउरो पाराले आफ्नो मप्रतिको प्रेम दर्साउदै थिई? मैले बुझ्न सकिन | उसको वाणीमा मायाको आभास पाए पनि उसको आँखाले दर्शाएको निराशापनले मलाई चिमोटिरह्यो | मैले नजिकैको क्याफेमा गएर कफी खाने प्रस्ताव राखें | उसले नाइँ भनिन |

वेटरले कफी ल्याउँदा सिल्विया टोलाई रहेकी थिई | म उसलाई नियाली रहेको थिएँ | निराश थिई त्यही पनि बिछट्ट राम्री | ठूला आँखा एकटक थिए | अरुबेला हुँदो हो त उसलाई नबोलाई हेरी मात्र रहन्थें | तर मलाई उसको मनपेट बुझ्नु थियो |

‘सिल्विया कफी आयो, कता टोलाएको ?’ मैले सुन्यता भंग गरें |

केही बेर चुप लागिरही र कफीको कप टेबलमा खेलाई रही | सायद उसले आफ्नो मनमा यति धेरै व्यथा कोचेकी थिई, त्यसलाई बाहिर निकाल्न पनि उसलाई कठिन परिरहेछ | मैले आफ्नो हात अघि सारेर उसको हात थामिदिएँ र उसको आँखामा आफ्नो भएभरको अनुराग पोखेर हेरिदिएँ | (त्यो आँट ममा कसरी आयो मलाई केहि थाहा थिएन |) उसले पनि मेरो भाव बुझेझैं गरी | हलुका मुस्काई | तर त्यो मुस्कान अलग थियो | त्यसमा व्यथा झल्किन्थ्यो | त्यो मुस्कान दुखाईको थियो | पहिलो चोटी, सिल्वियाको मुस्कानले पोलेको थियो मलाई |

‘एक्लिएकी छु म दिक्षान्त | बह पोख्ने ठाउँ छैन, भविष्यको चिन्ता छ | घरमा बिहेको प्रेसर छ | यसो सोच्यो आफ्नो भविष्य अन्धकारमात्र देख्छु | के केटीहरुको जिन्दगी यही हो त दिक्षान्त? हामीहरुको इच्छा आकांक्षाले पूर्ण रुप लिन कहिले पाउँछ? यहाँ सम्म दुख गरेर आएपछी अब मैले मेरो पहिचान बनाउन खोज्नु मेरो गल्ती हो? के मेरा रहर नाजायज छन्? हाम्रा रहर पलाउन नपाउँदै लुछिदिनु पर्छ? बरू म गर्भमै हुँदा मेरो हत्या गरिएको भए जाती हुन्थ्यो, अहिले आएर मलाई पल पल मर्नु त पर्दैन थियो | एउटा उड्न लागेको पन्छीको पखेटा काटेर उसको जीवन मृत्यु बराबर बनाउनुको के अर्थ?’ उसले आफ्नो गुम्सिएका व्यथा छताछुल्ल पोखी |

उसको कुराले मेरा गह भरिएर आए | उसले पहिलो पटक मसंग मनका व्यथाहरु सेयर गरेकी थिई | उसको दुखमा मेरो मन अमिल्लिएर आएको थियो | कति सपना बोकेका ती आँखाहरु धिमिल्लिएका थिए | जस्तै राम्रो परिवारमा बिहे गरेर गए पनि ऊ स्वतन्त्र हुने थिईन | हाम्रो समाजमा नेपाली बुहारीहरु कति नै स्वतन्त्र होलन् र? औंलामा गन्न सकिएला त्यो सङ्ख्या | कि त समाज, कि त परिवार कि त श्रीमानको अधिनमा उनीहरु पल पल पिल्सिरहेछन् | यो पुरुष प्रधान देशको नाङ्गो र पीडादायी यथार्थ हो | ऊ स्वतन्त्र र सफल हुन चाहन्थी | तर उसका सपना एउटा नमिठो बिपनासंग जुध्न जाँदै थियो |

‘एउटा शुभम थियो जससँग म आफ्नो कुराहरु गर्न सक्थें | तर उसले पनि मलाई यस्तो मोडमा ल्याएर छोडिदियो कि म यता न उता भएँ |’ ऊ भन्दै थिई , म छक्क परेर सुनी रहें |

‘फर्स्ट इयर सक्किए पछी उसले मलाई प्रपोज गर्यो तर ऊप्रति ममा त्यस्तो केहि भावना थिएन | ऊ त मेरो एकदम मिल्ने साथी मात्र थियो | उसले प्रेम प्रस्ताव राख्ला भनेर मैले चिताएको पनि थिईन | उसले त आफ्नो मनको कुरा सजिलै सुनाएको थियो तर सबै भन्दा गाह्रो कुरा त निर्णय दिनु थियो | त्यो मेरो भागमा परेको थियो | मैले स्वीकार गर्नु भनेको झुटो प्रेम दर्साउनु थियो जुन म गर्न सक्दिन थिएँ | मैले अस्विकार गर्दा ऊ टुट्ने थियो, त्यो पनि गर्न ममा हिम्मत थिएन | तर मैले त्यो आँट जुटाई छोड्नु थियो किनभने त्यो हामी दुवैको लागि श्रेयष्कर निर्णय थियो | तिमी नै भन न, कतै नपलाएको प्रेमको मुनालाई सपार्न कहाँ सक्छु र म? मनमा नगाडिएको बिऊको पालुवा म कता खोज्न जाउँ, दिक्षान्त? सबै भन्दा असहज परिस्थिति तब हुँदो रहेछ जब आफ्नो मिल्ने साथीले प्रेम प्रस्ताव राख्दो रहेछ |’ उसले यति भन्दा उसका आँखा धेरै नै भिजेका थिए | मलाई भने उसको अन्तिम वाक्यले धेरै नै लाछारेको थियो | किनभने म पनि उसको मिल्ने साथी थिएँ जो उसलाई माया गर्दथें |

‘मैले आफ्नो निर्णय सुनाउँनु भन्दा अघि उसले कि त साथ कि त दूरी भनेर आफ्नो कुरा प्रष्ट राखेको थियो | त्यसैले मलाई झन् पिंडा परेको थियो | मैले मेरो मिल्ने साथी पनि गुमाउँदै थिएँ | मैले बडो मुस्किलले ऊ संगको दूरी नै रोजें किनभने त्यो साथ दूरीभन्दा पनि पीडादायी हुन्छ जसलाई सम्झौताले गाँजेको हुन्छ | अनि ऊ सधैको लागि मेरो जीवनबाट ताडियो, साथीको नाता पनि रहेन | ऊ त गयो तर म झन् एक्लिएँ त्यसपछि | मेरो जीवनबाट मेरो असल मित्र हराएको थियो | दुइ साथी जब छुट्टिदा रहेछन् तब त्यो पीडालाई भुल्न त्यही साथीको साथ आवश्यक रहेछ | मलाई त्यतिबेला शुभम अझ बढी आवश्यक थियो मेरो साथीको रूपमा | तर ऊ अलप भएको थियो | म आफैं संग हारेको थिएँ |’ यति भनेर उसले पर क्षितिजमा हेरी राखी |

त्यति भनेर ऊ मौन रही | कुरा बल्ल छर्लंग भएको थियो शुभम टाढिएको बारे | तर हामीसंग नि टाढिनुको कुनै औचित्य थिएन | सायद ग्रुपबाटै टाढिनुमा भलो देख्यो उसले |

‘जे हुनु थियो भयो सिल्विया, पोखिएको पानी उठाउन सकिन्न | अतीतका कुरा सम्झेर बस्दा कसैको भलो हुँदैन | तिमीले एक्लो फील गर्नु पर्दैन, तिमीलाई केही पर्दा म छु तिम्रो साथ | बिहेको कुरा पनि तिमी घरमा राम्ररी राख, पक्कै पनि अन्कलहरुले बुझ्नु हुन्छ | अहिले चिन्ता लिएर केहि हुन्न, फाइनल इयरको परीक्षामा ध्यान देऊ | भित्र-भित्रै पिल्सिएर बस्न पाउँदैनौ तिमीले |’ मैले उसलाई केही सान्त्वना दिने प्रयत्न गरें | हुन पनि मैले त्यो बेला के भन्नु? म आफैंलाई थाहा थिएन |

मेरा कुरा सुनेर ऊ मुस्काई मात्र | उसको मुस्कान मैले बुझ्न सकिन |

‘थ्यांक यू दिक्षान्त, आज तिमी नभएको भए मैले मेरो मनको बोझ कहिले नि कतै बिसाउन सक्दिन थिएँ होला | मेरो छट्पटी शान्त भएको छ’, उसले राति मेसेज गरी |

अनि बल्ल मैले उसको दिउसको मुस्कान बुझें | आनन्द आयो उसको मेसेज देखेर | म दङ्ग पर्दै रिप्लाई दिएँ, ‘त्यति नि नगरे के साथी? आफ्नो ख्याल राख J’

त्यसरी हामी अलि नजिकिएँका थियौं | सानोतिनो कुरा सबै एक अर्कालाई भन्न थाल्यौं | तर ऊ प्रतिको प्रेम मैले दर्साउँन सकेको थिईन | एकप्रकारको लत लागेको थियो मलाई उसको, त्यसैले डराउँथें ‘कतै भएको पनि सून्यमा परिणत भयो भने? कतै शुभमको जस्तो हाल हुने त होइन?’ शुभमको प्रस्तावले त्यसै त उसलाई चोट पुगेको थियो | फेरी बल्ल बल्ल खुल्न थालेकी उसलाई मेरो प्रेम प्रस्तावले कस्तो असर पार्ने हो मलाई ज्ञान थिएन | मैले केही निर्णय लिन सकिन | सबै खेल भाग्यको हातमा सुम्पिदिएँ |

समयले कोल्टे फेर्दै गयो, हाम्रो ब्याचुलार्स नि सकियो | ३ वर्ष पनि कति छिट्टै बितेछ | म कस्तूपको सल्लाह अनुसार यसो विदेशको कलेजहरुको बारेमा नि सोधखोज गर्दै थिएँ | त्यत्तिकैमा मेरो मोबाइल बज्यो, मेसेज आएको थियो, सिल्वियाको | ‘मेरो बिहे हुने पक्का भयो | मैले हारें, केटा डाक्टर रे त्यही भएर बुवाआमाले धेरै कर गर्नु भयो, मैले हुन्छ भनिदिएँ |’

म एकाएक होश हराएँझैं भएँ, आफ्नो भावना व्यक्त गर्न नसक्दा त्यो दिन आएको थियो | त्यसपछि मैले उसलाई केही भन्नु बेकार थियो | म उसलाई गुमाउँदै थिएँ सदा-सदाका लागि | मैले केही उत्तर दिन सकिन उसलाई | त्यस दिन पशुपतिनाथको वनमा गएर म धेरै रोएँ | एक्लै रोएँ | आफुलाई धिक्कार्दै रोएँ | आफ्नो कायरतालाई धिक्कारें | उसलाई गुमाउनु नै थियो त मैले आफ्नो भावना व्यक्त गरेको भए हुन्थ्यो भनेर सोच्दै आफुलाई सरापें | जति जे नै गरे पनि अब सिल्विया टाढा हुदैं थिई धेरै टाढा |

‘तिमीलाई अग्रिम बधाई, दुख नमान |’ यत्ति लेखेर उसलाई मेसेज ठेलें र हतार हतार विदेशी कलेजमा फारम भर्ने काम कायम गरें |

उसले रिप्लाई गरिन, सायद उसको घाउमा मैले अझ नुन छर्किदिएको थिएँ | त्यसको केही दिनपछि उसको बिहाको निमन्त्रणा कार्ड मेरो घरमा आइपुगेको थियो | मैले त्यसलाई पल्टाएर पनि हेरिन | आफ्नो दुखलाई अझ बढावा दिन म किन त्यसलाई पल्टाउनु? उसको बिहामा पनि आफ्नो बुवासँग काठमाडौँ बाहिर जानु परेको बहाना बनाएर गईंन | त्यसको केही साता पछी म अमेरिका प्रस्थान गरें, सिल्वियालाई खबर नि नगरी |

पाँच वर्ष पछी म नेपाल आउँदा ऊ मेरै आँखा अगाडी देखा परी | खम्बामा छेकिई म हेरी रहेको थिएँ, एउटा टल्किने चिल्लो गाडी आई उसको अगाडी रोकियो र ऊ त्यो कारमा छिरी | भित्र एउटा मोटो डम्म परेको मानिस थियो | सिल्वियाको श्रीमान होला भनेर मैले अड्कल लगाएँ | तर अझै उसको मुस्कान फर्केको थिएन | चिल्लो गाडी हेर्दा हेर्दै अलप भयो, मेरो घाँटी अझै तन्किनै रहेको थियो | सिल्वियालाई देख्दा लाग्यो ऊ खुसी थिइन त्यो पुरुषसंग | उसको चमक गुमेको थियो | मलाई आत्मग्लानिले छोप्यो | मैले हिम्मत जुटाएको भए आज सिल्विया खुसी हुनिथी जस्तो सोच आयो | म आफ्नै नजरमा गिर्न पुगें | मैले आफुलाई मात्र होइन, सिल्वियालाई पनि मारेको थिएँ | ५ वर्ष सम्म मैले धेरै तडप सहें जस्तो लागेको थियो तर नियतिले अब मलाई जिन्दगीभरको तडप पुरस्कार दिएको थियो | ऊ बिनाको लामो यात्रा तय गरें जस्तो लाग्थ्यो तर मलाई के थाहा थियो र, यो पश्चातापको लामो यात्रा अनन्त सम्म तन्केको रहेछ |

images

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...