Sunday, May 30, 2021

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा


हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँकै डाँडा-काँडा हुन् या पर बिकटका ठाउँ, जताततै - मान्छेहरुले बाटो बिराउने अस्वोभाविक होइन | हाईकिङ्ग  र ट्रेकिंगका क्रममा हराएर बेपत्ता भएका सयौँ  मानिस यसका दृष्टान्त हुन् | हाइकिंग र ट्रेकिंगका क्रममा मान्छे किन हराउँछन् भन्ने कुराको छानबिन गर्दा अनेक कमीकमजोरीमा प्रकाश पर्न जाला; चाहे त्यो घुमन्तेकै कमजोरी होस् या अरु कसैको | म आफैं पनि अनेक ठाउँ घुम्न थालेको १ दशक भन्दा बढी भएको छ र म पनि धेरै चोटी बाटो बिराउन पुगेको छु | धेरैबेर बाटो बिराएर भौंतारिएको ४ प्रसङ्ग यस प्रकार छन् |


पहिलो स्थान: फूलचोकी
हाइकरहरु: म स्वयम् र दीपक मामा

कुरा होला सन् २०११-२०१२को, हामी दुई मामाभान्जा फूलचोकीको डाँडा चढ्न भनेर सवेरै उठेर लाग्यौं गन्तब्यतर्फ। गोदावरीबाट उकालो लाग्दा, दुई वटा बाटो थिए; एक, गाडी कुद्ने घुमाउरो ठूलो बाटो अनि अर्को, छोटो बाटो जङ्गल छिचोल्दै उकालो लाग्ने सानो बाटो।  हामीलाई जेठको चर्को घामले स्वागत गरी रहँदा घुमाउरो लामो बाटो जाने मन भएन, त्यसैले हामी जङ्गलभित्र बाट उकालो लाग्यौं। म २०-२१ वर्षे ठिटो भएपनि मामा जो ३२ -३३ को हुनुहुन्थ्यो मभन्दा निकै फिट हुनुहुन्थ्यो। दैनिक १०किमी जति उहाँ कुद्नु हुन्थ्यो बिहानै। त्यसैले त्यस्तो मान्छेलाई पछ्याउन मलाई हम्मे-हम्मे नै परेको थियो।  म स्याँस्याँ गरेको देखेर उहाँ मलाई अर्ती दिनुहुन्थ्यो - 'भान्जा, बिस्तारै हिड्ने तर निरन्तर हिड्ने गर्नुपर्छ, जति बस्यो उति हिंड्न गाह्रो हुन्छ।  अनि नाकले शास फेर्नु। ' मामाले जसोजसो भन्नुहुन्थ्यो म त्यसै गर्थें।  

करिब ३ घण्टामा बाटो भरी फोटो खिच्दै, कट्याक-कुटुक खाँदै, रमाइलो गर्दै हामी फूलचोकी माताको दर्शन गर्न माथि पुग्यौं | अमेरिका र क्यानाडा बसाई पछी नेपाल फर्किनु भएको मामाको फोटोग्राफीमा सौख थियो | आफुले भिरेको महँगो डी.एस.एल.आर. क्यामेराले धौलागिरी, अन्नपूर्ण, लाङटाङ, गौरीशंकर, सगरमाथासम्म कैद गर्नुभयो | हामीलाई नाम थाहा नभएका अन्य हिमालहरुपनि क्यामेरामा अटाए |  मनोरम दृश्य देख्न पाएकोमा उहाँ गदगद हुनुहुन्थ्यो र म अनेकौं बोट-बिरुवा, चराचुरुंगी अनि काठमाडौँलाई २९०० मिटर माथि बाट हेर्न पाउँदा फुरुङ्ग थिएँ | माथि बसी हामीले आँफुले बोकेको खाजा-नास्ता खोलेर खान थाल्यौँ। सानीआमाले र माइजुले मिठा-मिठा कुरा हाल्दिनु भएको रहेछ।  केही बेरको आनन्द पश्चात, काठमाडौँको सबैभन्दा अग्लो डाँडाबाट ओरालो झर्न थाल्यौं हामी, मनमा अनेक रमणीय पलहरु संगाल्दै |

झर्दै जाँदा पो थाहा नै नपाई हामी अघि आएको बाटो भन्ने ठानेर, अर्कै सानो बाटो तिर बाट ओरालो लागेछौं | केहि बेर झरे पछी निकै ठाडो ओरालो आयो र यो अघि उक्लेको बाटो होइन भन्ने निष्कर्षमा पुग्यौं | तर त्यहाँ बाट पनि त कुनै बाटो भेटिएला भनेर भिरमा चिप्लेटी खेल्दै तल झर्यौं | जति तल जान्थ्यौं उति बाक्लो जङ्गलले हामीलाई घेर्थ्यो | के गर्ने भनेर हामी एकअर्कालाई हेर्न थाल्यौं | पुनः माथि नै उक्लिने हामीसँग विकल्प थिएन किनभने नाक नै ठोकिने भिरालो बाटो चिप्लेटी खेलेर हामी तल झरेका थियौँ। अब त्यहि बाटो उक्लिन त असम्भव नै थियो। सन् २०१८को फेब्रुअरीमा, काठमाडौँ - फूलचोकीको डाँडामा विद्यालयबाट हाईकमा आएका १७ वर्षीय जोन ७ दिन हराएर आठौँ दिनमा सकुशल भेटिएका थिए । अहिले सोच्दा सायद जोनपनि हामीजस्तै एउटा गलत बाटो समाउन पुगेका थिए। 

निकै बेर सोचे पछि, हामीले जुक्ति निकाल्यौं, छेवैमा बगेको खहरे हुँदै तल झर्यो भने पक्कै तल पुगिन्छ भन्ने विश्वासका साथ हामी पानीले जता डोहोराह्यो त्यतै लाग्यौं। तर दुर्भाग्य, के भयो भने  झण्डै एक तला जस्तो झरना जस्तो ठाउँमा गएर हामी टुंगियौं। झरना भएकै ठाउँमा हामफाल्ने कुरो थिएन किनभने पानी कम, ढुङ्गा ज्यादा थिए त्यहाँ | त्यहि भएर छेऊ बाट अरु विकल्प खोज्न थाल्यौं हामी। त्यसै बखत, मामालाई कुन्नि के सोच आएछ, निकै गहन मुद्रामा म तिर हेर्नुभयो र भन्नुभयो, 'म शशीलाई फोन गर्छु।' 

त्यसो भनेर माइजुलाई फोन गरेर हामी हराएको कुरा तर बाटो छिट्टै पत्ता लाग्ने कुरा गर्नुभयो अनि राख्नु अघि, यो कुरा आमालाई नभन्नु आत्तिनु हुन्छ भन्नुभयो। त्यस पश्चात, मामा केहि हँसिलो देखिनुभयो। मामालाई जिस्काउँदै हामी तल झर्ने विकल्प खोज्न थाल्यौं। सौभाग्यबस,  त्यो कान्ले भीरमा एउटा रुख ठ्याक्कै हातले भ्याउने ठाउँमा रहेछ । मामा रुख चढेर पोल डान्स गरे जसरी नागबेली घुम्दै तल झर्नु भयो। मलाई त्यसरी झर्न नआउने भएकाले हाम फाल्ने निधो गरें | मामाले हुन्न भन्दै हुनुन्थ्यो, 'तिम्रो गोडा भाँचियो भने हराएको बाटोमा तिमीलाई बोकेर बाटो खोज्न सक्दिन म भान्जा' | मैले, 'यति त म घरतिर हामफराली रहेको हुन्छु, चिन्ता नगर्नु भन्दै हाम फालें।'

केहि बेर हिँडे पश्चात, एउटा तेर्सो बाटो भेटियो जुन बाटो प्रयोगमा आएझैं देखिन्थ्यो। अनि त्यसैलाई सहि बाटो ठानी हामी त्यो बाटोले जता-जता डोहोराह्यो उतैउतै लाग्यौँ। केहि बेरपछी हामी गोदावरी वनको फेदमा पुग्यौं | खुसीको सीमा थिएन त्यस बखत। हामी हाँस्दै सरासर घर लाग्यौं | मामालाई सायद माइजुलाई गम्लङ्ग अँगालोमा बाँध्न आतुरी भएको थियो | 


दोस्रो स्थान: चम्पादेवी
हाइकरहरु: म, आशिष बस्ताकोटी अनि रोशन डल्लाकोटी

सन् २०१५ तिरको कुरा हो, हामी ३ जना चम्पादेवीमा क्याम्पिंग गर्न तम्सियौं | माघको मध्ये जाडोमा क्याम्पिंग सोच्दै क्या रमाइलो, आहा ! तातो रगत, सोच्यो त सोच्यो, गरी पनि हाल्न पर्ने | त्यसैले शनिबारको दिन पुरानो बसपार्कबाट दक्षिणकालीको गाडी चढेर हामी फर्पिंगको चम्पादेवी मन्दिर जाने दोबाटोमा झर्यौं | १ बजे त्यहाँ पुगेका हामी, नजिकैको होटलमा केहि चमेना गरेर २ बजे डाँडा चढ्न थाल्यौँ | चम्पादेवीमा क्याम्पिंग पहिलो अनुभव भए पनि, भ्रमण चाहिँ मेरो दोस्रो थियो | दीपक मामा र मैले फूलचोकी घुमेकै बेला-बखत तिर चम्पदेवीको डाँडा पनि नापी सकेका थियौं | त्यहि अनुभवका साथ त्यो यात्रामा  मेरो अगुवाई थियो |  ३ मनपेट मिल्ने साथीहरुसँग गफ गर्दै, फोटो खिच्दै, रमाइलो गर्दै जाँदा यात्रामा थकाई भन्दापनि एक भिन्न प्रकारको ऊर्जा महसुस गर्दै थियौं हामी |  



जाँदाजाँदै चम्पादेवीमा रात बस्ने हामी बाहेक अरु कोहि नहोस् भन्ने कामना गर्दै अघि लाग्यौं | ६ बज्ने बेला जब चम्पादेवी पुगियो अनि जंगल भित्रको डरलाग्दो सून्यता अनि निख्खर कालो रातले स्वागत गर्यो तब अघि कामना गरेको कुरामा थकथक लागिरह्यो | मनमनै 'अरु मानिसहरु पनि भएको भए हुने' भन्ने कुरो लागिरह्यो | रात परिसकेपछी दाउरा खोज्ने काम सहज थिएन, फेरी फरक्क फर्कदा ठाउँठाउँमा राखिएको फोहोर संकलन गर्ने 'सेतो बोरा' देख्दा झसङ्ग भइन्थ्यो | यहि त्राशलाई हलुका पार्न मैले ठट्टा गर्ने निर्णय गरें | "दाउरा खोज्ने क्रममा कोहि मानिस रुखमा झुण्डिरहेको रहेछ भने के गर्ने केटा हो?" भनेर मैले भनेको मात्र के थिएँ, मलाई झण्डै भकुरेका थिए साथीहरुले |

मन्दिर छेऊमा रहेको जस्ताको छत मुनि टेन्ट हालियो अनि दाउरा मज्जाले बाल्दै गफिन थालियो | ल्याएको खानेकुरा खाँदै अनि मिठो कुराकानी गर्दैगर्दा चसो बढ्दै गयो। घडीले १०:३० हानेपछि हामी सुत्यौं, जम्मा ३ जना भएकाले धेरै अबेर सम्म नबसी सुत्ने निर्णय गरियो; दुई जना अट्ने टेन्टमा ३ जना सुतियो | राती शीत चुहिएर मेरो देब्रे पाखुरा भिजिरह्यो, चिसो लागिरह्यो | अरु दुईजना घुरिरहे, म त्यसलाई सङ्गीत मानी सुनिरहे, २ बजेपछाडी सङ्गीतले लट्ठ पारेछ क्यारे, म निदाएछु | बिहानै उठेर चम्पदेवी मन्दिरको दर्शन गर्यौं अनि फोटो खिच्यौं। आफुसंग भएको पानी र केहि खानेकुरा खाई मच्छेगाउँ झर्ने योजना बुन्दै हामी लाग्यौं मास्तिर | केहि बेर हिंड्ने बित्तिकै आउनुपर्ने झर्ने बाटो, तर झनझन् उकालो आउँदा मन झसङ्ग भयो | हामीले मच्छेगाउँ झर्ने बाटो कतै बिराइसकेका थियौँ |



अब हामीसंग दुई विकल्प थिए, कि फर्किनु पर्यो कि त त्यहि बाटो रोज्नु पर्यो जसले हामीलाई कता डोहोर्याउँछ त्यो यसै भन्न सकिन्नथियो । तीनैजनाको एकै बोली भयो: उकालो नै चढ्ने किनभने हामीसँग पर्याप्त समय थियो । समय त पर्याप्त थियो तर पानी थिएन, उकालीमा मुख प्याकप्याक्ती सुक्तै गयो - हामी उकाली लाग्दै गयौँ । चढ्दा-चढ्दै भस्मासुर डाँडा पुगियो । वरपर भन्दा अग्लो डाँडा, निकै मनोरम दृश्य देखिने ठाउँ पुगेर मन निकै आनन्दित भयो । "आहा, बाटो बिर्सेर पनि कति सुन्दर ठाउँ आइपुगियो ।" रोशनले काठमाडौँ खाल्डोको मनोरम दृष्य एकटकले हेर्दै भन्यो । सायद, अंग्रेजीमा 'Serendipity' यसैलाई भन्छ मैले मनमनै गमें । 

उत्तरतिर हिमाल एकछेउ देखि अर्को छेऊ सम्म सेता हाँसेका एउटा अद्भुत एवं मनोरम दृश्य हेर्दै हामी निकैबेर बस्यौँ । हामी तीनै जना एकदम चुप थियौँ - आँखा एकटक त्यो प्रकृतिको अलौकिक सौन्दर्यतामा लठ्ठ थियो । माघको चिसो हावा अनि चर्को घाम दुवै हाम्रो यो मौन आनन्दका साक्षी थिए । अरु साथीहरुलाई के भैरहेको थियो मलाई पत्तो थिएन, होस् पनि कसरी म आफैंलाई के भैरहेको थियो त्यो नै मलाई पत्तो थिएन। परमानन्दको चरम सीमा चुमेको थिएँ सायद मैले। मैले दुई साथीहरुलाई पालैपालो हेरेँ।  दुवैले उसै गरी मलाई हेरे अनि हामी तीनै मुसुक्क हाँस्यौं। खुशी बाँड्दा झन् बढ्यो । यो साथ कहिले नि नछुटोस् , यो प्रेम अमर रहोस् यस्तै यस्तै सोच आयो  मनमा। कति अनौठो है? यो सोच, यो फिलिंग पहिले नै नभएको होइन, तर हाम्रो फिलिंगलाई हाम्रो मनको गहिरो इनारबाट झिक्न मलाई कत्रो डाँडा चढ्न पर्यो।  



निकैबेर हामी त्यसरी नै बस्यौँ। जब प्यासले झनझन हाम्रो घाँटी सुक्दै गयो तब धेरैबेर बस्न नहुने कुरा गर्दै हामी जुन बाटो गएको त्यहि बाटो झर्ने निर्णय गरियो।  किनभने हामीसँग अब अरु जोखिम मोल्ने न त समय थियो न त पानी। आधा-घण्टा हिँडेपछि हामी तीनैजना रोकियौँ अनि पानीको बिकल्प  खोज्न थाल्यौँ। मैले मेरो झोलाबाट अघिल्लो दिन आमाले निकै प्रेमसँग राखिदिनुभएको मुलाको अचार (खल्पी) निकालेँ र खाएँ।  मुख नै  रसिलो भयो र जति चुस्यो उति आनन्द आउन थाल्यो।  हामीसँग अघिल्लो दिनको नसकिएको बियरको क्यान पनि थियो।  बियर र मुलाको रसिलो चाना चुस्दै हामी झर्यौं ।  कतै न-अडिई ओरालो झर्दै गर्दा हामीले बिहान बिराएको मच्छेगाउँ झर्ने दोबाटो देख्यौँ।  उति साह्रो प्रयोगमा न-आएको कारण छोपिएको रहेछ झ्याङ्गहरुले।  

त्यहिँ पसारिएको बाटो नदेखेकोमा थुक्क र धन्य दुवै हुँदै हामीले मच्छेगाउँलाई आफ्नो गन्तव्य बनायौँ। बाटो भेटिएको खुसियालीमा करिब एक घण्टाको ओरालो यति चाँडो बित्यो कि हामीलाई निमेषभरमै मच्छेगाउँको पुष्पलाल पार्क पुगे जस्तो लाग्यो।  एउटा पसलमा छिरेर सबैले आफ्नो प्यास मेटाउने निर्णय गर्यौँ अनि ३ बोतल पानी घटाघट पियौँ। पानी पिएर रोशनले पर क्षितिजमा टोलाएर हेर्दै भन्यो, 'ओहो, क्या रोमान्चक क्यम्पिङ्ग गरियो।' आशिष र म एकअर्कालाई हेर्दै मुसुमुसु हाँस्यौं।  रोशनले टोलाएर हेरेको क्षितिजमा हामीले पनि एकटक हेरीरह्यौँ।


क्रमश ,,,, (अरु दुई किस्सा अर्को पोस्टमा आउनेछ) 


ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...