बेमौसमी याद

यो बेमौसमी वर्षाका
बाछिटाहरु
ओत लागी बसेको मलाई,
जानी-जानी जिस्काउन
आउँछन् |
लाग्छ,
यी पानीका थोपा होइनन्,
यी त उसका यादहरु हुन्,
पग्लिएर बर्सिंदै छन् सायद |

यी भिजेका प्यासी गल्लीहरु,
पत्र-पत्र फैलाएर
तनलाई नग्न बनाई
किन्चित बनेका फूलहरु,
कुना-कुना बाट सोहोरिएका
हाम्रो प्रेमको डुंगा बगाउने कुलोहरु,
कहाँ पाउन्न म उसलाई?
एक झर उसको याद,
जता-ततै फैलिएको छ |

कतै,
एक टुक्रा याद.
पग्लिएर तमाम तरुण युवतीहरुलाई
भिजाएको छ |
काँप्दै गरेका तिनका ओठ,
तिम्रोझैँ लाग्छ

चिसोले थरथराएका तिम्रा
ती ओठको 'गर्मी'मा
मैले मेरो ओठ सेकाएको
सम्झना,
पानीको भेलसंगै सलल बग्छ |

प्रत्येक सम्झना,
प्रत्येक याद,
प्रत्येक बाछिटाले
यसरी पोल्छ कि मलाई,
मानौं,
यो बेमौसमी झरी
सायद,
मेरा सहस्र अश्रु त होइनन्?
नत्र,
बर्सिँदो झरीसंगै
यो मनको जलन,
यो राफ, यो ताप,
यो आफैंलाई डढाउने
ज्वालामुखी कस्तो?

-भाष्कर ढकाल
२०७२/०६/२७, अपरान्ह ४:१०




Comments

Post a Comment

Popular posts from this blog

Choice Is Ours To Make

भान्जा-भान्जीलाई चिठ्ठी

ऊ मरेकी छैन