Tuesday, June 23, 2015

मलमास (केटीको दृष्टिकोण बाट )

आज पनि यो रात ननिदाई
बित्ने भो,
मेरो प्यारो सिरानी
तिम्रो छाती,
म संग कहाँ छ र?
लाग्छ,
यो चन्द्रमा बनि
तिम्रो झ्यालबाट तिमीलाई
सुटुक्क चोरेर ल्याऊँ |
मलाई थाहा छ,
तिमीले झ्यालमा पर्दा हाल्न
पक्कै बिर्सिएको छौ |

बिहान नुहाएर आई
श्रिंगार गर्दा,
मेरो श्रिंगार पूरा गर्ने
मेरो सिउँदो भर्ने
ती तिम्रा हात यहाँ छैनन् |
जसो तसो आफैंले
सिन्दुर हाल्छु
ऐनामा हेर्छु
तर,
'आहा! कति राम्री देखिएकी'
भन्ने तिमी यहाँ छैनौ |
तिमी बिना मेरो श्रिंगार अधुरो छ |
तिमी बिना म अधुरी छु |

मलाई थाहा छ,
तिम्रो कोठा लथालिङ्ग छ,
सामान छरपस्ट छन् |
तर त्यो सबै भन्दा लथालिङ्ग,
तिमी भएका छौ |
तिमी अनि म,
आधा उता, आधा यता ;
चुँडिएर पल पल जिउनु
के फाइदा आखिर?
एक मन लाग्छ,
मेरा बा-आमाले मलाई
'तेरो घर जा नानि'
भनिदिउन् |
बतास जसरी हुर्रिएर आउथें,
तिमीमा लीन हुन |

मलमासको एक महिना,
कहिले बित्ला आखिर?
तिम्रो मायाँमा डुबेकी म,
यहाँ रुखाएकी छु,
तिमी बिना,
सुकेकी छु, ओइलाएकि छु |
कहिले आउला श्रावण महिना,
अनि म तिमी कहाँ आउनेछु,
तिम्रो प्रेमको वर्षामा भिज्न,
अनि फेरी फुल्नेछु
तिम्रो बगैंचामा
पिरतीको सुन्दर फूल बनेर ||


मलमास कविता केटाको दृष्टिकोण बाट पढ्न यहाँ क्लिक गर्नुहोस्
pic courtesy:bosconos.tumblr.com


No comments:

Post a Comment

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...