Sunday, June 21, 2015

मलमास



गर्मीमा पनि प्यारो लाग्दैन
मेरो ओछ्छ्यान छेऊमा यो चिसो |
रातको यो समयमा,
कालो बादल बिच
लुकामारी गरेको त्यो चन्द्रमा,
तिमी झैँ लाग्छ |
मलाई सुटुक्क चिहाउन आएकी ||

बाहिर तिमीलाई नियाल्दै गर्दापो
म झल्यास्स हुन्छु,
कोठामा पर्दा नलगाएको नि
धेरै भएछ |
तिमी माइत गए देखी,
मेरो होश ठेगानमा कहाँ छ र?
सायद, तिमी चन्द्रमा बनी आउने,
यो मनले अगाडी नै थाहा पायो कि?

कोठा पनि न्याश्रिएझैँ लाग्छ,
पटक्कै उज्यालो लाग्दैन |
तिमी हुँदा,
यो कोठा नि त तिमीसंगै
धपक्क बल्ने गर्थ्यो |
अचेल त लाग्छ
पूरै असारे बादल
मेरै कोठामा मडारिएको छ |
र बर्सन्छ मेरा आँखा बाट,
मुसलधारे पानी |

सबेरै - सबेरै उठी,
नुहाई-धुवाई गरेर,
ती परेली केशका
शीत, जब मेरो जीउ भरि
छर्किन्थ्यौ,
मेरो बिहानी सुरु हुन्थ्यो |
तर,
अहिले चिसो सिरानीले
मेरो तन-मन चिस्याई रहन्छ,
र म परेली झिमिक्क नपारी
हेरी रहन्छु ढोकामा,
तिमीले चोखा शीत ल्याउँछौ कि भनी |

अब कति दिन सहनु
यो एक्लो पना मैले ?
उजाड उजाड लाग्छ,
यी सारा परवेश |
तिम्रो न्यानोपना कतै छैन |
चिसिएर असिना बनी,
टुक्रा टुक्रा भई बर्सन्छु कि कसो?
के तिमी आउँछौ,
मलाई बटुलेर अंगाल्नलाई,
यो उजाड पनलाई लखेट्नलाई,
श्रावण बनी,
हरियो चुरा लगाएर,
मेरो आगनीमा?

Pic. Courtesy: virginieravel.deviantart.com


No comments:

Post a Comment

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...