निलो निलो आकाश
अनि तिम्रो आभाष
तिमी हुनुको,
हावा जस्तै
देखिदैनौ तर छौ|
अनि उड्दै गरेको
दुई बादलुका टुक्रा
सेता अनि बाक्ला
मेरो मन जस्तै
हलुको अनि निखर
र तिम्रा यादहरु
सूर्यका ती किरण जस्तै
निरन्तर, एकैनासको
आएर मनलाई कुत्कुत्याउने
तिम्रो न्यानो अनुभूति
कालो कालो गगन
अनि चम्किलो बगैंचा
ताराहरुको,
झिम-झिम गर्ने ती
हाम्रो प्रेमको नासो
अनि बिचमा मुस्कुराउदै गरेकी
चन्द्रमा, तिमी,
मेरो अन्धकारलाई हटाउन
पूर्ण रुप लिएकी
ममा अनुराग छर्न
र तिम्रो प्रतिक्षा गर्ने
शान्त, विशाल सागर, म
ब्युंतिन्छु तिम्रो प्रकाशसंगै,
र तिमी टांसिन्छौ मेरो छातीमा
म, तिमी अनि हाम्रो मिलन
एउटा अमर प्रेमको प्रतिक
No comments:
Post a Comment