माया त यस्तो होस्
कि प्रतिकुलतामा झन् सुवास छरोस् |
फुलेको फूल, उदाएको जून
कसलाई पो मन पर्दैन र?
माया त यस्तो होस्
कि उजाडतामा पनि हरियाली होस्
कालो बादल बीच मुस्कानका रेखा बनोस् |
मै हाँसेको बेला को पो लठ्ठ छैन र?
माया त यस्तो होस्
कि उदासीनतामा पनि चट्ट होस् |
हाम्रो प्रेम देखेर
अरुको मन पनि कटक्क होस्,
माया त यस्तो होस् |
बन्द कोठामा प्रेमको राँको
जसले नि बाल्दो हो,
माया त यस्तो होस्
कि दूरीमा पनि मुरी होस् |
घर भनेको आखिर प्रेमको आभाष न हो;
जहाँ तिमी र म हुन्छौं
त्यहीं हाम्रो धुरी होस् |
समय सधैँ कहाँ एकनासको हुन्छ र?
नचाहे पनि त कहिले टाढा हुन पर्छ
माया त यस्तो होस्
कि टाढा हुँदा नि गाढा होस्
जब मेरो जिन्दगी नै तिम्रो नामको छ
क्षणिक दूरिमा कुनै पिर नहोस् |
सम्बन्ध हाम्रो यस्तो होस् कि
हामी दुईलाई विश्वासले बाँदोस्
आखिर माया नि त विश्वासमै अडेको छ;
माया त यस्तो होस्
कि तिमी मलाई बुझ्नु, म तिमीलाई बुझ्छु
बस,
प्रेम जताउन नपरोस्, बताउन नपरोस् |