Sunday, September 28, 2014

के रमाइलो छ र दशैं??

के रमाइलो छ र दशैं? काठमाडौँमै जन्म भयो, यहीं हुर्किएँ | न त अरुझैं गाउँ जाने भनेर रमाउन सकिन्छ | केटा-केटी रहिएन, नयाँ लुगाको आशमा दशैं कुरिन्न, चाहिएको बेला किनिएकै छ | 'चिची' खान पनि दशैं कुर्न पर्दैन; अझ आफुँ त शाकाहारी, त्यो प्रलोवनमा पर्ने कुरै भएन | बच्चा जस्तो चंगा उडाउने, लंगुर्बुर्जा खेल्ने चलन अहिले त्यति छैन | अहिलेका बच्चा, कम्प्युटर र फोनमै ब्यस्त | तास खेल्न नि दशैं तिहार कुर्न परेन | मान्छे भेला भयो कि तास खेलेर 'टाइम पास' गरिन्छ |
अहिलेका जस्तो बस्ति कहाँ थियो र ऊ बेला, खुल्ला ठाउँमा लिंगे पिंग हाल्थे, अहिले त पिंग कहाँ हाल्या छन् भन्दा पनि, खुल्ला ठाउँ कहाँ छ खोज्नु पर्ने | टीकाको दिन, टन्न दक्षिणा कमाइने प्रलोभनमा भए पनि मामाघर कहिले पुगौं जस्तो हुन्थ्यो | अहिले त्यो हर्ष पनि रहेन | फेरी अचेल त टीका थापेर ठूला-बडाको आशिर्वाद भन्दा पनि बढी 'व्यङ्ग्य' पाईन्छ | मोटो मानिस हो भने, 'ल चाडैं जिउ घटोस्' भन्ने आशिष, आशिष नभई व्यंग्य हो | त्यस्तै पातलो मानिस छ भने त्यै किसिमको आशिष आउँछ | कपाल/दारी लामो भए त्यसमा व्यंग्य, कपाल झरेको भए त्यसमा व्यंग्य, काले भएको छ भने त्यसमा व्यंग्य, जता त्यतै व्यंग्य |
पढाई, जागिर, तलब, पेशा, आदि सबको एकैचोटी बेलिबिस्तार लाउदै हिड्नु पर्ने जता-ततै | चाडवाडको बेला वर्ष भरीको दुख भुलेर रम्न खोज्ने हो भने दशैं त्यो चाड होइन | पढाई, जागिर, तलब, पेशा, आदिको मार-को घाउँ फेरी आलो भइदिन्छ | त्यसैले टीका लगाउनु अगाडी, को मान्छेलाई के उत्तर दिने भनेर पूर्व तयारी आवश्यक भइसक्यो | आशिर्वाद होइन, आलोचना खेप्न गएको जस्तो भान हुने |
२४-२५ वर्षको होऊ, बिहेको कुराले जबरजस्ती पेल्ने | रमाइलो एक ठाउँमा छ, तर १-२ पटकको जोकले हसाउन सक्छ, तर त्यो अत्ति भए मगजलाई भारी पर्छ | विवाह आफुँ तयार भए पछी गर्ने हो, अरु तयार भएपछी होइन | जिवन जिउने आफुले हो, अरुले त पासो बाँधी दिएर सित्तैको भोज खाएर हिड्छन् | 'लौ भोग दुख एक्लै' भनेझैं गरी | आफुँ तयार भएर गरेको विहेको बन्धनलाई 'लगन-गाँठो' भनिन्छ, तयार नभई गरेको लाई 'गल-पासो' | यदि रमाइलोको लागि विवाह प्रसङ्ग झिक्या हो भने माफ गर्नु होला, बिहेको जोक पाच्य छैन |
धेरै बुढा भएका हजुरआमा-हजुरबुवाहरु बाट राम्रा आशिक अझै आउन छोडेको छैन | 'बाबु-नानि तिमी जे गर्दै छौ, अझ उन्नति होस् प्रगति होस्, धेरै असल मान्छे बनेस्' भन्ने जस्ता आशिषले अझै मन जित्छन् | 'राम्रो जोइ/पोइ, गर्लफ्रेन/ब्वाईफ्रेन पाएस, यति कमाएस्, उति कमाएस्' भनेर दिइने अहिलेको आधुनिक आशिष 'रमाइलोको लागि' दिइए पनि त्यस्तो आशिष लिन गएको भने होइन | आशिषमा वजन होस् अनि पो निधार निहुराउदै जान फेरी प्रेरणा मिल्छ | ठूला-प्रति केही आदर मान सम्मान भएर नै आशिष थाप्न गएका हौं | रमाइलोको नाममा 'टीका' जस्तो दिनको महत्व नघटोस् |
दशैंमा मौसम रमाइलो हुन्छ, बच्चा बेला जस्तो रमाइलो नहुने अनि आशिष पनि 'वाइयात' आउने क्रम बढ्न थाल्यो भने, अर्को पालि देखि हाम्रो मनोरम देश १५ दिन जति लाई बिन्दास घुम्न जाँदा धेरै फाईदा देख्छु म | दशैंको खर्चले मस्त घुम्न पुग्छ, दशैंको बिदा पनि सही उपयोग हुन्छ | ठाउँमा-ठाउँमा मनाइने दशैं मैले देखेको/भोगेको दशैं भन्दा पृथक छ कि? देश भ्रमण गरी अरुको दशैं देखेर फेरी दशैं सँग माया बस्छ कि? त्यो सोच्न योग्य विषय हो |
(यो लेख, fiction होइन.. न त, म आफैंले भोगेको सत्य कहानी हो.. तर यो कसैको कहानी हो, सत्य कहानी.. तपाईंसँग मिल्न गएमा कृपया आफ्नो त्रुटी सच्याउन अनुरोध गर्दछु | धन्यवाद )
(दशैं प्रतिको दृष्टिकोण यो मेरो आफ्नो उमेरवर्गका साथीहरुसँग बढी मिल्न सक्छ, दशैं अरु उमेर वर्गका मानिसलाई भिन्न तरिकाले दशा लाग्न सक्ला/नसक्ला यो उहाँहरुको विचार हो |)
हामी सबैको दशैं सुभ रहोस्.. बडा दशैंको हार्दिक मंगलमय शुभकामना 

Friday, September 26, 2014

एकादेशमा

एकादेशमा,
"दयाको सागर"
श्रीरामले,
रावणले भगाई लगेको,
आफ्नी 'प्राण-प्यारी' पतिव्रता पत्नी,  
सीतालाई समेत,
अग्निको परीक्षा दिन लगाए,
'पवित्रता' को...

एकादेशमा,
"देवादि-देव महादेव" ले,
"परम सुन्दरी" पार्वतीलाई
कैलाशमा एक्लै छोडी,
श्लेषमान्तक वनमा,
किराँत रुप धारण गरी,
किराँतिनी सँग,
पार्वतीलाई नै 'बिर्सिएर" रहे |
पछी, त्यो किराँतिनी,
पार्वती नै हो भन्ने जानी,
'कुलेलम" ठोके..

तिनै "भक्तवत्सल" शिव-ले,
आफ्नी "परमभक्त" वृन्दाको,
"पति-व्रता धर्म" हरण गर्न,
"करुणामयी" श्रीहरि विष्णुलाई,
पठाई,
छल-कपटले जालन्धरसँगको,
युद्ध जिते |
"लक्ष्मी-पति विष्णु" ले पनि
अर्काको स्त्री प्रतिको छल,
ढुंगा, घाँस, झार, वृक्ष
भई सहन पर्यो |

एकादेशमा,
'प्रेमको प्रतिक' 
भगवान श्रीकृष्णले,
राधालाई यति 'प्रेम' गरे
कि,
उनीले हरेक स्त्रीमा 'राधा' देखे,

१६१०८ गोपिनीहरु सँग,
'शारीरिक प्रेम' गरे |

र आज,
म जब जब मन्दिर जान्छु,
म देख्छु,
थुप्रै युवतीहरुको भींड,
जप्दै छन् महादेव,
कृष्ण, विष्णु, रामको,
नाम |

'प्रभुको लीला अप्रम्पार छ' |



     

Monday, September 22, 2014

चन्द्रमा

म सुन्छु, 
एक  प्रेमी 
आफ्नो प्रियसीसँग, 
अँगालोमा बेरिई, 
एकको ढुकढुकी 
अर्कोले महसुस गर्दै, 
भन्छ,
'प्रिया, तिमी चन्द्रमा जस्ती छौ |'

अनि त्यहाँ, 
जोडिन्छन् ओठमा ओठ,
केटी लाजले भुतुक्कै हुन्छे, 
तर त्यो लाजले उसलाई उत्ताउलो पार्छ,
र अझ समीप हुन्छे |
सामिप्यताले जब कुनै सिमा जान्दैन, 
दुई शरीर जब एक हुन लालायित हुन्छन्,  
अनि रन्को मार्छन्, 
तब समर्पण गर्छे ऊ, 
आफ्नो सारा, उसको प्रेमीलाई..
र फूल्न पुग्छ, त्यहाँ, 
प्रेमको सुन्दर फूल.. 

अनि म हेर्छु, 
त्यो चन्द्रमालाई, 
जससँग त्यो प्रेमीले 
आफ्नी प्रेमिकालाई, 
दाँजेको थियो | 
र म देख्छु, 
एउटा उदास चेहरा,
एउटी उदास युवती, 
सेतो धोतीमा बेरिएकी,
कल-कलाउँदो यौवनमै, 
विधवा भएकी, 
एउटी फक्रन नसकेकी कोपिला..

उसलाई हेर्दा लाग्छ, 
उसका रङ्ग उसमा भरिन नपाउंदै, 
कतै उडेको थियो | 
ऊ रंगीन हुन चाहन्न, 
या त रंगीन हुनै सक्दिन,
समाजको डरले | 
कलकलाउँदो उमेरमा 'उसको' 
पतिको देहान्त हुँदा, 
उसलाई लोग्ने टोकुवा भनियो | 
आज ऊ, 
समाजको 'कर र डर' भित्र च्यापिएर, 
लाचार बनेकी छे | 
त्यो कालो धब्बा, उसमा, 
समाजले पोतिदिएको हो | 
त्यसैले ऊ आफुँमा रंग भर्न सक्दिन.. 

कहिले, 
ऊ भित्र आशा पलाएर आउँछ,
र हरेक दिन ऊ, 
सूर्यको रंगिन किरण उधारोमा लिन्छे, 
अनि पोत्न खोज्छे आँफैलाई, 
लाली चढाउन खोज्छे आँफुमा, 
सपना देख्ने जमर्को गर्छे, 
तर अफसोच, 
ती रंग आफुँमा भर्न सक्दिन, 
ओढ्न सक्दिन ती रङ्गहरु, 
किनभने उसमा दाग छ, 
समाजले उपहार दिएको.. 

सपनाको संसारमा मग्न हुँदा, 
ऊ धपक्क बलेर पूर्ण हुन्छे, 
बिना कुनै रंग नै ऊ, 
चौपट्ट सुन्दर हुन्छे.. 
उसको दाग मेटीएझैँ हुन्छ, 
र त्यहाँ पूर्णिमा हुन्छ.. 
तर, 
जब फेरी उसको सपना तुहिन्छ, 
जब फेरी ऊ निभ्न थाल्छे, 
तब, 
ऊ उसको कालो दागको दास बन्छे, 
लाचार अनि विवश बन्छे, 
र पुरै अन्धकार छाउँछ, 
ठीक त्यै बखत, 
कालो औंसी निर्लज्ज आउँछ | 

चन्द्रमाको त्यो सपना देख्ने 
अनि टुट्ने क्रम
जारी रहन्छ |
र,  
फेरी कुनै रातमा, 
कुनै नव जोडी, 
प्रेमको उन्मादमा, 
सानन्दको वर्षा गराउंदै,
एक अर्कामा लीन हुँदा, 
चन्द्रमालाई नै हेरी,   
केटाले केटीलाई  
'चन्द्रमा' उपनाम दिन्छ, 
र त्यहाँ, 
पुन: प्रेमको फूल फुल्छ |

तर कठै!!,
त्यो जोडीलाई के थाहा? 
"माथि चन्द्रमा प्यासी छे, 
उसमा श्वास छैन, 
जीवन छैन |
सूर्यको किरण उधारो लिई, 
रंगिन हुने खोक्रो सपना मात्र साँचेर,
ऊ बेरंग छे |  
उसमा रंगिन फूल फुलाउने 
सामर्थ्य,
अब छैन.."



ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...