Wednesday, June 19, 2019

स्मृति २

बाल्यकालको तस्वीर,
मेरो बा, उहाँको कलिलो छोरो
अनि पछाडी साइकलमा सवार कान्छो दाहाल,
त्यो पहेंलो तोरीबारीमा कति खुलेका ।

त्यो भन्दा नि खुलेको छ,
मेरा बाको सेता दन्त लहरा
सायद, ती फुलेका झुलेका पहेँला तोरी भन्दा पनि राम्रो लाग्यो बालाई
त्यो पहेंलो सर्ट लगाउने सानो मनुवा

फेरी लाग्छ,
मेरा बाको नजरमा
ती फुलेका फगत पहेँला फूल होइनन्
ती त उनकै पुत्र हो ।
मेरा बाले रोपेर फक्रेका पुत्र ।

मेरा बा,
सन्तान बीच घेरिएर दङ्ग छन्
आफैंले गोडमेल गरी फक्रेका सन्तान ।

आज यो तस्वीर नियाल्दा,
एउटा पुत्रको नजरबाट,
म ती तोरीका फूलमा
बुवाका हाँसो अनि खुसी देख्छु
मेरा बाले,
आफ्नो खुसी, उदाङ्गो आकाश ले
छोप्न नसक्ने गरी छर्दिनु भएछ ।

त्यसैले,
म आजपनि
हरेक तोरीबारीमा मेरा बाको
खुसी फक्री रहेको पाउँछु
र म प्रफुल्लित हुन्छु
त्यो तस्वीरको पहेंलो सर्ट लगाउने
सानो मनुवा जस्तै ।

मेरी प्रिया, श्रृष्टीलाई समर्पित



त्यो क्षितिजमा भेट मलाई
जहाँ साँझले रङ्ग पोत्दै छ
फाल्गुणको शीतल बतास बनि आऊ
अनि खेलौँला हामी प्रेमको होली
सातैवटा रङ्गहरू प्रकृतिसँग उधारो मागी

त्यो गगनमा भेट मलाई
जहाँ निशाले ताराहरु बिस्कुन लगाएकी छिन
पुर्णिमाको चन्द्रमा बनि उदाउँदै आऊ
अनि छर्नु कालो रातमा मधुर मुस्कान 
भाष्करसँग थोरै प्रकाश उधारो मागी

त्यो बिहानमा भेट मलाई
जहाँ कर्कलाले शीतलाई मोती बनाएको छ
चरी बनि भुर्र उडेर आऊ
अनि गाउनु  तिमीले प्रेमगीत
कोइलीसँग मीठो धुन उधारो मागी

त्यो सपनीमा भेट मलाई
जहाँ तिमी र म एकसाथ रमेका छौं
ब्रह्माकै सुन्दर सृष्टि बनि तिमी आऊ
अनि छर्क हाम्रो जीवनमा सुगन्ध
कोटी-कोटी फूलहरुसँग सुवाष उधारो मागी

बा





आज साँझ पशुपतिनाथ पुग्दा
मलाई बाको झल्झली सम्झना आयो
सायद बाले पनि सम्झनु होला
मलाई अनि पशुपतिनाथलाई
र पशुपतिनाथले पनि बालाई |
सधैँ बेलुकी जो जानु हुन्थ्यो
भगवानको दर्शन गर्न |
एउटा भक्तको सम्झना भगवानलाई किन नआउँदो हो?
एउटा भक्तलाई भगवानको सम्झना किन नहुँदो हो?

आज,
पशुपतिनाथलाई एकटक हेरिरहँदा
मलाई, बासँग परस्पर भेट भए जस्तै भयो
न्यानो अनुभूति भयो
सायद, बाले पनि पशुपतिनाथलाई छातीमै टाँसेर
अमेरिका जानु भएको छ,
नत्र पशुपतिनाथको समीप पुग्दा
मलाई पिताको जस्तो न्यानोपना कदापि मिल्ने थिएन 
मैले मेरा बालाई अङ्कमाल गरे जस्तै |

असीम प्रेमभावमा डुबी रहँदा
पशुपतिनाथमा मैले बाको मुहार देखें
बाको मुहारमा पशुपतिनाथ देखें ।
हुन पनि,
एउटा भोला अर्को भोलासँग फरक
कसरी हुन सक्थ्यो र?
मेरा बा भोला, मेरा बा पशुपतिनाथ ||

स्मृति

स्मृति:

म सानो हुँदा जब म ढिला सम्म सुत्ने गर्थें, मेरो बुवा Bhola मलाई कहिलेकाहिँ उठाउन आउनु हुन्थ्यो | उहाँ मलाई उठाउन मेरो समीप पनि नआई अथवा भनौँ मलाई छुदै-नछोई पर बाट नै एउटा संस्कृतको श्लोक गाउनु हुन्थ्यो |

"शुद्धोसि बुद्धोसि निरँजनोऽसि
सँसारमाया परिवर्जितोऽसि
सँसारस्वप्नँ त्यज मोहनिद्राँ
मँदालसोल्लपमुवाच पुत्रम्।"

यो पुरै गाउँदा सम्म पनि म उठिन भने 'बाबु उठ' भनेर कोठाबाट निस्किनु हुन्थ्यो | नउठे पनि म बुवाले गाउनु भएको सुनेर निदाएझैँ नाटक गरी पल्टी रहन्थें |  बुवा मलाई उठाउन आइरहनु भयो, म निदाएझैँ श्लोकमा मस्त हुँदै गएँ | अनायसै, यो मेरो मानसपटलमा बस्न सफल भयो | यो श्लोकको प्रथम अनुच्छेद मलाई कण्ठस्त हुन पुग्यो |

बिस्तारै म ठूलो हुँदै गएँ | चाँडो उठ्न पनि थालेँ र नउठे पनि बुवाले मलाई उठाउन छोड्नु भयो | हुर्केको छोरोलाई उठ भन्न कति जानु? कुरा सहि पनि हो | अचेल, भान्जा-भान्जीहरु ढिला सम्म सुतिरहंदा अनि मैले उठाउन पर्दा मेरो दिमागमा पनि यहि श्लोक आउन थालेको छ | म पनि उनीहरुलाई उठाउन यहि श्लोक गाउँदो रहेछु |

गाउँदै/बजाउंदै गर्दा पो झसङ्ग भएँ कि मलाई त यसको मतलब नै थाहा छैन | यो श्लोक कहाँ कुन किताबमा छ पनि हेक्का छैन | कौतुहल हुँदै खोज्ने क्रममा थाहा भयो कि मार्कण्य पुराणमा मदलासा उपदेश छ जहाँ मदलासा भन्ने रानीले आफ्नो सन्तान रुँदा खेलौना जस्ता भौतिकवादी चिजहरुले सन्तान भुलाउनुको सट्टा यो गीत/लोहोरी गाउँदै सत्यको ज्ञान दिई फुल्याउनु हुन्थ्यो | त्यो जीवनको सत्यलाई गीतको रूपमा प्रस्तुत गरी उपदेश दिनुभएकाले त्यसलाई मदलासा उपदेश अथवा मदलासा पुत्र उपदेश भनेर पनि चिनियो |

पहिलो अनुच्छेदको मतलब यस्तो छ:

"शुद्धोसि बुद्धोसि निरँजनोऽसि
सँसारमाया परिवर्जितोऽसि
सँसारस्वप्नँ त्यज मोहनिद्राँ
मँदालसोल्लपमुवाच पुत्रम्।"

Madalasa says to her crying son:
“You are pure, Enlightened, and spotless.
Leave the illusion of the world
and wake up from this deep slumber of delusion”

यो अनुच्छेदबाट प्रष्ट हुन्छ कि मेरो बुवाले पनि मलाई, "तिमी पवित्र छौ, निश्चल, निष्पाप छौ | संसारको मायामा नपर, उठ! संसारिक माया र भ्रमलाई त्याग, यो निद्रालाई त्याग |" भन्दै उपदेश दिनु भएको रहेछ |

अस्तु|

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...