Friday, June 29, 2018

रोशनलाई चिठ्ठी


प्यारो रोशन,
मुटु भरिको माया ||



पाँच वर्ष अघि मात्र मैले तिमीलाई यसरी चिठ्ठी लेख्छु भनेर भनेको भए सायद म आफैँ पत्याउँदिन थिएँ | तर आज मैले तिमीलाई चिठ्ठी नलेखी बस्न सकिन | साथीको साथी भन्दा भन्दै  आफ्नै मनमिल्ने साथी कति खेर भयौ, त्यो सोच्न जरुरी छैन किनभने तिमीलाई आफ्नो भित्री मनको कुनामा पाउनु मेरो लागि सौभाग्यको कुरा हो | तिमी, तिमी भएकोमा धन्यवाद|

आशिषसँग भेट्दा, तिमी र अंकित सधैँ साथै भेटिने भएकाले तिमीहरुसँग पनि मित्रता प्रगाढ बन्दै गयो | तिमीसँग भन्दा अझ अंकितसँग बढी भेटघाट र घुलमिल भएकाले तिमीसँग भन्दा बढी अंकितसँग लगाव थियो |  कपाल लामो पालेको, निधारमा धेरै जसो रुमाल बाँधेको अनि त्यति धेरै नबोल्ने तिमीलाई हेर्दा तिमीसँग मेरो कुरा मिल्दैन कि जस्तो लाग्थ्यो सुरुसुरुमा | फाट्टफुट्ट भेटघाटमा गहिरो मित्रता त भएको थिएन; मित्रताले गहिरो रूप त त्यति बेला लियो जब तिमी र म अन्नपुर्ण आधार शिविर गयौं | आशिष अनि अंकित दुवै नजाने भएपछी म, तिमी र तिम्रा अफिसका सहपाठीहरुसँग घुम्न जान हिच्किचाएको थिएँ | त्यतिका दिन राम्रो चिनजान नभएका मान्छे सँग कसरी जानु भनी मनमा निकै दुविधा थियो | म बरु दोस्रो चोटी आशिष श्रेष्ठ र उसका साथीहरुसँग गोसाइँकुण्ड जान तम्सिएको थिएँ | जब मैले केहि अस्पष्टता जाहेर गरी अन्नपुर्ण आधार शिविर नजाने जस्तो कुरा गरेको थिएँ, मलाई अझै याद छ, तिमीले 'Damn it Bhaskar! you are going with us' भनेको | सायद मलाई पनि आश्वाशन मिलेको थियो तिमीले त्यति भनेपछी | म तिमीसँग जान तयार भएँ |

कलंकीमा भेटे देखिन् यात्रा भरी तिमीले जसरी मलाई माया र सद्भाव देखायौ त्यो नै मेरो लागि अमुर्त साथीत्व भयो, प्रेमभाव भयो | भारतीय रास्ट्रपति मोदीले नाकाबन्दी गरेको बेला घुम्न निस्केका हामी, कलंकी देखि झण्डै पोखरा सम्म नै गाडीमा उभिएर पुगेका थियौं | सिट खाली भएपछी मलाई बस भनेर आफु उभिई राखेको, उल्लेरीको उकालोमा आफुले बोकेको ट्रेक्किंग लौरो मलाई दिई, 'तिमीलाई गाह्रो भयो जस्तो छ, म यत्तिकै हिड्न सक्छु, तिमी यो लौरो टेकेर हिंड |' भनी भनेको, घोरेपानीमा किनेको ठूलो स्याउ मैले कसैलाई नबाँढी खाएको थिएँ तर तिमीले भने एउटा स्याऊ पनि पहिला मलाई टोक्न दिई अनि मात्र आफुले खाएका थियौ | मप्रति प्रेमभाव/दया प्रदर्शन गरेको यस्ता धेरै उदाहरण छन् | यात्रा भरी मैले तिमीलाई नजिकै बाट चिन्ने मौका पाएँ, जान्ने मौका पाएँ र तिमी भित्रको निश्चलताले आफुँ छताछुल्ल हुन पाएँ | अन्नपुर्ण आधार शिविर नपुग्दै तिमीलाई मेरो मनले असल मित्रको रूपमा स्वीकारी सकेको थियो | तिमी common friend बाट  proper friend भैसकेको थियौ | अन्नपुर्ण पछी, चम्पादेवीमा क्याम्पिंग, कालिन्चोक, सुकुटेमा राफ्टिंग,नगरकोट, तिलिचो गरी अनेक ठाउँ हामी सगसंगै यात्रा गरी सक्यौं | विशेष कारणले म तिमीसँग सगरमाथा आधार शिविर जान सकिन, यसको पछुतो मलाई आजपनि छ |

यो भयो विगतका कुरा, अब लागौं वर्तमान तर्फ | सर्वप्रथम, तिमीलाई बधाई अनि शुभकामना, तिमी अस्ट्रेलियामा मास्टर्स गर्न जाने भएका छौ | तिम्रो प्रगतिको कामना गर्दै उताको बसाई सफल र मङ्गल दुवै होस् भन्ने चाहन्छु | आफ्नो देश छोडेर विदेशमा गई पढ्न र काम गर्न पक्कै सहज नहोला, तर तिमी निडर, साहसी र कर्मनिष्ठ मानिस हौ र आइपरेका बाधाहरूलाई तिमीले आफ्नो बुद्धिविवेकले पन्छाउँदै आफ्नो गन्तव्यमा पुगी छोड्छौ भन्ने कुरामा दुई मत छैन | तिमीलाई चिने देखि आजसम्म मैले तिम्रो एउटा पनि अवगुण भेटेको छैन  र यो सिलसिला कायम रहोस् | तिमी अस्ट्रेलियामा आफ्नो उद्देश्य पूरा गर्नु, सकेसम्म नेपाल फर्किनु | अब्बल भएर देशमा आफ्नो अब्बलता सदुपयोग गर्नु, स्वदेशलाई पनि सम्बृद्ध पार्ने सपना देख्नु | आफ्नी आमालाई, देशलाई नभुल्नु र म जस्ता साथीभाई लाई पनि मनमै राख्नु | यी त मेरा इच्छा, भित्री मनोकांक्षा र स्वार्थीपना बोलेका हुन् | यसो सोच्छु, तिमी बिनाको मेरा ट्रेक्किंग कति खल्ला होलान्, बुधबार फुटसल पछी भेट्ने चियापसल कति खाली लाग्ला, शनिबार र आइतबार कति निरस लाग्लान्, थिएटरमा लाग्ने फिलिमहरु कति दिक्दार लाग्लान् र अनायासै रातमा पागलजसरी गर्ने karaoke night कति lifeless लाग्लान् |  त्यसैले लाग्छ तिमी विदेशमै नहराए हुन्थ्यो | तर त्यसो भन्न कहाँ मिल्यो र? जिन्दगी तिम्रो, दुख तिम्रो, भोगाई नितान्त तिम्रो अनि तिमीलाई यसो गर र उसो गर भन्न हामीले कहाँ मिल्यो र? तिमीलाई जे सजिलो हुन्छ त्यहि गर्नु | मेरो साथ सदैव तिमीलाई छ | माया सदैव छ | बस एउटा कुरा चाहिँ तिमीले ख्याल गर्नु; तिमी सहजै कसैलाई 'नाइँ' भन्न सक्दैनौ | विदेशमा कसैले गलत फाईदा उठाउलान्, तिमी नचाहिने कुरालाई अस्विकार गरिदिनु | नाइँ भनिदिनु | सबैलाई रिझाउनु पर्छ भन्ने छैन | बस त्यति कुरा गर्यौ भने तिम्रो चिन्ता लिनुपर्दैन हामीले यहाँ | अरुकुरा तिमीले गर्छौ भन्नेमा म विश्वस्त छु |

तिमीसँगको गहिरो दोस्ती भएको लगभग ३ वर्षे यात्रामा निकै कुरा एकसाथ गरियो | सुख, दुखका सायद हरेक पाटो केलाईयो | तिम्रो मनमा मेरोलागि के स्थान छ म भन्न सक्दिन तर तिमी मेरा लागि असल मित्र मात्र नभई ( म भन्दा कान्छो भए पनि) एक असल दाजु जस्तो पनि छौ किनभने तिमीले मलाई आफ्नो भाई जस्तै माया गरेको छौ | यो कुरा भन्दा मलाई तिलिचोको एउटा घटनाको याद आउँछ | मुस्कान र म अर्कै बाटो लागेर २ घण्टा हराएर तिमीहरु भएको ठाउँमा आउंदै गर्दा, तिमीलाई भेटेको र तिमीले गाली गरेको सम्झना अझै ताजा छ | तिमीलाई देख्दा असाध्यै खुसी र डर एकसाथ लागेको थियो | जस्तो कि केहि गल्ती गरे पश्चात भाइले दाजुलाई भेटे जस्तै | खुसी किन लाग्यो भने, अब आफुँ सुरक्षित भैयो भन्ने कुरा मनमा आएको थियो | डर किन लाग्यो भने अब तिमीले हामीलाई गाली गर्छौ भन्ने ठानेर | नभन्दै त्यस्तै भयो, तिमी यात्राको क्रममा दुईवटा चस्मा हराएकाले चस्मा खोज्दै आउँदा हामीसंग जम्काभेट हुनु र सोझै हामीमाथि खनिनु मलाई निकै रमाइलो लाग्यो | आँखा भरिएर आएका थिए मेरा | "तिमीहरु जान्ने भएर नचाइने बाटो गयौ होइन? हिरो भएर जुनपायो त्यहि बाटो कसले जानु भन्यो तिमीहरुलाई" भनेर तिमीले गाली गर्दा कस्सम कस्तो खुसी लागेको थियो | अब त्यसरी यात्राको क्रममा गल्ती गर्दा, कसले गाली गर्ला रोशन मलाई? तिमी त उता अस्ट्रेलियामा हुनेछौ | खैर, समय भन्दा बलवान कोहि छैन, जसरी समयले हामीलाई साथी बनायो त्यसरी नै जिन्दगीको अनन्त यात्राभर समयले नै हामीलाई र हाम्रो मित्रतालाई बाँधी रहनेछ भन्नेमा म आशावादी छु |

तिमी, म, श्रृष्टी, अंकित अनि आशिष मिली hi5 बनेका थियौं र आशा छ यो मित्रता आजीवन कायम रहोस् | आई विल मिस यु रोशन; सो विल hi5. अझ धेरै ठाउँ सँगै घुम्ने, धेरै मुविज सँगै हेर्ने, धेरै हाँसो सँगै हाँस्ने, धेरै रुवाई सँगै रुने अनि धेरै जन्मदिन सँगै मनाउने सपना बोकी तिमीलाई अस्ट्रेलियामा सफलता मिलोस् भन्ने कामना गर्दै अहिलेलाई यो चिठ्ठी यहिं टुंगाउन चाहन्छु | र तिमी चाँडै नै अस्ट्रेलियाबाट 'ओइ ढकाल' भनेर परदेखि हाँस्दै आएको देख्न र सुन्न पाउँ | बस्! मान्छेलाई खुसी हुन धेरै केहि चाहिंदैन | नारायण गोपालले गाएको गीत जस्तै, 'एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा ...'


तिम्रो उही साथी,
ढकाल | 

some clips of us together, along with hi5...

 



स्मृति २

बाल्यकालको तस्वीर, मेरो बा, उहाँको कलिलो छोरो अनि पछाडी साइकलमा सवार कान्छो दाहाल, त्यो पहेंलो तोरीबारीमा कति खुलेका । त्यो भन्दा नि ख...