Thursday, March 17, 2016

आलु

घरमा ठुलै हाँसो थियो | बिहान म हिंड्दा सम्म त कोहि आउने कुरा थिएन | दिउसो त घरमा रमाइलो माहोल भैसकेछ | भित्र छिरें | मामाघरबाट हजुरआमा र माइजु आउनु भएको रहेछ | नमस्ते गरें, सन्चो बिसन्चो के कस्तो छ भनेर जानी सकेर म फ्रेस हुन बाथरूम छिरें |
फ्रेस भएर निस्केपछि, हजुरआमाले मेरो बिहेको कुरा झिक्नु भयो | ‘बाबु, अब नातिनीबुहारी भित्र्याउने इच्छा छ |’ आलु ताछ्दै गर्नु भएको आमा मलाई हेरेर मुसुक्क हास्नु भयो | ‘हामी यसरी आएको बेला, नातिनीबुहारीले बनाएको खाजा खान पाए कति आनन्द आउँथ्यो | ‘ हजुरआमा भन्दै हुनुन्थ्यो |
‘हो, अब त हाम्रो नानीलाई नि साथी चाहियो नि |’ माइजुले कुरा थप्नु भयो |
नलजाउँ भन्दा भन्दै पनि हल्का तातो भयो मेरो गाला | लजालु मुस्कानले ओठ फराकिलो भयो |
‘भर्खर त २५ वर्षको भएँ | राम्रो जागिर अनि पढाई पूरा गरेपछी त हरेक इच्छा पूरा भैहाल्छ नि हजुरआमा |’ मैले भने | ‘अब २-३ बर्ष पर्खिनु न |’
‘आफ्नो खुट्टामा राम्ररी नउभिई त के कर गर्नु र आमै? अहिले पढोस्, माथिल्लो तहमा पुगोस् अनि चाहिँ सोच्नु पर्छ |’ आमाले हजुरआमालाई भन्नु भयो | मलाई आमाको त्यो बानी सार्है मन पर्थ्यो | अरुबेला पनि यस्तो अवस्थाबाट मलाई निकै पटक पार गराईसक्नु भएको थियो उहाँले | मैले आमालाई आँखाबाट नै धन्यवाद दिएँ |
उहाँले बुझ्नु भयो; मुस्काउनु भयो |
‘अचेल त केटीको खडेरी नै छ बाबै | झन् बाहुनी केटी त भेट्नै गाह्रो | अन्तरजातीय बिहे हुन थाले धेरै, त्यसमाथि लभ नगर्ने केटा-केटी भेट्नै गाह्रो | अहिले देखि नै खोजीरहे बरु बिहे गर्ने बेला सम्म ठिक्क भेटिन्छ नत्र ढिला हुन्छ |’ हजुरआमाले देखेको कुरा व्यक्त गर्नु भयो |
मैले केहि भन्नु अघि नै माइजुले थप्नु भयो ‘हो, मेरो भाईको बिहे गर्न त्यस्तै भयो | केटी खोजेको १.५ बर्ष पछी बल्ल बल्ल बिहे भयो | ख्याल गाह्रो भो!! कि त चाँडै खोज्नु पर्छ कि त भान्जा आफैले खोजे राम्रो |’
‘कि तिमीले नि लभ गर्या छौ बाबु?’ हजुरआमाले फ्याट्टै सोध्नु भयो |
आमा मलाई हेरेर हास्नु भयो | बेला-बेला लुकी लुकी कुरा गरेको अनि राती खास-खुस फोन गरेको ४-५ पटक भेटी सक्नु भएको थियो उहाँले | को हो भनेर एक चोटि सोध्नु भएकै पनि हो | साथी भनेर टारी दिएको थिएँ | आमा त पर्नु भयो, के लुक्थ्यो उहाँ बाट कुरा? ढाँटे पनि, हाउभाउले पत्तो लाइसक्नु भएको थियो | त्यसैले
अहिले मलाई हेरेर के जवाफ दिन्छ भनेर केहि नबोली हाँसी मात्र रहनु भयो |
‘त्यस्तो केहि छैन हजुरआमा’ मैले आँखा नजुधाई भनें | आमा तिर यसो आँखा सन्काएँ | आलु ताछी, काटी सकेर आलु पखाल्दै उहाँले भन्नु भयो ‘अहिले सम्म त त्यस्तो केहि छैन भन्छ | रहेछ भने नि जातकै रोज्या भए झन् बेस हुन्थ्यो |’ आमाले मेरो कुरा बुझेर आफ्नो कुरा अघि सार्नु भयो | म मुस्काए; एक त उहाँले हजुरआमाको
प्रश्न बाट मलाई बचाउनु भयो | अर्को, उहाँले रोजेको केटी स्वीकार्ने जस्तो कुरा गर्नु भयो | आखिर ऊ पनि त बाहुनी नै थिई | अर्कै जात भएको भए फसाद हुने रहेछ |
‘जात भनेर नि नहुने रहेछ, तल्लो घरे कृष्णको जेठी बुहारी कुजातकि थिई | पहिले हेप्नु हेपे त्यसलाई, कान्छी बुहारी जातकै ल्याए | अहिले कान्छीले देखी नसहेर त्यहि जेठीसंग बस्या छन् | उसैले मान-सम्मान, माया गर्छे रे | आखिर सबै भन्दा ठूलो कुरो माया नै रहेछ |’ माइजुले भन्दै जानु भयो | ‘मर्ने बेलामा दुई छाक खान र हसिंलो
मनले पानी दिने मान्छे भए त्यहि लाख हुने रहेछ | सम्पति अनि आफ्नै जातको बुहारी भएर नि आखिर के पाए त तिनले? आखिरीमा त्यहि ‘कुजात’ भगवान भई |’ आमाले माइजुको कुरा सुनेर च्व:च्व गर्नु भयो |
‘के जमाना आयो यस्तो खै’ भन्दै हजुरआमाले खुईइय: सुस्केरा हाल्नु भयो | ‘तिम्रो राम्रो होस् बाबै, हाम्री छोरीले सुख पाओस् |’
त्यो कुरालाई मोड्दै मैले भने, ‘हजुरआमाले नातिनीबुहारीले पकाएको खाने इच्छा गर्नु भएको होइन? त्यो त पछी पूरा होला, अहिले नातीले पकाएको चाख्नु है त |’ यति भनेर चुलोमा कर्हाई बसालें | आमाले पखाल्नु भएको आलु पकाउन ठिक्क भएँ |
‘हामी छदाँ-छदैं कहाँ तिमीले पकाउने बाबु? छोरो मान्छे भएर |’ हजुरआमा कड्किनु भयो | माइजुले पनि हो मा हो मिलाउनु भयो | ‘माइजु आएको बेला कहाँ भान्जाले पकाउने कुरा गर्नु भएको बाबु ? अरुले के भन्लान्? छोड्नुस् म पकाउँछु |
‘पकाओस् न त भाउजु, कति काम गर्नु हुन्छ? आज भानिजले पकाएको चाख्नुस | उसलाई बेला-बेला पकाउने जाँगर चल्छ |’ आमाले यसो भन्दा मैले तेल तताउन हाली सकेको थिएँ | मैले आमाको कुरालाई साथ दिएँ | माइजु अफ्ठ्यारो मानेर बस्नु भयो |
तेल तातेर मेथी र खुर्सानी फुराएँ मैले | अनि आलु झ्वाईंय बनाएँ | यो सब हजुरआमाले बडो चाख मानेर हेरी रहनु भएको थियो | भन्नुभयो ‘केटा मान्छेले पकाएको कस्तो नसुहाउने | के जाँगर चलेको हो यो नातीलाई |’ म फिस्स हाँसे |
‘नसुहाएर भयो त आमा? कहिले काहिँ गाह्रो साह्रो पर्दा, केटाले यस्तो जानी रहे घरमा कत्ति सजिलो हुन्छ | हजुरको छोरालाई त पानी तताउन पनि आउंदैन | म बिरामी भएको बेला कति गाह्रो हुन्छ |’ माइजुले अमिलो मन लगाएर भन्नु भयो |
‘ हो त, मलाई नि छोरोले पकाई हाल्छ भनेर ढुक्क छ | त्यसैले त एक-दुई दिन माइत बस्दा, कतै जाँदा, ढिलो हुँदा अनि बिरामी पर्दा पनि घरको चिन्ता लिनु पर्दैन | उसले पकाउन नजानुन्जेल मलाई कस्तो गाह्रो थियो |’ आमाले सन्तोकको श्वास फेर्दै भन्नु भयो | ‘अहिले आनन्द छ |’
‘त्यसो भनेर हुन्छ? आफ्ना सजिलाको लागी छोरा मान्छे लाई दुख दिन हुन्छ? उनीहरु त पढ्ने, जागिर खाने पो हो त | घरको काम त छोरी मान्छेले गर्ने हो |’ हजुरआमाले अलि कडा श्वर गर्नुभयो |
यतिन्जेल मैले नून बेसार हालेर आलु बिस्तारै चलाउँदै थिएँ | माइजु चुप रहनु भयो | आमा केहि बोल्न खोज्दै हुनुहुन्थ्यो मैले बीचमै काटें, ‘त्यसो होइन नि हजुरआमा, पहिले पो छोरी मान्छेलाई पढाउँदैन थिए | त्यहि भएर छोरी मान्छे कुटो-कुच्चो गर्न बाध्य थिए |’ मैले आलुमा जीराको धूलो छर्दै भने | ‘अहिले त छोरा-छोरी बराबरी
छन् | पढ्ने लेख्ने, जागिर खान जाने, सबै संगै गर्छन् | दुवै थाकेर घर आउँदा अब त छोराले पनि बुझेर छोरीमान्छेलाई घर-धन्दामा सघाउनु जरुरी छ |’
एकफेर आलु मजाले चलाएर माथि बाट मैले प्लेटले छोपिदिएं अनि आगो अलि सानो पारें |
माइजु अनि आमाले मेरो कुरा सुनेर मनमनै स्याबास भने जस्तै भान भयो मलाई | म गमक्क परें | उता हजुरआमाले केहि सोचे जस्तो गर्नु भयो र भन्नु भयो ‘नातिनीबुहारीले सुख पाउने भई उसो भए |’
सबै जना हास्यौं |
एकछिन पछी आलु पाकेको सरर बास्ना आयो | मैले पुन: एक चोटी आलुलाई ओल्टाई पल्टाई पारें र ग्यास चुलो बन्द गरिदिएँ |
आमाले सबैलाई भाग हाल्नु भयो अनि सबै भन्दा पहिले हजुरआमालाई दिनु भयो | हजुरआमाले तात्तातो आलु फु: गरेर खानु भयो | मैले उहाँलाई ठुला आँखाले हेरी-रहें |
‘भोली घर फर्कने बेलामा पनि यस्तै मिठो आलु पकाउँछौ नाती?’ उहाँले हासेर सोध्नु भयो |
‘फेरी छोरा मान्छेलाई नै पकाउन लगाउने हजुरआमा?’ मैले हाँसेर सोधें |
सबै जना खुलेर हास्नु भयो |
‘लाटा!’ हजुरआमाको नजरमा थोरै ग्लानी छल्की रहेको थियो |

No comments:

Post a Comment

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...