आमा


आज तेश्रो दिन भो ऊ बाउ बनेको | खुसीको त मानौं कुनै सिमाना नै छैन | छर-छिमेक, इस्ट-मित्र, आदि सबको बधाई पाउँदा त झन् उसको छाती ढक्क फुलेको छ | मन चंगा छ | कति ठाउँमा त उसले लड्डु बाँडी सक्यो पनि | तल्ला घरे काकाले 'छोरो कि छोरी?' भनेर सोध्दा, उसले चौडा मुस्कानमा साथ 'छोरा' भन्दा काकाले दुख्ने गरी धाप मारे दिवेशलाई | लड्डु पनि दुइटा मागेरै खाए | 'छोरी भन्दा छोरा नै ठिक' भनेर काकाले भन्दा दिवेशलाई काकाको सोचाई प्रति दया लाग्यो तर प्रतिउत्तर केहि दिएन | मुस्कायो मात्रै | आज उसलाई कसैसँग बहस गर्नु छैन | नत्र भनी दिन्थ्यो कि उसलाई पहिलो सन्तानको रूपमा छोरीको इच्छा थियो | त्यो त, उसकी पत्नीले छोरा पाउने रहर गरेपछी, ऊ पनि राजी भएको थियो |
दिवेश  सम्झन्छ उसकी पत्नीसंगको कुरा |
'पहिलो सन्तान छोरा कि छोरी?' मैनाले लजाएर सोधेकी थिई |
'पहिलो सन्तान त छोरी नै हुन पर्छ,'  उसले भनेको थियो |
'नाइँ, छोरा नै हुन पर्छ | हाम्रो एक छोरा एक छोरीको सपना छ | पहिले छोरा नै भए ढुक्क हुन्छ | चाडै हुर्कन्छ, जिम्मेवार नि चाडै बन्छ |' मैना भन्दै गई|
'अनि पछी उसकी बहिनी आउँछे | अहिले काल-बेला यस्तो छ, दाजुको माया, आड अनि सुरक्षा पाउँछे छोरीले पनि | म घरकी जेठी छोरी भएर मलाई अहिले सम्म नि मेरो दाजु भए हुने जस्तो लाग्छ |' केही गम्भीर हुँदै उसले तर्क गर्छे |
'अर्काको दाजुले बहिनीलाई गरेको मायाँ देखेर नि मन कटक्क हुन्छ | नाइँ बा, म त मेरो छोरीलाई त्यस्तो हुन दिन्न |' उसको मन अमिलो हुन्छ |
'तिम्रो भाई छ, त्यो देखेर नि त अरुले तिम्रो इर्स्या गर्दा हुन् नि त्यो त', दिवेश ले मुस्काएर भनेको थियो |
'नगरेर भो त? त्यत्ति प्यारो भाई छ मेरो | आफ्नै छोरोझैं लाग्छ मलाई ऊ | ठूलो भैसक्यो, त्यै पनि काखैमा लिएर म्वाई खाइ रहुँ जस्तो छ |' ऊ भावनामा डुब्दै थिई | 'काले मोरो! अहिले छि:छि गर्छ, पहिला मैले माया नगरी हुन्नथ्यो | छोरीको जात नि कस्तो, त्यस्तो प्यारो भाईलाई छोडेर पराईको घर आउन पर्ने |' उसको हँसिलो मुहारमा साँझ पर्दै गयो |
'म पनि त तिमीलाई कत्ति माया... ' ऊ आफ्नी प्यारीलाई फकाउन खोज्दै थियो, मैनाले बिचैमा काटी | 'मलाई त्यहि भएर छोरी होइन छोरा चाहिन्छ पहिले | छोरी पहिला जन्मी भने बिहे पनि चाँडै हुन्छ उसको | घर शून्य हुन्छ | छोरा पहिला भयो भने छोराको बिहे हुन्छ, परिवार बढ्छ अनि त्यसपछी छोरीको बिहे गर्न पो स्वाद | बुहारीलाई हेरेर भए नि चित्त बुझाउन त हुन्छ |'
मैनाको कुरा नि उसलाई सहि लाग्यो | आफुलाई छोरी चाहिए पनि, उसकी प्रियसीको छोरो पाउने रहरमा कुनै लैंगिक भेदभाव थिएन | ऊ त छोरीकै हितमा बोल्दै थिई | छोरीसँग लामो समय बिताउने कुरा गर्दै थिई | यो कुरा दिवेशलाई पनि मन परेको थियो |
'तर तिमीलाई लाग्दैन छोरी पहिले जन्मी भने ऊ आत्मनिर्भर हुन सिक्छे, आफैँ लड्न र आफ्नो सुरक्षा गर्न सिक्छे | ऊ कसैमा भर नपर्ने हुन्छे, होइन?' दिवेश ले जानी-जानी मैनाको कुरामा अहिले नै हो मा हो मिलाउन खोजेन |
'त्यो त ऊ जसरि नि हुन्छे | हो दाजुको आड पाउछे तर ऊ कमजोर हुन्छे भनेको होइन |' मैना हाँसी | 'दाजु भए दाजुसँग लाडिन्छे, जिस्किन्छे, अझ बढी माया पाउँछे पो भनेको त |'
'त्यो त हो, मलाई नि लाग्छ मेरी बहिनी भएकी भए म कत्ति माया गर्थें होला उसलाई भनेर |' अब दिवेश  घोरियो |
'ल त्यसो भए पहिला छोरा अनि छोरी है त?' मैनाको मुहारमा फेरी घाम उदायो |
'हुन्छ हाम्रो इच्छा त्यहि भो | अब भगवानको मर्जी  |' दिवेश  नि मख्ख पर्दै मैनालाई अँगालोमा बेर्यो | मैना लाजले भुतुक्क हुँदै मनमनै इश्वरलाई ढोग्दी भई |
साह्रै प्रसन्न मुद्रामा दिवेश  घर पुग्यो | मैना छोरोलाई स्तनपान गराउंदै थिई, एकोहोरो त्यो बालकको मुहार हेर्दै | त्यो बालकले उसको छाती चुस्दा, त्यो दुखाई अब दुखाई होइन, उसलाई त्यो प्रिय भएको थियो अनि आनन्दमा परिणत भएको थियो| छोराका  कोमल अंगहरु मैनालाई फूलका पत्र भन्दा नि नरम अनि सुन्दर लाग्न थाले  | काखमा टुपुक्क भएको त्यो शरीर उसलाई शरीर नभई आफ्नै मुटु सम्झन्थी | त्यो बालकले लामो श्वास लिँदा, शान्तसँग छाती उठ्दा र बस्दा मैनालाई यति आनन्द आउँथ्यो कि उसले त्यो स्वर्गीय सागरमा कति डुबुल्की मारी उसैलाई हेक्का छैन | ठीक त्यसै बखत दिवेश  घर पुग्यो | अनि त्यो सबै ऊ नियाली रह्यो | आज उसका हरेक सपना पूरा भएका छन्, ठीक उसकै अगाडि | ऊ पनि मग्न भएर त्यो आनन्दको सागरमा डुबी रह्यो |
'के हेरेको त्यसरी?', मैनाले लाजको पोको बिस्तारै फुकाउँदै सोधी | त्यस बखत उसले किन सरमको ओढ्ने ओढी, उसैलाई थाहा भएन |
'थाहा छ मैना, जब मैले तिमीलाई पहिलो चोटि देखेँ तब तिमी जस्तो सुन्दर कोहि लागेन | तिमीमा बालापन थियो, हँसिली थियौ, चुलबुले थियौ | तिमीसंग प्रित बस्नु कुनै आश्चर्यको कुरा थिएन | बिस्तारै तिमी फक्रदै गयौ, अझ सुन्दर हुँदै |' दिवेश  गम्भीर हुँदै गयो | 'समयको चक्र घुम्दै जाँदा तिमी परिपक्क भएको हेरें, तिमी चन्चले केटीबाट एउटा जिम्मेवार युवती भएको पनि मैले देखेँ | तिमी जति बद्लिन्थ्यौ उति सुन्दर हुन्थ्यौ |'
दिवेशले यसो भनि रहंदा मैनाको मुटु ढुकढुक गर्दैथ्यो | आज ऊ किन यो सब भन्दैछ ऊ अनभिज्ञ छे | तर ऊ दिवेश लाई रोक्न नि चाहन्न किनभने उसका वाणी आकाशबाट पुष्पवर्षा भएझैं रोमान्चित गराउने खालको छ | उसलाई सुनी रहुँ लागेको छ | दिवेश  आज उसलाई बिशेष आकर्षक लागेको पनि छ किनभने दिवेशको आँखाको गहिराईमा उसले अविरल माया नै माया देखेकी छ | केवल उसको लागी |
'हाम्रो बिहेको दिन जब मैले तिमीलाई दुलही भएर मेरो नजिक आउँदै गर्दा नियाँले, लाग्यो यो संसारमा तिमी जति राम्री न कोहि थियो न कोहि हुनेछ | त्यसपछीका दिनमा मैले तिमीलाई हरेक दिन अनेक रूप, रंग अनि अवतारमा देखेँ | हरेक चोटी तिमीले मलाई चोर्यौ | कयौं चोटि म तिमीमा लीन भएँ र तिमीमा हराएँ | तर तिम्रो सुन्दरता कहिले नि हराएन |' दिवेश ले यति भन्दा मैनाको गह भरिएर आयो | आज उसका खुसीका लहर उर्लिएर आएको छ, कुनै बाँधले छेक्न नसक्ने गरी | मनको कुना देखि खुसी सोहोरिएर मैनाको दुई आँखामा आएर ढिल्पिल-ढिल्पिल गर्न लागे |
'तर मैना..', दिवेश  बोल्दै गयो | 'त्यो सबै खुसीका पलहरु केहि होइन रहेछन् | संसारको सबै भन्दा खुसीको क्षण ती कुनै होइन रहेछन् |'  मैना थोरै झस्की |
'प्रिय मैना, संसारको सबै भन्दा खुसीको क्षण र सबै भन्दा राम्रो दृश्य - 'आमा'', यति भनेर दिवेश  मुस्कुरायो |
खुसीले हरेक बाँध तोड्यो | मैनाको आँखामा बाट खुसी बडा-बडा ढिका बनेर उर्लिदै बग्न थाले |

 
Pic courtesy: www.stjosephschoolaquem.net





Comments

Popular posts from this blog

Choice Is Ours To Make

भान्जा-भान्जीलाई चिठ्ठी

ऊ मरेकी छैन