Thursday, May 28, 2015

घर-घरको कहानी

यो कथा,
बिछोडको हो,
यो कथा,
मनमा बज्रेको तोडको हो,
यो कथा,
एउटा यस्तो मोडको हो,
जहाँ दुई प्रेमी
एक अर्कालाई जितेर
पनि दुनिया हार्दछन् |
यो कथा,
एउटा यस्तो जोडको हो,
जसको हिसाब बडो बेजोडको छ,
जहाँ एक प्रेमी र एक प्रेमिका
जोड (प्लस) गर्दा
उनका परिवार घट्दछन् (subtract हुन्छन्) |
यो कथाको गणित बेतोडको छ |

यो कथा,
सामान्य हिसाबले सुरु हुन्छ |
एउटा केटा हुन्छ,
एउटी केटी हुन्छे,
दुईको मन मिल्छ |
यो सामान्य हिसाब भयो |
अब हिसाब जटिल बन्छ,
दुईको मन त मिल्यो,
तर,
बाँकी केही मिल्दैन,
जात मिल्दैन,
एउटा तथाकथित्  'ठूलो' जात रे
अर्को 'सानो' |
भात मिल्दैन,
चालचलन मिल्दैन,
संस्कृति मिल्दैन,
रहन सहन मिल्दैन,
यो मिल्दैन त्यो मिल्दैन..
मात्र मन मिल्छ, मन..
त्यत्ति मिलेर हाम्रो समाजमा
बिहेको लगन मिल्दैन |
कठै!!

भनिन्छ दुई ज्यान एक हुँदा,
दुई जनाको मात्र मिलन हुन्न,
दुई परिवार एक हुन्छन्,
आफन्त बढ्छन्,
खुसी बढ्छ,
तर त्यो,
यो कथाको सपना मात्र हो,
यसका मुख्य पात्रहरुको रहर मात्र हो |
यहाँ,
अन्य कुरा आधुनिक हुन्छ,
माटोको घरको सट्टा मार्बलको घर हुन्छ,
desktop बाट laptop,
laptop बाट palmtop,
दौरासुरुवाल बाट सुट,
goldstar बाट बुट,
पिरुकाको सट्टा dining table,
लोकल ठर्रा बाट red label,
फलैंचा बाट मोटा मोटा गलैंचा,
आदि इत्यादी हरेक कुरा update हुन्छ,
तर सोच उही,
 केटी-केटाको जात मिल्नु पर्छ,
भात मिल्नु पर्छ |

किन मिल्नु पर्छ त?
"किनभने फलानोले के भन्ला?
ढिस्कानोले के भन्ला?
समाजलाई नाक कसरी देखाउने?
इज्जतको कुरा छ |"

कुन समाजको कुरा गर्छौ ए बा-आमा?
त्यहि, जसले तिम्रो घरमा पर्दा,
आफ्नो झ्यालको पर्दा लाउँछ?
कि त्यो समाजको,
जसले तिम्रो प्रगतिको आरिष गर्छ?
कि त्यो समाजको,
जो आफैँ नालीमा डुबेको हुन्छ,
तर तिमी गनाएछौ भनि हाँसो गर्छ?
समाजका मान्छे सब भेडा हुन् बा-आमा,
तिमी तिनीहरुको हूलमा मिसियौ भने,
तिमी नि भेडा बन्छौ |

जातकै कुरा गर्छौ भने,
दिनदिनै खाने तरकारी फलाउनेको जात सोध,
मिल्छ?
बिरामी भएर अस्पताल जाँदा,
जचाउनेको जात सोध,
मिल्छ?
रगतको कमीले पहेलपुर भएको बेला,
रगत दिने मान्छेको जात सोध,
मिल्छ?
तिम्रो घर बनाउने डकर्मीको जात सोध,
मिल्छ ?
जहाँ जहाँ आफ्नो कामको लागी मान्छे भेट्छौ,
ती सबको जात सोध,
मिल्छ ?
जिन्दगीको हरेक पाइलामा के तिमीलाई
तिम्रै जातको मान्छेले साथ दियो त?
नत्र जातको कुरा नगर..

माग नै गर्ने हो भने,
असल चरित्रको माग गर,
सिप, जोश, जागरको माग गर |
एउटा/एउटी असल मान्छे
मेरो/मेरी छोरी/ज्वाईं होस्
भनेर माग गर |
के जातमा अड्क्या छौ?
"मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन |"
ऊ बेला देवकोटाले भन्या कुरा,
मैले सानोमा पढ्दा,
तिमीले नै यसको मतलब बुझाएका होइनौ?
के किताबी कुरा किताबमै सिमित हुने हो त?
त्यसो हो भने,
नेपालको दुर्गति हरेक दिन समाचारमा देख्दा,
या आफैँले भोग्दा,
तिमीले नै भनेका होइनौ,
'नेपाल उंभो नलाग्ने भो|"
किताबी 'राम्रा' कुरा किताब मै सिमित हुँदा,
को चाहिँ उँभो लाग्ला र?

हे,
हरेक माता-पिता,
आफ्नै सन्तानलाई दुखी तुल्याएर
कुन समाजलाई खुसी पार्न खोज्दैछौ ?
आफ्नै सन्तानलाई 'यसो गर्यो' भनेर
कुरा त काट्ने छैन त्यो समाजले तिम्रो?
के थाहा?
नालायक समाज त हो,
तिमीलाई खसाल्न अनेक दाउ त खोज्छ |
सबलाई खुसी पार्न सकिन्न बा-आमा,
नत्र आफ्नै जीवनले आफैंलाई टोक्छ ||

Saturday, May 2, 2015

महाभूकम्प गएको रात लेखिएको हाइकु

१.
आजको रात
भुकम्पको कम्पन
के बाँचिएला ?
२.
चौ-तल्ले घर
के छ र अब भर
हाँस्यो जीवन ।।
३.
ऊ फेरी आयो
ए बचाऊ, बचाऊ
चैट जीवन ।।
४.
गयो भुकम्प
'यति' हजार मृत्यु
चल्छ जिन्दगी
५.
विदेशी मित्र,
''के छ तिम्रो खबर,
बाँची राख ल?''
६.
डरायो छोरा
'आमा-आमा' रुन्छ ऊ
लौन बचाऊ ।
७.
प्रियाको याद
भुकम्पको कम्पन
हल्लियो छाती ।।
८.
अनिदो रात
'हल्लाउँछ कि फेरी?'
मनको त्रास ।।

Thank You

I am really glad that you visited my blog. It is my small endeavor to share my writings to you with a motive to make you refreshed. I hope you enjoyed being here. I hope to see you soon. Cheers