Sunday, September 28, 2014

के रमाइलो छ र दशैं??

के रमाइलो छ र दशैं? काठमाडौँमै जन्म भयो, यहीं हुर्किएँ | न त अरुझैं गाउँ जाने भनेर रमाउन सकिन्छ | केटा-केटी रहिएन, नयाँ लुगाको आशमा दशैं कुरिन्न, चाहिएको बेला किनिएकै छ | 'चिची' खान पनि दशैं कुर्न पर्दैन; अझ आफुँ त शाकाहारी, त्यो प्रलोवनमा पर्ने कुरै भएन | बच्चा जस्तो चंगा उडाउने, लंगुर्बुर्जा खेल्ने चलन अहिले त्यति छैन | अहिलेका बच्चा, कम्प्युटर र फोनमै ब्यस्त | तास खेल्न नि दशैं तिहार कुर्न परेन | मान्छे भेला भयो कि तास खेलेर 'टाइम पास' गरिन्छ |
अहिलेका जस्तो बस्ति कहाँ थियो र ऊ बेला, खुल्ला ठाउँमा लिंगे पिंग हाल्थे, अहिले त पिंग कहाँ हाल्या छन् भन्दा पनि, खुल्ला ठाउँ कहाँ छ खोज्नु पर्ने | टीकाको दिन, टन्न दक्षिणा कमाइने प्रलोभनमा भए पनि मामाघर कहिले पुगौं जस्तो हुन्थ्यो | अहिले त्यो हर्ष पनि रहेन | फेरी अचेल त टीका थापेर ठूला-बडाको आशिर्वाद भन्दा पनि बढी 'व्यङ्ग्य' पाईन्छ | मोटो मानिस हो भने, 'ल चाडैं जिउ घटोस्' भन्ने आशिष, आशिष नभई व्यंग्य हो | त्यस्तै पातलो मानिस छ भने त्यै किसिमको आशिष आउँछ | कपाल/दारी लामो भए त्यसमा व्यंग्य, कपाल झरेको भए त्यसमा व्यंग्य, काले भएको छ भने त्यसमा व्यंग्य, जता त्यतै व्यंग्य |
पढाई, जागिर, तलब, पेशा, आदि सबको एकैचोटी बेलिबिस्तार लाउदै हिड्नु पर्ने जता-ततै | चाडवाडको बेला वर्ष भरीको दुख भुलेर रम्न खोज्ने हो भने दशैं त्यो चाड होइन | पढाई, जागिर, तलब, पेशा, आदिको मार-को घाउँ फेरी आलो भइदिन्छ | त्यसैले टीका लगाउनु अगाडी, को मान्छेलाई के उत्तर दिने भनेर पूर्व तयारी आवश्यक भइसक्यो | आशिर्वाद होइन, आलोचना खेप्न गएको जस्तो भान हुने |
२४-२५ वर्षको होऊ, बिहेको कुराले जबरजस्ती पेल्ने | रमाइलो एक ठाउँमा छ, तर १-२ पटकको जोकले हसाउन सक्छ, तर त्यो अत्ति भए मगजलाई भारी पर्छ | विवाह आफुँ तयार भए पछी गर्ने हो, अरु तयार भएपछी होइन | जिवन जिउने आफुले हो, अरुले त पासो बाँधी दिएर सित्तैको भोज खाएर हिड्छन् | 'लौ भोग दुख एक्लै' भनेझैं गरी | आफुँ तयार भएर गरेको विहेको बन्धनलाई 'लगन-गाँठो' भनिन्छ, तयार नभई गरेको लाई 'गल-पासो' | यदि रमाइलोको लागि विवाह प्रसङ्ग झिक्या हो भने माफ गर्नु होला, बिहेको जोक पाच्य छैन |
धेरै बुढा भएका हजुरआमा-हजुरबुवाहरु बाट राम्रा आशिक अझै आउन छोडेको छैन | 'बाबु-नानि तिमी जे गर्दै छौ, अझ उन्नति होस् प्रगति होस्, धेरै असल मान्छे बनेस्' भन्ने जस्ता आशिषले अझै मन जित्छन् | 'राम्रो जोइ/पोइ, गर्लफ्रेन/ब्वाईफ्रेन पाएस, यति कमाएस्, उति कमाएस्' भनेर दिइने अहिलेको आधुनिक आशिष 'रमाइलोको लागि' दिइए पनि त्यस्तो आशिष लिन गएको भने होइन | आशिषमा वजन होस् अनि पो निधार निहुराउदै जान फेरी प्रेरणा मिल्छ | ठूला-प्रति केही आदर मान सम्मान भएर नै आशिष थाप्न गएका हौं | रमाइलोको नाममा 'टीका' जस्तो दिनको महत्व नघटोस् |
दशैंमा मौसम रमाइलो हुन्छ, बच्चा बेला जस्तो रमाइलो नहुने अनि आशिष पनि 'वाइयात' आउने क्रम बढ्न थाल्यो भने, अर्को पालि देखि हाम्रो मनोरम देश १५ दिन जति लाई बिन्दास घुम्न जाँदा धेरै फाईदा देख्छु म | दशैंको खर्चले मस्त घुम्न पुग्छ, दशैंको बिदा पनि सही उपयोग हुन्छ | ठाउँमा-ठाउँमा मनाइने दशैं मैले देखेको/भोगेको दशैं भन्दा पृथक छ कि? देश भ्रमण गरी अरुको दशैं देखेर फेरी दशैं सँग माया बस्छ कि? त्यो सोच्न योग्य विषय हो |
(यो लेख, fiction होइन.. न त, म आफैंले भोगेको सत्य कहानी हो.. तर यो कसैको कहानी हो, सत्य कहानी.. तपाईंसँग मिल्न गएमा कृपया आफ्नो त्रुटी सच्याउन अनुरोध गर्दछु | धन्यवाद )
(दशैं प्रतिको दृष्टिकोण यो मेरो आफ्नो उमेरवर्गका साथीहरुसँग बढी मिल्न सक्छ, दशैं अरु उमेर वर्गका मानिसलाई भिन्न तरिकाले दशा लाग्न सक्ला/नसक्ला यो उहाँहरुको विचार हो |)
हामी सबैको दशैं सुभ रहोस्.. बडा दशैंको हार्दिक मंगलमय शुभकामना 

No comments:

Post a Comment

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...