Tuesday, February 18, 2014

शब्द

म खोज्दैछु,
शब्दैशब्द बीच,
शब्दलाई नै,
जुन शब्दले मेरो वर्णन गरोस्
जसले मलाई कुनै धरातलमा
उभ्याएको होस् |

सायद,
म खोज्दैछु यस्तो शब्द,
जसले मेरो मनोभाव चित्रण गरेको होस् |
अनि,
खोज्दा-खोज्दै म पाउँछु,
एउटा शब्द,
'सपना',
तर लाग्छ,
सपना एक बादलको टुक्रा हो,
जो धेरै हलुका हुँदा हावासंगै बग्छ,
र धेरै गह्रौ हुँदा पानी बनी बर्सिदिन्छ |

त्यसैले म,
सपनामा नअल्झी,
बनाउँछु आफ्नो खोज तीव्र ;
अनि,
निकै कसरत पछी म पाउँछु,
अर्को शब्द,
'खुसी'
तर फेरी लाग्छ,
खुसी त फगत एउटा समुद्री छालझैं हो,
जो एक बखत आफुँ संग हुन्छ
अनि ठिक अर्को बखत टाढा...

खुसीलाई पनि पन्छाई अर्को शब्द हेर्दा,
म पाउँछु,
'आशा'
जो आफ्नो हात फैलाउँदै छ,
अनि भन्दै छ,
'मलाई अङ्गाल, म सर्वशक्तिमान छु '
अतः म घोत्लान बाध्य हुन्छु |
निकैबेर सोचमग्न भएपछी,
म 'निराश' हुँदै अर्को शब्द खोज्न आतुर हुन्छु...

संयोगबस्,
म ठोकिन्छु,
'बोध' -सँग
र छर्लंग हुन पुग्दछु,
कि,
म शब्दलाई होइन,
शब्दहरु मलाई खोजी रहेछन्
तर म,
एक पछी अर्को गर्दै,
शब्दहरु संग भाग्दै छु |
हरेक शब्दमा नैराश्यता देखेर,
म 'सपना', 'खुसी' र 'आशा' लाई लत्याउदै
कुन धरातलमा उभिन खोज्दै थिएँ?

बस्,
यहि  बुझेर म अर्को शब्द नियाल्दछु
र पाउँछु,
'मुस्कान' ||






3 comments:

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...