Monday, May 7, 2012

मदिरा

सानै छदाँ भन्नु हुन्थ्यो बाले
बाबु, खानु हुन्न मदिरा
आफ्नो गन्तब्य ठम्याएस्
बीचमा बाटो नबिरा |
मदिरा यस्तो चिज हो,
जति खायो उती लाग्छ नशा
पहिले रमाइलो लाग्ला तर,
पछी लाग्छ दशा ||

सुरुमा मान्छेले खान्छ यसलाई
पछी यसले मानिसलाई |
त्यसैले,
नखानु बाबु तैंले यो मन्द बिष
टाढा रहेस् यसबाट,
यही भो तलाईं मेरो आशिष ||

तर बुवा, 
समयले कोल्टे फेर्दै गयो,
पिउने पिलाउने त फेसनै भयो |
साना ठूला उत्सव मनाउँदा
वा कुनै चाड आउँदा
मदिरा त मानौं त्यहाको
अमृत नै भयो,
पिउने पिलाउने त बाबै
फेसन नै भयो ||

अनि,
यस्ता ठाउँमा
कुनै एउटा भलादमी आउँछ
मदिरा तिरै हात लम्काउँछ |
र यो समाजले पनि
व्हिस्की रम पिउनेलाई
उच्चकोटीमा राखे,
यो जमाना पनि नपिउनेलाई
भनिदिए पाखे..
बुवा,
हामी त पाखे पो भएछौं ||

हेर्नुस न बुवा के जमाना आयो,
मदिरा पिउनेले इज्जत मान सम्मान
आदि सबै पायो |
केही बोल्न सकिन्न यहाँ
उनीहरु बाघ रे हामी खरायो.. |
फेरी यी मदालसहरुको
मदालस नै साक्षी,
रमेका छन् यिनीहरु
हातमा गिलास लिई काखमा मदिराक्षी |
लौन बुवा, के जमाना आयो,
मान्छेको बोध कहाँ हरायो?

हिम्मत गरेर सोधें मैले
एउटा मध्यपायीलाई,
‘के पाउछौं तिमीले
आफैंलाई सिध्याई?’
पुलुक्क हेर्यो उसले
अनि उल्टै सोध्यो रिसले,
‘भाई, तिमी कहाँबाट आ’को,
जीवनको मज्जा तिमीले
खोइ थाहा पा’को?’

अनि उसले,
घुटुक्क पिउँदै भन्यो,
‘एकबारको जिन्दगी यो हेर
त्यतिकै नफाल खेर,
सबै कुरा थाहा हुनु पर्छ,
कति आनन्द दिन्छ यसले
एकपटक चाखेर त हेर..’

अब भन्नु बुवा,
मैले के भन्नु यी मधुमत्तलाई?
अनेक बहाना छन् यिनीहरुसंग
मदिरा सेवन गर्नलाई |
सबै कुराको अनुभव खोज्छन्,
आनन्द लिन शराब नै रोज्छन् |
भलादमीको बिल्ला भिर्छन्,
गल्ली-गल्ली दिउसै गिर्छन् ||

हरेक कुराको अनुभव खोज्ने भए
राम्रो कुरामा हात हाल,
जिन्दगीमा आनन्द रोज्ने भए
गरिब नाङ्गाका लागि आफ्नो कोट फुकाल |
अनि भन्नु,
हरेक कुरा अनुभव गरियो,
समाजको रुप फेरियो..
तिमीहरुको जांड खाने पैसाले
गरिबलाई भात खान पुग्छ..
आफु नशामा लठ्ठिन छोड,
सोध दरिद्रको पेट किन दुख्छ?

धन्य पिता तपाईं,
बेलैमा अर्ती दिनुभो मलाई..
केही गर्न नसके पनि मैले,
भात खाने पैसा रक्सीलाई खर्चेको छैन |
आफु बोक्रे भलादमी बन्न,
मदिराको अत्तर छर्केको छैन |
त्यसैले बुवा,
म अचेल त्यस्ता भलादमीको
पार्टीमा कमै जान्छु |
त्यस्ता बोक्रे भलादमी हुनुभन्दा जाती
आफु पाखे हुनुमै ठान्छु..
आफु पाखे हुनुमै ठान्छु.... ||






No comments:

Post a Comment

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...