Thursday, April 28, 2011

पागल बस्ती


धकेलिएँ
त्यो बस्तीबाट 
जहाँ
सज्जनहरुको बास


लखेटीएं
त्यस नगरबाट 
जहाँ
पाइला पाइलामा  त्रास


फालिएँ
ती तथा-कथित् सज्जनहरुबाट
त्यसैले,
उनीहरु माझ अट्टहाँस


सुन,
यहाँ अन्धकार अवश्य ,
तर पूर्णता , शान्ति
हे सज्जनहरु,
तिमीहरुलाई विश्वास नलाग्दो हो,
तर
यहि निश्पट्टतामा  चन्द्रमा हाँसेकी छिन
ताराहरु सलबलाएका छन्,
जुनकिरिहरु पिलिक पिलिक बत्ति बाल्दै
हर बखत नाचेका छन् |


ठिकै भयो
तिमीहरुले मलाई त्यो बथानबाट अलग्याएको,
नत्र  त्यहीं  हुन्थे
जहाँ,
सुन्दर चन्द्रमामा दाग मात्र देखिन्थ्यो,
उज्यालोलाई प्रश्न गरिन्थ्यो,
उदास फूल फुल्थ्यो
पवित्र गंगाको चरित्र हत्या गरिन्थ्यो,
मयूर पंख फैलाएर नाच्न सक्दैनथ्यो,
डर, त्रास, लोभ, मोह, हत्या आदि को जरो गाडिएको थियो |


हे बुद्धि भ्रस्ट भएका सज्जन हो
त्यहाँ सब थोक थियो,
पनि सून्य थियो..
यहाँ केहि छैन,
पनि पूर्णता


यहाँ,
पर क्षितिजमा भाष्कर कहिल्यै उदाउंदैन
उदाउँछ बस आफ्नो मन भरि
कहिल्यै नअस्ताउने  गरी


यहाँ,
फूलहरुको हाँसो कहिल्यै देखिदैन,
तर बास्ना चल्छ हर-हरी 
निरन्तर चल्ने हावा सरी 


यहाँ,
मयूर नाचेको देखिंदैन 
तर उसको नाचको छनक तरङ्ग भरि
मनै लोभ्याउने गरी


हे बुद्धि नभएका सज्जन  हो,
तिमीहरुले घोक्राईदिंदा यहाँ आएँ 
जून-तारा उपहार पाएँ
त्यहाँ गगन पनि बादलले ढाकिन्थ्यो 
आफु-आफुमा फगत रिष-राग साटिन्थ्यो


लौ हेर,
तिमीहरुले बहिस्कार गरिदिंदा आज,
त्यो स्वार्थी बस्ती भुली यो परिवेशमा रमाएँ
तर,
धन्य तिमीहरु,
मलाई तिमीहरुले अझ देखी सकेनौ
मैले 'पागल' उपनाम कमाएँ


त्यैपनि,
आज आफैंमा सन्तुष्ट  छु
पागल कहलाइएकोमा रुष्ट छु
त्यसैले भन्छु घरी-घरी,
हे सज्जनहरु,


धन्य मलाई धकेल्यौ 
त्यो बस्तीबाट
जहाँ
तिमीहरुको बास ,


धन्य मलाई लखेटेउ
त्यस नगरबाट 
जहाँ,
पाइला पाइलामा  त्रास

धन्य मलाई छोडिदियौ,
यस्तो सहरमा,
जहाँ,
सून्यता आफैंमा खास
अन्धकारमै उज्यालोको आभास |

  

Tuesday, April 19, 2011

त्यो निश्वार्थ प्रेम


ठुलो  गर्जन  सहित  जब आकाश  बोल्छ 
लोलाएको   त्यो  धर्तीको   आँखा  खुल्छ 
काकाकुल  झैं प्याक्क भएको  त्यो  मुखमा 
बिस्तारै  मिठो  मुस्कान  डुल्छ....  
बर्षाको  पर्खाइमा  मुर्छित  उनको,  
छिया  छिया  परेको  शरीर  .. 
सुकेका  ती  छालामा, निला  ती  ओठमा 
आशाका सुन्दर  फूल  फुल्छ


निकै कष्ट भएर पनि,
धर्ती  बाचेंकी  छिन्    हाम्रा  लागी 
यस्तो   कठिन  समयमा  कहिँ  नभागी.. 
छातीको  दुध  होइन  यिनले  रगत  चुसाएकी  छिन् 
आफु  पल  पल  मरेर  हामीलाई  बचाएकी  छिन्


त्यो  त्याग  त्यो  बलिदान  केही  नबुझी  हामी
एक-अर्कासंग  लड्छौं  घरी- घरी 
उनको पिंडा बढाउँदै उनकै काखमा कुल्ची
रगत  चुस्न  तम्सन्छौँ  पेट  भरी-भरी
यसरी  आफ्नो  स्वार्थ  पूरा  भए  पछी  पनि 
एक  वचन  सोध्दैनौं  हामी ,
आमा ! तिमीलाई  के  चाहिन्छ  भनि


युगौं  युग  सम्म  यसरी  रगत  चुसाउंदा 
कसैले  नदेख्ने  गरी  आँसु  बर्षाउंदा  
यिनी  सुकेकी  छिन्,
भित्र - भित्रै  मरेकी  छिन्,
त्यसैले    आज  मेघ  गर्जदा 
यिनको  ओठमा  मुस्कान   
नयनमा  आशा  पलाएको   
आशा;
आफु  बच्ने  होइन ,
हामीलाई  बचाउने  आशा 
आशा;
आफु  पिउने  होइन 
अरुलाई  पियाउने  आशा ,
हामीलाई  जियाउने  आशा... 


तर  दुर्भाग्य,
जब  प्रतिक्षाको  सकिनै  लागेको थियो पल 
ठुलो  बतास  आई  उडाई  लागेछ  बादल 
उनका  ओठका   मुस्कान  ओइलाई गएछ कठै!! 
अनुहारको  त्यो ज्योति  गुमेछ  कति  छिट्टै  
पानी पिउन  भनी  खुलेको  त्यो  ओठ  ट्याप्प  भएछ 
तपक्क  आँशु  झारिन्  उनले, उनलाई  असैह्यः  भएछ..
लोलायका  ती  नयन  बिस्तारै  बन्द  हुन्छ  
मुर्छित हुदैँ  सोच्छिन्  उनी,”अब  मेरा  सन्तानलाई  के हुन्छ?”
अब  मेरा सन्तानहरुलाई के हुन्छ?”


Thank You

I am really glad that you visited my blog. It is my small endeavor to share my writings to you with a motive to make you refreshed. I hope you enjoyed being here. I hope to see you soon. Cheers